• ७ जेठ २०८१, सोमबार

भुटानमाथि नेपालको जित

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ २३ गते । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा जारी छनोट खेलमा सोमबार नेपालले भुटानलाई चार विकेटले हरायो । नेपाल पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले हराएको थियो । यूएईसँगको दोस्रो खेलमा भने नेपाल आठ रनमै अलआउट भएको थियो । यूएईसँग नेपाल १० विकेटले पराजित भएको थियो । 

भुटानले दिएको ६७ रनको विजयी लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा सानु राजवंशीले अविजित ३० रन बनाउनुभयो । साना प्रविनले १२ र सृष्टि जैसीले ८ रन बनाउनुभयो । बलिङमा भुटानकी सांगे बाङ्मोले तीन विकेट लिनुभयो । अन्जुली घली र सोनमले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ६६ रन बनाएको थियो । 

भुटानका लागि कप्तान एन्गावाङ छोडेन र सांगे बाङ्मोले समान ११/११ रन बनाउनुभयो । पेमा याङ्चेनले नौ र छाडो ओमले ६ रन बनाउनुभयो । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले दुई दुई विकेट लिनुभयो । तीन खेल सकेको नेपाल चार अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । लगातार तेस्रो हार खेपेको भुटान अङ्कविहीन बन्दै अन्तिममा छ । यूएई शीर्ष र थाइल्यान्ड दोस्रो स्थानमा छ ।

नेपालले अब २४ गते थाइल्यान्ड र २५ गते मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । छनोट खेलमा शीर्षस्थानमा रहने टोली सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने टी–२० विश्वकपमा छनोट हुनेछ । आईसीसीले पहिलो पटक यू–१९ महिला विश्वकप आयोजना गर्न लागेको हो । विश्वकपमा १६ टोलीको सहभागिता रहनेछ ।