बाबुराम कार्की
वराहक्षेत्र, वैशाख १९ गते । ढल्कँदै गएको उमेरसँगै विलीन हुँदै गएको चेतना र स्मृतिकै कारण सामाजिक विभेदमा परेका वृद्धाहरूको सहारा बन्दै आएको छ रामजानकी शान्ति वृद्धाश्रम ।
बुढ्यौली उमेरसँगै शरीर अशक्त हुँदै जाँदा आफ्नोसम्म ख्याल राख्न नसक्ने अवस्थामा पुगेका वृद्धाहरूको सहारा रामजानकी शान्ति वृद्धाश्रम बनेको हो ।
सुनसरीको इटहरी–१६, पकलीमा रहेको रामजानकी शान्ति वृद्धाश्रमले परिवारविहीन एक्लिएका वृद्धालाई सहारा दिँदै आएको छ । विसं २०५६ मा स्थापना भएको आश्रमले हाल १७ जनालाई सहारा दिइरहेको रामजानकी वृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष ठगेन्द्रप्रसाद आचार्यले बताउनुभयो । आश्रममा वृद्धा माताहरूलाई मात्र आश्रय दिने गरिएको छ । आफ्नो नाम र ठेगानासमेत बताउन नसक्ने स्मृति गुमाएका, सहाराविहीन वृद्धालाई २६ वर्षदेखि आश्रमले सहारा दिँदै आएको अध्यक्ष आचार्य बताउनुहुन्छ । उहाँका अनुसार आश्रम स्थापना भएदेखि आश्रमको सहारामा रहेका १७ जनाले बुढ्यौली, दीर्घरोगका कारण ज्यान गुमाइसक्नुभएको छ ।
जीवनमा आरोहअवरोह खेपेर यस उमेरसम्म आइपुगेका वृद्धाको व्रिmयाकलाप नाबालक झँै देखिन्छ । उमेर र अवस्थाले निरीह बनाइएका वृद्धामा पहिलेको स्मृति नै छैन । आश्रमले यथाशक्य वृद्धाहरूको हेरचाह गर्दै आएको आश्रमका सचिव रेणुका ओझा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आश्रममा घरपरिवार र आफन्त कसैको पनि सहारा नभएका वृद्धालाई राख्ने गरिएको छ ।”
सचिव ओझाका अनुसार परिवार भएका वृद्धा पनि आश्रममा आफन्त, छिमेकीमार्फत आउने गर्नुहुन्छ तर उहाँहरू र परिवारलाई यथासम्भव सम्झाइबुझाई गरेर परिवारसँगै पठाउने गरिएको छ । ओझा भन्नुहुन्छ, “वृद्धावस्थामा परिवार र आफन्तको माया हेरचाहको खाँचो हुन्छ । आश्रमले सहारा दिए पनि परिवारको जस्तो अपनत्व दिन सक्दैन, त्यसैले आश्रममा बेसहारा, जसको अघिपछि कोही छैन, उहाँहरूलाई मात्र राख्ने गरिएको छ ।”
रामजानकी वृद्धाश्रममा बस्दै आएका वृद्धाहरू कोही प्रहरीमार्फत त कोही आफन्तद्वारा ल्याइएको अध्यक्ष आचार्य बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय सरकार, प्रदेश सरकारको सहयोग र स्वैच्छिक सहयोगबाट आश्रम चलिरहेको छ । “उहाँहरूको लालनपालन, रेखदेख, स्याहारसुसार र स्वास्थ्य उपचारको व्यवस्था आश्रमले गर्दै आएको छ,” उहाँले भन्नुभयो ।
वृद्धाश्रमका लागि रामजानकी मन्दिरले पाँच कट्ठा जग्गा प्रदान गरेको आश्रम व्यवस्थापन समितिले जनाएको छ । त्यही जग्गाभित्र आश्रम छ । १७ वटा कोठाको दुईतले भवनको आश्रममा वृद्धालाई राखिएको छ । पहिलो तलाका कोठाका भित्तामा वृद्धाहरूको आफ्नो नाम लेखिएको कोठा बाहिरभित्र गर्दै वृद्धाहरूको दिन बित्ने गरेको छ । कोठाको बाहिर दलानमा कोही टोलिएर, कोही एकोहोरो बोलेर त कोही कसैको पर्खाइमा झैँ बाटोतिर आँखा लाएर हेरिरहेका वृद्धाहरूको मुहारमा आश्रममा सहयोग गर्ने दाता आउँदा चमक देखिन्छ ।
सहयोगीबाटै आश्रममा वृद्धाहरूको सेवा, चाकर र उपचारमा सहयोग पुगिरहेको पत्रकार तथा कवि कृष्णविनोद लम्साल बताउनुहुन्छ । आश्रम व्यवस्थापन समितिले एक जना खाना पकाउने, एक जना सरसफाइ गर्ने र एक जना हेरचाह गर्ने गरी तीन महिलालाई खटाएकोे छ ।
१० वर्षदेखि आश्रममा बस्दै आउनुभएकी ७५ वर्षीय मेनुका लुइँटेलसँग मात्रै चेत छ । उहाँ आफ्नो परिवारबारे कुरा गर्न चाहनुहुन्न । परिवारकै लागि ऊर्जाशील समय खर्चिनुभएकी लुइँटेल यो अवस्थामा एक्लो जीवन बिताइरहेको एक प्रतिनिधि पात्र मात्र हो । आश्रयमा बस्नुभएकी चन्द्रकला पाण्डेको एक वर्षअघि नै मृत्यु भयो । छ वर्षअघि आश्रमको आश्रयमा आउनुभएकी कृष्णमाया नाम गरेकी वृद्धाको तीन महिनाअघि मृत्यु भइसकेको आश्रमले जनाएको छ ।
परिवारविहीन जीवन गुजारा गर्नु अहिलेका धेरै वृद्धवृद्धाको बाध्यता बनेको छ । जीवनको उत्तरार्धमा शारीरिक अशक्तता बढ्दै जाँदा आफन्त र परिवारको मायाबाट वञ्चित हुनु परेको अवस्था छ । उमेर र शरीरमा तागत हुन्जेल परिवार र समाजका लागि चिन्ता गर्ने, समर्पित हुनेहरू अशक्त हुँदै गएपछि परिवारबाट एक्लिँदै आश्रममा पुग्ने गरेका छन् ।