टोपलाल अर्याल
रेसुंगा, वैशाख १ गते । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुका ५८ वर्षीय जगुलाल भण्डारी र मुसिकोट नगरपालिका–१४ रुकुम पश्चिमका ३३ वर्षीय प्रेम प्रकाश ओलीले रेसुंगा ढुङ्गा कटिङ्ग उद्योग सञ्चालन गरेको, छ वर्ष भयो । ३० वर्ष ३० दिन स्वास्थ्य क्षेत्रमा सरकारी जागिर खानु भएका जगुलाल भण्डारी ०७६ सालमा अवकास हुनुभयो ।
जागिरका लागि उमेर थियो । तर ०४६ सालमा ग्रामीण स्वास्थ्य कार्यकर्ताबाट सरकारी सेवामा प्रवेश गरेका भण्डारीले अहेव पाँचौ तहबाट जागिर छोड्नुभयो । उहाँ अहिले अवकासपछि गाउँमै बसेर रुकुम पश्चिमका प्रेम प्रकाश ओलीसँगको साझेदारीमा ढुङ्गा कटिङ्ग उद्योग सञ्चालन गर्नुभयो । ओलीले पैसाकै लागि गाउँ छोडेका थुप्रै भयो । २२ महिना कुवेत काम गरेर स्वदेश फर्किएपछि काठमाडौंको एक होटल समेत काम गर्नुभएका ओलीले अन्तत अहिले ढुङ्गाबाट समृद्धि खोजिरहनु भएको छ ।
ओलीले ०७५ सालमा सबैभन्दा पहिला जिल्लामा ढुङ्गा कटिङ्ग उद्योग सञ्चालन गर्नुभयो । अहिले अरु धेरैले व्यावसायीक रुपमा ढुङ्गा कटिङ्ग उद्योग गरिरहेका छन् । ढुङ्गाको काम सोचे जस्तो सजिलो छैन । खानीदेखि उद्योग र व्यापारीसम्म जतनले काम गर्नुपर्छ । रेसुंगा ढुङ्गा कटिङ्ग उद्योग, खानी र ढुवानीमा गरेर १५/२० जना युवाहरुले रोजगारी समेत पाएका छन् । वर्षमा खर्च कटाएर १०/१५ लाख स्वदेशमै कमाई भइरहेको उद्योग सञ्चालक प्रेम प्रकाश ओलीले बताउनुभयो ।
उद्योगमा कट पीस र स्वाएर गरेर दुई किसिमका कटिङ्ग ढुङ्गा उत्पादन गरिन्छ । कटपीसको प्रतिगोटा १८ र स्वाएरको एक सय १० रुपियाँमा बुटवल, दाङ र पोखरामा ढुङ्गा बिक्री भइरहेको ओलीले जानकारी दिनुभयो । कटिङ्ग ढुङ्गाको बजार राम्रो रहेको सञ्चालकहरुको भनाइ छ । रेसुंगा ढुङ्गा कटिङ्ग उद्योगमा अहिले चार जनाले ढुङ्गा कटिङ्गको काम गरिरहेका छन् । उद्योगमा ढुङ्गा कटिङ्ग गर्ने कामदार जिल्लामा पाँदैनन् । जसका कारण उदयपुरबाट आएका युवाहरुले मासिक कम्तीमा ५०/६० हजार रुपियाँ कमाइरहेका छन् ।
उदयपुर बेलका नरपालिका–६ का २९ वर्षीय मन कुमार राईले रेसुंगा ढुङ्गा कटिङ्ग उद्योगमा काम गर्न थालेका सात वर्ष भयो । गाउँमा ढुङ्गा कटिङ्गको काम हुँदैन् । उहाँले पोखरामा काम गर्नुहुन्थ्यो । पोखरामाभन्दा बढि कमाई हुने भए पनि दाजु प्रकाश ओली र एक जना छिमेकी लिएर गुल्मी आएको मन बहादुरले बताउनुभयो । दाजु मलेसिया गएर फर्किएको भए पनि आफु कहिल्यै परदेशको सोँचमा नरहेको प्रकाशले बताउनुभयो ।
पाखुरीमा बल हुन्जेल ढुङ्गा कटिङ्गमा कमाई राम्रो हुने राईको तर्क छ । ‘‘अप्ठ्यारो काममा माग र पैसा छ । अहिलेसम्म राम्रो गरिरहेका बजारमा बिकिरहेका छौ,’’ उहाँले भन्नुभयो, ‘‘महिनामा ५०/६० हजार कमाइ हुन्छ ।’’
ढुङ्गा कटिङ्गका लागि थ्रि फेज विद्युत आवश्यक पर्छ । तर नियमित विद्युत आपूर्ति नहुँदा माग अनुसारको काम गर्न नसकिएको उद्योग सञ्चालक जगुलाल भण्डारीले बताउनुभयो । उहाँले गाउँकै केही गरौं भन्ने सोँच भएकाहरुलाई राज्यबाट प्रोत्साहनको सट्टा अनेक सास्ती दिने काम भइरहेको गुनासो गर्नुभयो । ‘‘विद्युतको मिटर जोडन सास्ती छ । नियमित बिद्युत आउँदैन, फ्यिुज फेर्न समेत आफै पुग्ने हो,’’ उहाँले भन्नुभयो, ‘‘खानीहरुमा सरकारले हेर्ने दृष्टिकोण पनि सहयोगी छैन् ।’’