गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १४ गते । अलैँची निर्यातमा तेब्बरले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि उत्पादन कम हुँदा निर्यातमा भने तेब्बरभन्दा बढीले कमी आएको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा छ अर्ब २६ करोड ९३ लाख रुपियाँ बराबरको १२ लाख ५२ हजार १८६ केजी अलैँची निर्यात भएको छ । गत वर्ष सोही अवधिमा छ अर्ब २८ करोड ३१ लाख ३९ हजार रुपियाँको ४० लाख ७४ हजार ८४० केजी अलैँची निर्यात भएको छ ।
गत वर्षको तुलनामा २८ लाख केजी अलैँचीको निर्यातमा कमी आएको तथ्याङ्कले देखाएको छ । गत वर्षको तुलनामा परिणाममा तेब्बरले घटे पनि मूल्यमा भने दुई करोड रुपियाँले अलैँची निर्यात बढेको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा यस वर्ष अलैँचीको मूल्य उच्च भए पनि उत्पादन नहुँदा निर्यात कम भएको अलैँची उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार विगतका वर्ष अन्तर्राष्ट्रिय बजारमा प्रतिमन (४०केजी) ३० देखि ४० हजार रुपियाँ रहेको अलैँचीको मूल्य यस वर्ष बढेर एक लाख १२ हजार रुपियाँसम्म पुगेको थियो । सङ्घका अध्यक्ष निर्मल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग भए पनि उत्पादनमा ह्रास आउँदा निर्यात गर्न नसकिएको जानकारी दिनुभयो । यस वर्ष अलैँचीको उत्पादन २० प्रतिशतले कमी भएको उहाँको भनाइ छ ।
जलवायु परिवर्तनको कारणले समयमा पानी नपर्ने र अलैँचीका बोटमा रोग लागेका कारण बोटसँगै गानो कुहिएकाले उत्पादनमा कमी आएको उहाँको भनाइ छ । स्वदेशी उत्पादनका रूपमा रहेको अलैँची निर्यात बढाएर मनग्गे विदेशी मुद्रा भित्र्याउन सकिने सम्भावना रहे पनि उत्पादन नहुँदा निर्यात गर्न नसकिएको उहाँको भनाइ छ ।
सङ्घका अनुसार १८ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएकोमा त्यसबाट वार्षिक पाँच हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । सङ्घका अनुसार व्यावसायिक रूपमा ४३ जिल्लामा अलैँची खेती विस्तार भएको छ । एक लाख २५ हजार परिवार अलैँची खेतीमा आश्रित रहेका छन् ।
विभागका अनुसार आव २०८०/८१ मा सात अर्ब ९४ करोड ९६ लाख रुपियाँ बराबरको आठ लाख ३६ हजार ३८९ केजी निर्यात भएको थियो ।
नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची भारत जर्मनी, इटाली, पाकिस्तान, अमेरिका, जापान, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स, अस्टे«लियालगायतका देशमा अलैँची निर्यात हुने गरेको छ । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ ।