गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वान गर्नुभएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते दिउँसो १ बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको हो । राष्ट्रपतिको आह्वान अनुसार सङ्घीय संसद् सचिवालयले बैठकमा उपस्थितको सूचना जारी गरिसकेको छ ।
हिउँदे अधिवेशन अन्त्यको तीन सातापछि प्रारम्भ हुने गरी बैठक बोलाइएको हो । हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरिएको थियो । विद्यालय शिक्षा विधेयक पारितको माग गरेर शिक्षकले चरणबद्ध आन्दोलन जारी राखेपछि सरकारले यसअघिका प्रचलनभन्दा दुई साताअघि अधिवेशन आह्वान गरेको हो । बजेट अधिवेशनमा सङ्घीय संसद्मा राष्ट्रपतिबाट सम्बोधन हुने छ ।
सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेट अधिवेशनमै राष्ट्रपतिबाट पेस हुने छ । अधिवेशनमा बजेटका प्राथमिकता र सिद्धान्तको छलफल तथा संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते वार्षिक बजेट पेस हुने छ ।
यस्तै बजेट अधिवेशनमा सरकारले प्राथमिकतासाथ दुई विधेयकलाई अघि बढाउने तयारी गरेको छ । शिक्षक आन्दोलन सम्बोधनका लागि विद्यालय शिक्षा विधेयक पारित बजेट अधिवेशनमै गर्ने सरकारको तयारी छ । विधेयक अहिले प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति अन्तर्गतको उपसमितिमा दफावार छलफल भइरहेको छ ।
यस्तै निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । समिति अन्तर्गतको उपसमितिले तयार पारेको विधेयकको प्रतिवेदन समितिमा पेस भए पनि थप छलफल भएको छैन । विधेयक चाँडो पारितको माग गर्दै निजामती कर्मचारीले सरकारलाई दबाब दिइरहेका छन् । कर्मचारीले आन्दोलनको चेतावनीसमेत दिएका छन् । यस्तै सङ्घीय संरचनाको प्रहरी सङ्गठनका दुई विधेयक पनि विचाराधीन छन् । सरकारको प्राथमिकतामा प्रहरी विधेयक पनि छन् ।
सङ्घीय संसद्का दुवै सदनमा गरी २० भन्दा बढी विधेयक विचाराधीन छन् । अघिल्लो अधिवेशनमा नौ विधेयक पारित भएकोमा आउँदो अधिवेशनमा पनि सोही हाराहारीमा विधेयकका प्रतिवेदन तयार भइसकेका छन् । आउँदो अधिवेशनमा ती प्रतिवेदन पेस र पारित हुने छन् ।
नेपाल हवाई सेवा प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण विधेयक पनि समितिमा विचाराधीन छन् । धितोपत्र, निर्माणमुखी सामग्री, भन्सार, निकासी पैठारीलगायतका विधेयक पनि विचाराधीन छन् । यस्तै नेपाल कानुन व्यवसायी परिषद्, सामाजिक सञ्जाल, विधि विज्ञान प्रयोगशाला, पानीजहाज विधेयक पनि विचाराधीन छन् ।