काठमाडौँ, वैशाख ७ गते । श्री भगवती क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा नयाँबस्ती युथ क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको खेलमा श्री भगवतीले नयाँबस्तीलाई ३–० गोलले हरायो । एकपक्षीय जितका श्री भगवतीका लागि दिवश छन्त्यालले खेल सुरु भएको तेस्रो मिनेटमा गोल गर्नुभयो ।
सबै गोल पहिलो हाफमा सम्भव भएको खेलमा अमित लामाले १६औँ र विक्रान्तनरसिंह रानाले ३०औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै दोस्रो स्थानमा रहेको श्रीभगवतीले सात खेलबाट १७ अङ्क बनाएको छ ।
एक खेल कम खेल्दै शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजको १८ अङ्क छ । पराजित नयाँबस्तीको सात खेलबाट पाँच अङ्क छ । लिगमा ‘बी’ डिभिजनका १४ टोलीबिच भिडन्त भइरहेको छ ।
लिगको विजेताले १५ लाख रुपियाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
यस्तै ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।