• १५ वैशाख २०८२, सोमबार

३४ सय मिटरको उचाइमा पर्यटन महोत्सव आयोजना

blog

कञ्चनजङ्घा हिमशृङ्खलाको दृश्य । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १५ गते ।
ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा ‘सिरिजङ्घा पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको छ । कञ्चनजङ्घा क्षेत्रअन्तर्गत करिब तीन हजार चार सय मिटर उचाइ रहेको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको झोरेनीमा महोत्सव आयोजना गरिएको हो ।

कञ्चनजङ्घामा पर्यटक भित्र्याउने मुख्य उद्देश्य राखेर झोरेनीमा तीन दिने पर्यटन महोत्सव आयोजना गरिएको हो । सिरिजङ्घा गाउँपालिकाले आयोजना गरेको पर्यटन महोत्सव सोमबार सम्पन्न भएको छ । जलवायु परिर्वतनले हिमालमा पारिरहेको असर साथै लोपोन्मुख हिमाली जीवजन्तुको अवस्था पहिचान गरी संरक्षणको उपाय अवलम्बन गर्दै पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष डा. चित्रकुमार माबोले बताउनुभयो ।

उपाध्यक्ष डा. माबोका अनुसार कञ्चनजङ्घा क्षेत्रमा पाइने दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपान्डा (हाब्रे), हिमचितुवासहित झारल, मुनाल, कस्तुरी, डाँफेजस्ता जीवजन्तुको पहिचान गरी संरक्षण गर्नु महोत्सवको उद्देश्य रहेको छ । कञ्चनजङ्घा हिमालसँगै दुर्लभ वन्यजन्तुको संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने वातावरण निर्माण गर्नु महोत्सवको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले महोत्सवको सन्देशमार्फत कञ्चनजङ्घा हिमालको थप प्रचारप्रसार हुनेमा स्थानीय सरकार विश्वस्त रहेको बताउनुभयो । कञ्चनजङ्घा क्षेत्रको प्रचारप्रसारमा व्यापकतासँगै भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा राखिएको पनि गाउँपालिका अध्यक्ष चौहानले बताउनुभयो ।

पर्यटन महोत्सवलाई आकर्षित बनाउन साहसिक पदयात्रा, हाफ खुला म्याराथन प्रतियोतिगा, याक तथा चौंरी प्रदर्शनीजस्ता कार्यक्रम राखिएका थिए । याक चौंरी प्रदर्शनी कार्यक्रमका कारण हिमाली भेगमा याकचौंरी पालन गर्दै आएका किसान महोत्सवप्रति आकर्षित भएका स्थानीय युवा नेतृत्व कैलास माबोले बताउनुभयो । माबोका अनुसार साहसिक खुला हाफ म्याराथन प्रतियोगिता राखिएकाले स्थापित धावकहरूको समेत सहभागिता रहेको थियो । उहाँका अनुसार करिब चार हजार पाँच सय मिटरसम्मको उचाइमा साहसिक म्याराथन आयोजना गरिएको छ ।

यता म्याराथनका विजेता प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः दुई लाख आठ हजार ५८६, एक लाख आठ हजार ५८६ र ५८ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार याकचौंरी प्रदर्शनीमा सहभागी भई प्रथम हुनेलाई २८ हजार ५८६ रुपियाँ र अन्य प्रदर्शनीमा सहभागिता जनाउने सबैलाई आठ हजार ५८६ रुपियाँका दरले सान्तवना पुरस्कार प्रदान गरिएको छ । कञ्चनजङ्घाको उचाइअनुसार पुरस्कार राशीको अन्तिम अङ्क निर्धारण गरिएको हो ।

महोत्सव कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । मन्त्री हाङ्गामले समापन समारोहलाई सम्बोधन गर्नुहुँदै कञ्चनजङ्घाको काखमै महोत्सव आयोजना गरिएकाले भ्रमणका लागि पर्यटक थप आकर्षित हुने र समग्र पर्यटन प्रवर्धन तथा विकासमा सहयोग पुग्ने भनाइ राख्नुभयो । उहाँले हिमाल आरोहण नभई कञ्चनजङ्घा क्षेत्र अत्यन्तै सुन्दर भएकाले भ्रमण गर्न मात्र भए पनि पर्यटकलाई आउन आग्रह गर्नुभएको छ ।