अनिल पराजुली
हेटौँडा, वैशाख २ गते । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वैकुण्ठमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्ष २०८२ को सुरुसँगै मकवानपुर, धादिङ र चितवनका पर्यटकको यहाँ घुइँचो लागेको हो ।
प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण कैलाश गाउँपालिका–२ स्थित कैलाश–वैकुण्ठमा पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । अग्लो डाँडाबाट दृश्यावलोकन, चिसो हावापानी र मनोरम वातावरणले यहाँ पुग्नेलाई अलौकिक अनुभूति महसुस हुन्छ ।
कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङका अनुसार धादिङ, मकवानपुर र चितवनबाट यहाँ आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । नयाँ वर्षको पहिलो दिन सोमबार मात्रै वैकुण्ठमा करिब एक हजार पाँच सय जनाले अवलोकन गरेको वडाध्यक्ष घिसिङले जानकारी दिनुभयो ।
वैकुण्ठमा जीपलाइनसँगै एक दर्जन पर्यटकीय पार्कहरू समेत निर्माण भइसकेका छन् । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्त्वका विभिन्न स्थल रहेको मकवानपुरको वैकुण्ठ नयाँ पर्यटकीय गन्तव्य हो । वैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन, ऐतिहासिक विष्णु कुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले वैकुण्ठ निकै महत्त्वपूर्ण छ । कैलाश वैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको छ ।
वैकुण्ठमा डाँफे मुनाल पार्क, विष्णु कुण्ड, सतीघाट संरक्षण स्थल, डम्फूपार्क, चितुवापार्क र टुङ्गा पार्क निर्माण गरिएको छ । मकवानपुरको पर्यटकीय नगरी पालुङ, धादिङ जिल्लाको मलेखु र आदमघाट र मकवानपुरको मनहरी, राक्सिराङ गाउँपालिकाको खैराङबाट वैकुण्ठसम्म पुग्न सकिन्छ ।