• २० वैशाख २०८२, शनिबार

वैदेशिक रोजगारीमा गएका १२ जनाले ज्यान गुमाए

blog

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबारे जानकारी गराइएको कार्यक्रमका सहभागी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १९ गते। धन कमाउने, आफ्नो परिवार चलाउने र सुन्दर भविष्य बनाउने सपना बोकेर वैदेशिक रोजगारीमा गएका ताप्लेजुङका बाह्र जनाले ज्यान गएका छन्। पछिल्लो अढाइ वर्ष (दुई वर्ष छ महिना) को अवधिमा उक्त सङ्ख्यामा वैदेशिक रोजगारीमा गएका यहाँका नागरिकले ज्यान गुमाएका हुन्। 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबारे जानकारी दिन फुङ्लिङ नगरपालिकाले शुक्रबार आयोजना गरेको मिडिया तथा पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीमा गएका १२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सो अवधिमा वैदेशिक रोजगारीमा गएका सात जना अङ्गभङ्ग अर्थात घाइते भएका छन्। 

सामी÷हेल्भेटास कार्यक्रमका अधिकृत रोहित विश्वकर्माले प्रस्तुत गर्नुभएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८–७९ मा ताप्लेजुङका चार जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। यस्तै आव २०७९–८० मा सात जना र चालू आवको पुस मसान्त सम्ममा एक जनाको ज्यान गुमेको छ। त्यस्तै वैदेशिक रोजगारीका क्रममा आव २०७८–७९ मा तीन जना, २०८०/८१ मा तीन र चालु आवको पुस मसान्तसम्ममा एक जना अङ्गभङ्ग अर्थात घाइते भएका तथ्याङ्क रहेको छ।

मोटो रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएकाको दुर्घटनामा परेर साथै अनावश्यक कामको बोझ, मानसिक दबाब, स्वास्थ्य लगायतका कारणबाट ज्यान जाने गरेको छ। वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको विप्रेषण अर्थात् कमाएको रकमले घर खर्च चलाउन साथै केही आर्थिक सुधार गर्नमा टेवा पुगेको भए पनि परिवारका सदस्य गुम्नु र अङ्गभङ्ग हुनुले पीडा दिने गरेको छ।

विभिन्न कारणले ज्यान गुम्ने र अङ्गभङ्ग हुने अवस्थाले घर परिवारमा पीडा थपिदिने भए पनि वैदेशिक रोजागरीमा जानेको सङ्ख्यामा भने कमी नआएको तथ्याङ्कले देखाएको छ। ताप्लेजुङमा गत आर्थिक वर्ष चार हजार ६४ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। उक्त सङ्ख्यामध्ये करिब साढे ११ प्रतिशत अर्थात ४६५ जना महिला वैदेशिक रोजगारीमा गएका छन्। बाँकी सबैजना पुरुष रहेका छन्।

त्यस्तै चालु आवको चैत मसान्त सम्ममा ताप्लेजुङबाट तीन हजार २५७ जना वैदेशिक रोजगारीमा गएका तथ्याङ्क रहेको सामी कार्यक्रमका अधिकृत विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार यस अवधिमा सबैभन्दा बढी मङ्सिर महिनामा ४२८ जना वैदेशिक रोजगारीमा गएका छन्। असोज महिनामा भने २८२ जना मात्र यहाँबाट वैदेशिक रोजगारीमा गएका तथ्याङ्क रहेको छ।

यता स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने नारासहित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयनमा रहेको कार्यक्रम अधिकृत विश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार स्वीस सरकारको सहयोगमा सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यक्रम कार्यान्वयनमा रहेको छ। वैदेशिक रोजगारीमा जानेहरूलाई मनोसामाजिक परामर्शसहित अन्य सहयोग गर्नेगरी फुङ्लिङ नगरपालिकामा पनि सामी कार्यक्रम सुरु भएको उहाँले बताउनुभयो। 

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले सकेसम्म स्वदेशमै रोजगारी गर्ने वातावरणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो। हालसम्म बाध्यात्मक परिस्थिति र अन्य कारणले वैदेशिक रोजागरीमा जान चाहनेलाई मनोसामाजिक परामर्श दिन आवश्यक रहेकाले सामी कार्यक्रमका लागि नगरपालिकाले साझेदरी गरेको प्रमुख मादेनले बताउनुभयो। उहाँले वैदेशिक रोजगारीमा जानेलाई मनोसामाजिक परामर्श दिने कार्यमा नगरपालिकाले कमी हुन नदिने बताउनुभयो।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडाध्यक्षसहितका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो। फुङ्लिङ नगरपालिकाबाट कार्यान्वयनमा आएको सामी कार्यक्रम जिल्लाका अन्य पाँच स्थानीय तहमा विस्तार हुने प्रक्रियामा रहेको पनि कार्यक्रम अधिकृत विश्वकर्माले जानकारी दिनुभयो।