• १३ वैशाख २०८२, शनिबार

फिडे र्‍यापिड रेटिङ बुद्धिचाल हुने

blog

काठमाडौँ, वैशाख १३ गते । संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सहकारी वर्ष-२०२५ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो ओपन फिडे र्‍यापिड रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । 

राष्ट्रिय सहकारी महासङ्घले सो प्रतियोगिता वैशाख २५ र २६ गते ललितपुरमा आयोजना गर्न लागेको हो । यो प्रतियोगिताको मुख्य प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ । 

यसअघि प्रतियोगिताको पहिलो संस्करण २०८० सालको जेठ १५ गते सम्पन्न भएको थियो, जहाँ काठमाडौँका युवा खेलाडी सुदीप तामाङले उपाधि जित्नुभएको थियो । 

प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल सङ्घले गरेको छ  । पहिलो संस्करणमा एक सय ११ जना खेलाडीको सहभागिता रहेको र यसपटक एकब सय ५० बढी खेलाडी सहभागी हुने बताइएको छ  ।

यसपटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपियाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथै, विजेताले एक वर्षका लागि १० लाख रुपियाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार र सात लाख रुपियाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन् । तेस्रो हुनेले १५ हजार र पाँच लाख रुपियाँ एक वर्ष अवधिको बीमा पाउनेछन् ।

प्रतियोगितामा समग्रमा उत्कृष्ट १० खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । यस्स्तै, महिला, भेट्रान र उोर समूहतर्फ विजेता, उपविजेता र तेस्रो हुनेलाई आर्कषक नगद पुरस्कार राखिएको छ । 

राष्ट्रिय सहकारी महासङ्घले खेलमार्फत सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवद्र्धन गर्न बुद्धिचालजस्तो बौद्धिक खेलमार्फत योगदान दिने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । आयोजकले प्रतियोगितामा सबै उमेर समूहका खेलाडीको उत्साहजनक सहभागिता हुने अपेक्षा पनि गरेको छ ।