शङ्कर केसी
शारदा (सल्यान), वैशाख १४ गते । सल्यानमा सञ्चालनमा आएका आएका साना तथा घरेलु उद्योगमध्ये करिब एक सय बन्द भएका छन् । चार वर्षको अवधिमा ९६ उद्योग बन्द भएका हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि ०८०/०८१ सम्म ६३ वटा उद्योग बन्द भएका हुन् । यस्तै, चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म ३३ वटा उद्योग बन्द भएको कार्यालयका सूचना अधिकारी ध्रुवबहादुर खत्रीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा कच्चा पदार्थ नपाइने भएकाले उद्योग बन्द हुनेगरेको भन्दै उद्योग कार्यालयले बढ्दो वैदेशिक रोजगारमा जाने समस्या, वनजन्य उद्योग सञ्चालनका लागि कानुनी कठिनाइ र उत्पादित वस्तुले बाहिरी जिल्लाबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि उद्योग बन्दका कारणभित्र पर्ने जनाएको छ । यसैगरी, कतिपय उद्योग अनुदान पाउने आशामा दर्ता हुनेगरेको तर अनुदान प्राप्त नभएमा वा एक पटक अनुदान पाए पश्चात उद्योग बन्द गर्ने प्रवृत्ति रहेको पनि कार्यालयका सूचना अधिकारी खत्रीले जानकारी दिनुभयो ।
जिल्लामा हाल तीन हजार ६६४ उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जिल्लामा सिर्जना गरेको रोजगारीको सङ्ख्या १२ हजार ७९६ रहेको जनाएको छ । यद्यपी, जिल्लामा आर्थिक वर्ष २०७९।०८० देखि अनुदान कार्यक्रम बन्द भएको कारण रोजगारी सिर्जनामा समस्या देखापरेको छ ।
स्थानीय उद्यमीहरूलाई माग बमोजिम तालिम दिएको भएतापनि अनुदानको कार्यक्रम नआएका कारण उद्योग प्रवर्धनमा समस्या देखिएको खत्रीको भनाइ छ । दलित समुदायका लागि विनियोजित अनुदान बजेट पनि सीमित हुने गरेकाले उद्यम सञ्चालनमा अपेक्षित सहयोग पुग्न नसकेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।
उद्योग बन्द हुँदा केही श्रमिकहरू वैदेशिक रोजगारीतर्फ जान बाध्य हुने अवस्था देखिएको भन्दै उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष बीरेन्द्रकुमार श्रेष्ठले उद्योगको विकास र बन्द भएका उद्योग पुनः सञ्चालनका लागि राज्यबाट ठोस योजना आउनुपर्ने धारणा राख्नुभयो । अहिलेको अवस्थामा उद्योगहरूको संरक्षण र प्रर्धनलाई स्थानीय सरकारदेखि प्रदेश र सङ्घीय सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।