ज्योति पन्थी
बबई (बर्दिया), वैशाख ३ गते । तराईमा बढ्दै गरेको गर्मीसँगै तर्बुजाको व्यापार पनि फस्टाउँदै गएको छ । तर्बुजाको व्यापारबाट तराई क्षेत्रमा राम्रो आम्दानी गर्नेहरू पनि छन् जसले गर्दा जीवन निर्वाहमा समेत टेवा पुगेको देखिन्छ ।
बर्दिया गुलरिया नगरपालिका ४ का ५८ वर्षीय बालकृष्ण थारू हरेक दिन बिहान ७ देखि ९ बजेसम्म मोटरसाइकलमा तरभुजा बिक्री गर्नुहुन्छ भने दिउँसो एभरेष्ट बैंक लिमिटेडको सवारी चलाउनुहुन्छ । त्यसपछि साँझ ६ बजेदेखि उहाँ फेरी खेतबारीमा व्यस्त हुनुहुन्छ ।
उहाँले आफ्नो जागीरसँगै सिजन अनुसार कृषि पेसामा रमाइराख्नुभएको छ ।
बेचेपुर निवासी बालकृष्णले गर्मीको मौसममा जागिरसँगै तर्बुजा र सिजन अनुसार तरकारीको व्यापार गर्दै आउनुभएको छ । आफ्नो खेतबारीमा लगाएको तर्बुजा सिजनभरी बिक्री गरेर उहाँले राम्रो आम्दानी गर्नुहुन्छ । तर्बुजाको व्यापार गर्दै आउँनु भएका बालकृष्णले गर्मी मौसममा चारदेखि पाँच लाख रुपियाँसम्मको तर्बुजा बिक्री गर्ने गरेको बताउनुहुन्छ ।
‘‘दिउँसो कार्यालयको गाडी चलाउँछु, बचेको समयमा खेतबारीमा लगाउछु । बिहान खेतबारीमा लगाएको तर्बुजा मोटर साइकलमा राखेर गुलरिया बजारमा बिक्री गर्दा प्रत्येक दिन दुई हजार जतिको व्यापार हुन्छ । सिजन भरिमा चारदेखि पाँच लाखको व्यापार भए नाफा पनि मनग्य हुन्छ ।,’’ थारूले भन्नुभयो ।
लगनी पनि थोरै भए पुग्ने र कृषि पेसाबाट आम्दानी पनि हुने देखेर यो पेसा रोजेको उहाँको भनाइ छ । ‘‘मेरो जागिर एभरेष्ट बैंकको हो । म साँझ फर्कदा ढिलै हुन्छ, तर पनि मैले यो व्यवसाय पाँच वर्षदेखि गरिरहेको छु । मैले सोचेभन्दा राम्रो आम्दानी पनि पाएको छु ।’’ उहाँले भन्नुभयो । बालकृष्णले आफ्नो आम्दानीले १५ जनाको परिवारलाई पालनपोषण समेत गर्दै आउनुभएको छ ।