• ३ वैशाख २०८२, बुधबार

विप्रेषणमा सुधारको खाँचो

blog

नेपालले विप्रेषणबाट धेरै लाभ लिएको छ । अर्थतन्त्रका सबै सूचक नकारात्मक भइरहेको अवस्थामा देशको अर्थतन्त्रमा योगदान गर्ने भनेको विप्रेषण मात्र देखिन्छ । के बुझ्नु पर्छ भने विप्रेषण सधैँ राम्रो मात्र हुन सक्दैन । रोजगारी प्रदायक विदेशी मुलुकमा आर्थिक नीतिमा केही परिवर्तन आउनासाथ त्यसको प्रत्यक्ष असर विप्रेषण प्राप्त गर्ने मुलुकलाई परिहाल्छ । यस्तो अवस्थामा रोजगारी टुट्न सक्छ ।

कुनै एक देशको मानिस अर्को देशमा गएर कमाएर स्वदेशमा पठाएको पैसालाई विप्रेषण भनिन्छ । नेपालमा यसको सुरुवात कहिलेदेखि भएको हो भन्ने इतिहास कोट्याउन त्यति सजिलो छैन । यद्यपि गाउँघरमा कलकत्ते र लाहुरे भन्ने प्रचलन हटिसकेको छैन । यिनै शब्दहरूको विकसित रूप हो विप्रेषण ।

भनिन्छ स्वदेशमा रोजगारीका अवसर सिर्जना नभएका हुनाले ठुलो जनशक्ति विदेश पलायन भएको छ । यसरी विदेश पलायन हुनेहरू विदेशी रोजगारीका लागि नै गएका हुन् । करिब ६० लाखको हाराहारीमा ऊर्जाशील जनशक्ति वैदेशिक रोजगारीका लागि बाह्य मुलुकमा गएको देखिन्छ । यही जनशक्तिले पठाएको पैसाले देशको अर्थतन्त्र केही हदसम्म धानिएको अवस्था छ ।

अहिलेको अवस्थामा नेपालले विप्रेषणबाट राम्रो आम्दानी गरेको छ । राष्ट्रिय बजेटको हाराहारीमा विप्रेषणको रकम भित्रिने गरेको छ । यसरी आएको रकमलाई सकारात्मक रूपमा लिन सकिए पनि यसका नराम्रा पक्ष पनि त्यत्तिकै प्रबल रहेका छन् । भोकाएको मानिसलाई पेटभरी एक छाक भात खान दिइयो भने ऊ जसरी खुसी हुन्छ अहिले हाम्रो अवस्था त्यस्तै देखिन्छ । कुनै पनि व्यक्तिलाई क्षणिक भोकबाट सन्तुष्टि मिल्न सक्छ तर सधैँका लागि हुन सक्दैन । दिगो र भरपर्दोका लागि त स्वदेशभित्रमा नै आन्तरिक उत्पादन वृद्धि गर्नु पर्छ । उत्पादनमा वृद्धि गर्न सकियो भने आन्तरिक आवश्यकता परिपूर्ति गरेर विदेश निर्यात गर्न पनि सकिने हुन्छ । यस्तो अवस्थामा स्वदेशमैै ऊर्जाशील जनशक्तिले रोजगारी पाउन सक्छन् भने अर्कोतर्फ वस्तु निर्यात गरेर राज्यले मनग्गे आयआर्जन गर्न सक्ने हुन्छ । नेपालमा भने आन्तरिक उत्पादन खस्किँदै गएकाले आधारभूत मानवीय आवश्यकता परिपूर्ति गर्न पनि आयातमा नै निर्भर हुनु परिरहेको छ ।

नेपाल वित्तीय साधन स्रोतको दृष्टिकोणबाट निकै कमजोर छ । देशमा आर्थिक विकास हुन नसकेको हुनाले नेपाल गरिब बन्दै गएको छ । विश्वमा नै मूल्यवृद्धिले दुःख दिइरहेको अवस्थामा नेपाली जनताको जीवनस्तर माथि उठ्न सकेको छैन । बिहान बेलुकीको छाक टार्नसमेत कठिन भएकाले युवा जनशक्ति रोजगारीका लागि भौँतारिनु परेको अवस्था छ । शिक्षित जनशक्ति विदेश पलायन भइरहेकाले गाउँघरमा खेतीपाती गर्ने जनशक्तिको अभाव देखिन्छ । युवा जनशक्ति पलायन हुने र खेती गर्ने मानिसको अभावले प्रायः सबै जसो खेतबारी बाँझो जग्गामा परिणत भएको छ ।

नेपालको जनसङ्ख्यालाई पाल्ने भनेको नै कृषि हो । ठुलो जनसङ्ख्या कृषिमा आश्रित भए पनि कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान व्रmमिक रूपले घट्दै गएको छ । केही वर्षअघि ७०÷७५ प्रतिशत योगदान गर्ने यो क्षेत्र अहिले खुम्चिएर केवल २४ प्रतिशतमा झरेको छ । हाम्रो जस्तो कृषिप्रधान देशमा यसरी कृषि क्षेत्रको योगदान घट्दै जानु भनेको नेपाल विकासमा पछि पर्नु हो । 

विश्व एउटा सानो गाउँ जस्तै हुन गएको छ । एक देशको मानिस अर्को देशमा सहजै जान सक्छ । ऊ त्यहाँ गएर काम पनि गर्न सक्छ । यसरी विदेश गएर काम गर्ने प्रचलन तीव्र रूपमा बढ्दै गएको छ । नेपालमा पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । गाउँमा प्रत्येक जसो घरबाट एक दुई जना रोजगारीका लागि विदेश गएकै हुन्छन् । त्यस कारण विश्वको धेरै विप्रेषण प्राप्त गर्ने मुलुकमध्ये नेपाल पनि एक हो । कुल गार्हस्थ उत्पादनको करिब ३० प्रतिशतको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ । अर्थतन्त्रको संरचनामा यति ठुलो हिस्सा ओगट्नु भनेको आर्थिक स्थिरताका लागि महìवपूर्ण पाटो बन्न गएको छ । विप्रेषणको कारणले गर्दा लाखौँ परिवारको जीवन धानिन पुगेको छ । शिक्षा, स्वास्थ्य र आवास जस्ता मानवीय आधारभूत आवश्यकताको पहुँचमा सहज हुन गएको छ । अहिले गरिबी निवारणमा विप्रेषणको महìवपूर्ण भूमिका रहेको छ ।

विप्रेषणको प्रभाव खास गरेर ग्रामीण क्षेत्रमा परेको देखिन्छ । विप्रेषणको रकम प्रवाह भएकाले शिथिल भएको ग्रामीण अर्थतन्त्र चलायमान भएको छ । शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानीबाट वञ्चित भइरहेको अवस्थामा विप्रेषणको रकमले केही मात्रामा भए पनि उनीहरूको जीवनस्तरमा सुधार आएको छ । 

विदेशी मुद्राको मुख्य स्रोत भनेको नै विप्रेषण हुन गएको छ । विदेशबाट वस्तु आयात गर्न सजिलो भएको छ । विदेशी मुद्राको सञ्चिति पर्याप्त भएकाले बाह्य भुक्तानीमा कुनै समस्या देखिँदैन र सोधनान्तर स्थिति पनि अनुकूल हुँदै गएको छ । आयात र निर्यातबिच सन्तुलन बन्दै गएको छ । व्यापार घाटा न्यूनीकरण गर्न पनि विप्रेषणको ठुलो भूमिका छ ।

स्थिर भइरहेको ग्रामीण अर्थतन्त्र केही वर्षयता चलायमान भएको छ । विप्रेषणको पैसाले उपभोग बढाएको छ । वस्तु र सेवाको मागलाई बढाएको छ । सानातिना व्यवसाय, जग्गाजमिन, सम्पत्ति जस्ता क्षेत्रमा लगानी गएकाले पुँजी निर्माणमा योगदान पुगेको छ । चाडपर्व मनाउन र आर्थिक सङ्कट टार्ने काम विप्रेषणले गरेको छ ।

नेपाल जस्तो गरिब देशका लागि विप्रेषणको ठुलो महìव हुन्छ । सानो आर्थिक संरचना भएको देश जसको कुल गार्हस्थ उत्पादन ५७ खर्बभन्दा माथि जान सकेको छैन । त्यस्तो देशका लागि विप्रेषण अर्थतन्त्रको मेरुदण्ड हुन्छ । नेपालका सन्दर्भमा कुरा गर्ने हो भने अर्थतन्त्रका अधिकांश सूचक खस्किँदै गएको अवस्थामा एक मात्र विप्रेषणले देशको अर्थतन्त्र धानिएको छ ।

विप्रेषणबाट देशलाई धेरै फाइदा भए पनि यसका केही बेफाइदा पनि छन् । दक्ष, अदक्ष, अर्धदक्षलगायत सबै जनशक्ति वैदेशिक रोजगारीका लागि विदेश पलायन भएपछि देशको विकास कसले गर्ने भन्ने प्रश्न पनि आएको छ । विप्रेषणले राष्ट्रिय अर्थतन्त्रलाई बढावा दिएको हुँदैन र देशको अर्थतन्त्र परनिर्भर बन्दै जाने ठुलो जोखिम पनि बढ्ने सम्भावना पनि हुन्छ । विदेशी मुद्रा स्वदेशमा भित्रिने भएको कारणले गर्दा वस्तु तथा सेवा सजिलै आयात गर्न सकिन्छ । विदेशी मुद्रा पर्याप्त सञ्चिति हुने भएकाले आयात भुक्तानी गर्न पनि कुनै समस्या हुँदैन । विप्रेषणले आन्तरिक उत्पादनमा व्रmमिक रूपले ह्रास ल्याउने गर्छ । विप्रेषणको कारणले देशको अर्थतन्त्र परनिर्भरमुखी हुने सम्भावना हुन्छ नै । अहिले नेपालको अर्थतन्त्र यही दिशातर्फ उन्मुख हुँदै गरेको अवस्था छ ।

विप्रेषण वृद्धि हुँदै गएमा आन्तरिक अर्थतन्त्र खस्किँदै जान्छ । कतिपय वस्तु तथा सेवा विप्रेषणको आगमनले धराशायी पनि हुन्छन् । मानिसको व्रmयशक्ति बढ्ने भएकाले आयातमा वृद्धि हुन जान्छ र परिणामस्वरूप ठुलो मात्रामा विदेशी मुद्रा भुक्तानी हुने गर्छ । यस अवस्थामा सजिलैसँग वस्तु आयात गर्न सकिने र भुक्तानी गर्न पनि विदेशी मुद्राको अभाव नहुने भएकाले देशको अर्थतन्त्र स्वभावैले परनिर्भर हुने गर्छ ।

अर्कोतर्फ विदेशी सामानले स्वदेशी उत्पादनलाई विस्थापित गर्ने सम्भावना पनि त्यत्तिकै प्रबल हुन्छ । तुलनात्मक रूपमा स्वदेशी वस्तु महँगा हुने भएकाले आयातमा वृद्धि हुने गर्छ । आन्तरिक उत्पादनमा ह्रास आउने र आयातमा वृद्धि हुँदै गर्दा देशको अर्थतन्त्र समस्याग्रस्त हुने सम्भावना हुन्छ । देशको अर्थतन्त्र सुदृढ बनाउन आन्तरिक उत्पादनमा जोड दिनै पर्छ ।

नेपालले विप्रेषणबाट धेरै लाभ लिएको छ । अर्थतन्त्रका सबै सूचक नकारात्मक भइरहेको अवस्थामा देशको अर्थतन्त्रमा योगदान गर्ने भनेको विप्रेषण मात्र देखिन्छ । के बुझ्नु पर्छ भने विप्रेषण सधैँ राम्रो मात्र हुन सक्दैन । रोजगारी प्रदायक विदेशी मुलुकको आर्थिक नीतिमा केही परिवर्तन आउनासाथ त्यसको प्रत्यक्ष असर विप्रेषण प्राप्त गर्ने मुलुकलाई परिहाल्छ । यस्तो अवस्थामा रोजगारी टुट्न सक्छ । रोजगारी नभएपछि विप्रेषणबाट प्राप्त हुने रकम उपलब्ध हुँदैन । रोजगारीबाट धानिएको घरपरिवार र देशको अर्थतन्त्रमासमेत धक्का लाग्न सक्छ । यस्तो अवस्था सिर्जना हुन नदिन स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर आन्तरिक उत्पादनमा वृद्धि गर्नु पर्छ । जबसम्म आन्तरिक अर्थतन्त्र सुदृढ हुँदैन तबसम्म देशको अर्थतन्त्रले गति लिन सकेको हुँदैन । अहिले आन्तरिक उत्पादन न्यून भएकाले गर्दा बाह्य अर्थतन्त्रको प्रभाव परेको छ ।

विश्वव्यापी श्रमबजारमा आएको परिवर्तनले देशको आर्थिक अवस्थामा असर पारेको हुन्छ । रोजगारदाता मुलुकमा आएको मन्दी अथवा कसिलो आप्रवास नीतिले पनि विप्रेषण प्रवाहमा नकारात्मक प्रभाव पार्छ । विप्रेषणमा अत्यधिक आश्रित हुँदा घरेलु अर्थतन्त्र विकास हुन सक्दैन । मानिसको ध्यान कृषि, उत्पादन, पर्यटन जस्ता क्षेत्रमा जाँदैैन किनभने विप्रेषणको पैसाले सहज रूपमा वस्तु उपलब्ध गर्न सकिने भएकाले आन्तरिक उत्पादन खस्कँदै जाने र राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदै जाने सम्भावना बढी हुन्छ । त्यस कारण विपे्रषणमा केन्द्रित हुनुभन्दा आन्तरिक अर्थतन्त्र सुधार गर्नेतर्फ लाग्नु नै राम्रो बाटो हुन सक्छ ।

Author

कृष्णमणि पराजुली