• ६ वैशाख २०८२, शनिबार

सैलुनलाई एसी र इन्भर्टर दिने निर्णयको आलोचना

blog

हेटौँडा उपमहानगरपालिका कार्यालय । फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, वैशाख ४ गते। हेटौँडा बजारमा सञ्चालित एउटा निजी सैलुनलाई एसी र इन्भर्टर दिने तोक आदेश गरेपछि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा विवादमा पर्नुभएको छ।  हेटौँडा उपमहानगरपालिका–४ शीतलमहल चोकस्थित ‘द नाइनटिन शैलुन’ लाई एयर कन्डिसनर (एसी) र इन्भर्टर अनुदान दिने तोकादेशसहितको पत्र बाहिरिएसँगै मेयर लामा विवादमा पर्नुभएको हो। 

सुसन घलान सञ्चालक रहेको सैलुनको मेयर लामाले केही समयअघि उद्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रममा मेयर लामाले सैलुनलाई एसी र इन्भर्टर सहयोग गर्ने प्रतिबद्धता गरेपछि सैलुनका सञ्चालक घलानले वैशाख ३ मा सहयोगका लागि पालिकामा लिखित निवेदन पेस गरेका थिए।

निवेदनमा सञ्चालकले माग गरेअनुसारको सामग्री दिन मेयर लामाले तत्काल रातो कलमले आर्थिक प्रशासन शाखालाई तोक लगाएर आदेश दिइएको थियो। मेयर लामाको तोकादेशसहितको सो निवेदनमाथि कार्यान्वयन गर्न आर्थिक प्रशासन महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले उपमहानगरपालिकाका मर्मत सम्भार एकाइमा कार्यरत मेकानिक्स (सहायक चौथो) पुरुषोत्तम कुमार अधिकारीलाई मूल्याङ्कनका लागि आदेश गर्नुभएको थियो।

महाशाखा प्रमुख तिमल्सिनाले माग भएको सामग्रीको लागत अनुमान गरेर दिनु भनी वैशाख ३ गते नै आदेश गर्नुभएको हो। सो पछिका प्रक्रियालाई निरन्तरता दिन उपमहानगरपालिकाले सहायक चौथो अधिकारीलाई पत्र पठाएको थियो।

यता उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले आफूले पत्र नहेरेको र अनौपचारिक रूपमा केही जानकारी मात्रै लिएको बताउनुभयो। त्यस्तै हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले अधिकार क्षेत्रभित्रै रहेर मागमा आधारित भएर सो सामग्री दिने तयारी भएको बताउनुभयो।