रमेश विश्वकर्मा
गुल्मी, वैशाख ३ गते। गुल्मीमा मदिराजन्य पदार्थ नियम गर्न सरोकारवालासँग छलफल गरिएको छ। यस जिल्लाभित्र बिक्री वितरण हुँदै आएका मदिराजन्य पदार्थ नियमन गर्नका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको हो।
बुधबार जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको अध्यक्षतामा उक्त छलफल तथा अन्तरक्रिया गरिएको हो। छलफलमा समन्वय प्रमुख खत्रीले मदिराजन्य पदार्थ कर, पेशा लगायतसँग जोडिएको बताउनुभयो। यूपी–७० नामक मदिरा (टुङकुला) ले समाजमा निकै नराम्रो असर पुर्याएको उहाँको भनाइ छ।
गुल्मी जिल्लाका १२ स्थानीय तहमध्ये पश्चिम गुल्मीका स्थानीय तहमा मदिराले धेरै नराम्रो असर पुर्याएको छ। परिवारमा बेमेलको प्रमुख कारण मदिरा हुनसक्ने भन्दै जिल्लामा मापसेका घटना बढ्दै गएको समन्वय प्रमुख खत्रीले बताउनुभयो।
जहाँ अत्यधिक मात्रामा मदिराको प्रयोग भएको छ, त्यहाँ मानव विकास सूचकांक पनि कमजोर रहेको पाइएको उहाँले बताउनुभयो। विशेषगरी स्वास्थ र शिक्षामा पनि मदिराले असर गरिरहेको छ। यहाँका व्यवसायीसँग मदिराजन्य पदार्थको बिक्रीवितरणका लागि पूर्ण निषेध गर्न नसकिए पनि नियमनका लागि सहजीरकण खोज्दै छलफल गरिएको उहाँले बताउनुभयो। मदिरा सेवनकै कारण समाजमा झै–झगडा, कलह, पारिवारिक बेमेल जस्ता घटना स्थानीय तहका न्यायिक समितिमा समेत धेरै आउने गरेको यहाँका जनप्रतिनिधिको निष्कर्ष छ।
रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले मदिराले समाजलाई निकै असर पुर्याएको बताउनुभयो। उहाँले मदिराजन्य पदार्थलाई निमयन गर्न जरुरी रहेको बताउनुभयो। इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले मदिराले सामाजिक विकासमा असर पुर्याएको बताउनुभयो। मदिराकै कारणले थुप्रै घटना भएको भन्दै उहाँले विद्यालयमा विद्यार्थी पठाउन समस्यासँगै बालबालिकालाई पढ्नका लागि सहज वातावरण नभएको बताउनुभयो।
मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले मदिराकै कारण धेरै घटना भएको बताउनुभयो। यूपी–७० नामक मदिरा (टुङकुला) सेवनकै कारण ज्यान जाने गरेको थाहा पाएपछि पालिकामा त्यस्तो मदिरा बिक्रीवितरणमा कडाइ गरिएको उहाँले बताउनुभयो। मदिरा सेवनबाट ग्रसित परिवारलाई स्थानीयतहरुले आयआर्जनसँग जोड्न सके मदिरा केही नियन्त्रण हुने सत्यवती गाउँपालिका– १ का वडा अध्यक्ष अर्जुन कनौजेले बताउनुभयो।
मदिरा सेवनको असरका बारेमा जनचेतनामूलक कार्यक्रम गर्न छलफलमा सहभागी व्यवसायीले सुझाव दिए। राज्यलाई ठुलो कर यसैबाट तिर्ने गरिएको भन्दै यसतर्फ पनि विशेष ध्यान पुर्याउन आग्रह गरे। छलफलमा जिल्ला समन्वय तेजेन्द्र सलामी, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मीना गौतम, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेललगायतको उपस्थिति रहेको थियो।