• ३ वैशाख २०८२, बुधबार

बागलुङ नगरको फोहोर व्यवस्थापन गर्न सम्झौता

blog

फोहोर व्यवस्थापन सम्झौता पत्रमा हस्ताक्षरपछि बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठ र समानता अभियानका प्रमुख चन्द्रकान्त पौडेल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख ३ गते ।
बागलुङ नगरपालिकाको फोहोरलाई पुनः प्रयोगमा ल्याउने परियोजनामा हस्ताक्षर गरिएको छ । समानता अभियान नेपालसँग नगरपालिकाले फोहोर व्यवस्थापनको सम्झौता गरेको हो ।

समानता अभियानका प्रमुख चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठले फोहोर व्यवस्थापनका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार, नगरपालिकाले ५ र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहोर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख खर्चिने छन् ।

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि समानता अभियानका प्रमुख चन्द्रकान्त पौडेलले काम गरेर उपलब्धी देखाउने बताउनुभयो । फोहोरलाई पुनः प्रयोग गरेर स्वच्छ नगरको अभियानमा साथ दिने पौडेलको भनाइ थियो । हाल फोहोर फालिएको वडा नं. १ को खुतुर्केमा शून्य फोहोर अभियान चलाएर व्यवस्थापन गरिने छ ।

फोहोर व्यवस्थापनका लागि चाहिने केही उपकरण र साधन खरिदमा पनि अभियानले लगानी गर्ने सम्झौतामा उल्लेख गरिएको छ । रसिया लगायतका नागरिकहरूलाई विज्ञको रूपमा ल्याएर बागलुङ नगरको फोहोर व्यवस्थापनको काम गरिने पौडेलले जानकारी दिनुभयो । फोहोर व्यवस्थापन गर्दा डम्पिङ साइट दुर्गन्धित नहुने, पुनः उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिने लक्ष्य राखिएको छ ।

लामो समयदेखि बागलुङ नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्न खोजेपनि मालढुङ्गा कुश्मीसेरा सडक, कालीगण्डकी नदी र काठेखोला किनार दुर्गन्ध हुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । फोहोरको उचित व्यवस्थापनपछि यो सास्ती हट्ने नगर प्रमुख वसन्तकुमार श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । त्यस बाहेक क्लिन बागलुङ अभियानमा फोहोर व्यवस्थापनको तरिकाबारे समाजमा सचेतना अभियान पनि सञ्चालन गरिने जनाइएको छ ।

बागलुङ नगरपालिकाले यसअघि उपभोक्ताहरूलाई तीन प्रकारका पाँच हजार बाल्टी वितरण गरेर फोहोर सङ्कलनको काम थालिसकेको छ । ती बाल्टीमा फोहोरको वर्गीकरण, फोहोर सङ्कलनको विधिबारे बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेत गराउने लगायतका गतिविधि गरिने छ ।

यसअघि अध्ययनबिना ल्याइएको ढल निकास योजना अलपत्रै परेको छ । डिपिआरमै त्रुटी भएपछि फिर्ता भएको योजना अलपत्र छ । नगरपालिकाले उक्त योजना स्थगितै गरेको छ । तत्कालिन नगर प्रमुख जनकराज पौडेलले अघि सारेको ढल निकास योजनाको डिपिआर त्रुटी भएपछि पटक पटकको संशोधन पनि असम्भव भएको हो ।

२०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा र त्यसपछि वडा नं. १ को खुर्तुर्केमा फाल्दै आएको फोहोरको डङ्गुर पनि खाली गराइएको छ । पानीबाट बचाएमा दुर्गन्ध कम हुने भएकाले नगरपालिकाले तीनवटै फोहोर सङ्कलन गर्ने स्थानमा भुइँ ढलान गरेर जस्तापताले छाएको छ ।