• २ वैशाख २०८२, मङ्गलबार

गणतन्त्रबारे निर्मम समीक्षा बहस

blog

गणतन्त्रकालीन पुस्ता किन बोधो भयो ? किनभने यो पुस्तालाई गणतन्त्रका निम्ति कहीँकतै बहस गर्नु परेन । उसलाई त्यस विषयको पक्षका वाङ्मयहरू चाहिएनन्, तथ्यहरू जरुरी भएनन् । गणतन्त्र घोषणा भएपछि जन्मेको बच्चो पनि आज देशको नागरिक बनिसक्यो । उसलाई राजतन्त्र युगका कुरूपताको ज्ञान दिन तथा गणतान्त्रिक व्यवस्थाको सुन्दर पक्षका बारेमा दीक्षित गर्न कसैले आवश्यक ठानेन ।

समय बदलिएको छ । हात हातमा कृत्रिम बौद्धिकता मुस्कुराइरहेछ । मान्छे सामाजिक सञ्जालमा दौडिरहेछ । दुनियाँ रिलमा नाचिरहेछ । औँलाहरू स्व्रिmनमा तलमाथि गरिरहेछन् । यसो बाहिरफेरो निस्कियो, करेसाबारीतिर छि¥यो, कुनै काममा अल्झियो भने बेग्लै कुरा नत्र सामाजिक सञ्जालमा घोप्टियो भने आशावादमा तुवाँलो लाग्छ, उदासीनताको पोखरीमा मान्छे चुर्लुम्म डुब्न पुग्छ । बिहान हुन्छ, दिउँसो हुन्छ, रात पर्छ, फेरि बिहान हुन्छ तर सामाजिक निराशालाई उत्साहमा बदल्न गाह्रो परिरहेछ । 

तपाईंले यो लेख पढिरहँदा पनि नयाँ नयाँ अफवाहहरू सामाजिक सञ्जालभित्र छिरिरहेछन् । हुँदा÷नहुँदा कुरामा आरोप÷प्रत्यारोप चलिरहेछ । एउटा पाखुरा सुर्किरहेछ, अर्को कुतर्कमा फुर्किरहेछ । त्यहाँ व्यवस्थाका कुरा पनि छन्, अवस्थाका कुरा पनि छन् । बेला बेलामा राजा फर्कने पर्चा पनि छ, हिन्दु राष्ट्रको चर्चा पनि देखिन्छ । उहिले यस्तो थियो भनेर इतिहासतिरै रुमलिएका पनि छन् मान्छेहरू । अहिले यस्तो छ भनेर वर्तमान खोतलिरहेका पनि छन् मान्छेहरू । तपाईं दिनभर हेर्नुहोस्, सकिँदै सकिँदैनन् समाचार । रातभर हेर्नुहोस्, नयाँ नयाँ थपिइरहेका छन् पोस्टहरू । प्रस्तोताहरू भ्युजवाला कन्टेन्ट खोजिरहेछन्, हामी तिनै कन्टेन्ट हेरेर सोचिरहेछौँ, “लौ बरबाद भयो ।” 

केही दिनयताको राजा फर्कने हल्लाले राजतन्त्र भोगेको पुस्ता चिन्तामा छ । त्यसका विरुद्ध सङ्घर्ष गर्दा भोग्नु परेका पीडा सम्झँदा त्यो पुस्ताको जिउ अहिले पनि सिरिङ्ङ हुन्छ । अत्यास लाग्दा दिनहरूको स्मृतिले तिनीहरूको मस्तिष्क रन्थनाइरहेछ । ‘... चोर, देश छोड्’ भन्दै हिजो जस्तै आज पनि सडकमा मानिसहरू नारा लगाइरहेका छन् तर कन्टेन्टमा आकाश जमिनको फरक देखिएको छ । तमासा हेर्न आफू कतै जानु पर्दैन, मोबाइलले घरमै एङ्गल मिलाइमिलाई देखाइदिन्छ । स्व्रिmनमा एउटा मान्छेले कारबाट टाउको ठड्याउँछ र मुस्कुराउँदै जुलुसलाई अभिवादन गर्छ । मान्छेको एक मनले भन्छ, “बागमतीमा कति पानी बगिसक्यो, अब कहाँ आउँछ राजतन्त्र ?” फेरि स्मृतिमा हिजोका भयानक दिनहरूको धमिलो देखिन्छ, सहिदका आकृतिहरू आँखैअगाडि सलबलाउँछन् । अर्को मनले भन्छ,“हँ, कतै फर्किइ पो हाल्छ कि त !”

सडक, सदन, चोक, चौतारामा अहिले यो विषय चर्चामा छ । एकथरी मानिस सम्भावनामा पर्खाल ठड्याइरहेछन् । पाका पुराना तथा भर्भराउँदा नेताहरू, सेना र अदालत मात्र होइन उत्तरप्रदेशका योगी पनि तर्कमा तानिन्छन् । जे होस्, समाज अहिले पक्ष विपक्षमा बहस गरिरहेको छ । 

बहसको कुरो आउनासाथ मलाई चूडामणि सरको सम्झना आउँछ । बागलुङको कुरो हो त्यो । हामी डेरा गरेर एकै कोठामा बस्थ्यौँ, लहरेपिपल स्कुलमा सँगै पढाउँथ्यौँ । उहाँको गाउँमा दुई राजनीतिक पार्टीका बिचमा चर्को प्रतिस्पर्धा रहेछ । यस्तो प्रतिस्पर्धाले दुवै पक्षलाई भौतिक रूपमा मात्र होइन बौद्धिक रूपमा पनि सशक्त बनाएको रहेछ । बहसको वातावरणबाट हुर्केका हुनाले राजनीतिक सामाजिक विषयमा कुराकानी हुँदा चूडामणि सरले बलिया तर्कहरू अघि सार्नुहुन्थ्यो, लेनिन र माओका उद्धरणहरूले, गान्धी र बिपीका सन्दर्भले त्यसलाई पुष्टि गर्नुहुन्थ्यो । राजनीतिक बहसमा उहाँलाई हराउन सकिँदैनथ्यो । उहाँका तथ्य, तर्क र प्रस्तुति कलाका अघि हामी नतमस्तक हुन्थ्यौँ । 

अर्कातिर थियो हाम्रो गाउँ । हाम्रो गाउँमा भने कुरो अर्कै थियो । गाविसको युगमा हाम्रो वडा निर्विरोध हुन्थ्यो । अर्को राजनीतिक दलका हुँ भन्ने १०÷१५ परिवारलाई विद्युतीकरणका बेला पहिले बिजुली दिएर आफ्ना पक्षमा पारिसकिएको थियो । यति हुँदा पनि तीन÷चार जना बाहरू मान्नुभएन । हामी उम्मेदवारी पनि दिँदैनौँ अनि भोट हालिरहेको चिह्न पनि फेर्दैनौँ भन्ने उहाँहरूको धारणा थियो । यसो भएपछि गाउँ एकलौटी भएको थियो, लौरो उठाए पनि जितिन्थ्यो । हामीलाई आफ्नो अस्तित्व जोगाउन कसैसँग बहस गर्नु पर्दैनथ्यो । प्रतिस्पर्धीका विचारलाई खण्डन गर्न अध्ययन गर्ने, तथ्य खोज्ने र तर्क गर्ने कामै थिएन । त्यस्तो गाउँमा हुर्केको हुनाले म बोधो थिएँ, सङ्घर्षको रापतापमा हुर्केको हुनाले चूडामणि सर प्रखर हुनुहुन्थ्यो । परिस्थितिको ठोस विश्लेषण गर्न र बहसलाई जीवन्त बनाउन आफ्नै समाजले सिकाएको थियो उहाँलाई । विरोधीसँग निरन्तर गरिरहनुपर्ने सङ्घर्षले उहाँको व्यक्तित्वलाई निखारेको थियो । 

यी दुई दृष्टान्त सामाजिक परिस्थितिको प्रभाव व्यक्ति व्यक्तिमा कसरी पर्छ भन्ने बुझ्न पर्याप्त छन् । जहाँ सङ्कट हुन्छ, त्यहाँ त्यससँग जुध्ने कलाको विकास गरिँदो रहेछ । सामाजिक सङ्घर्ष जति घनीभूत छ, त्यसले त्यति नै बढी योग्य मानिस निर्माण गर्दो रहेछ । यस खालको बहस, चिन्तन र द्वन्द्वात्मक परिस्थितिले नै समाजलाई अग्रगतितिर धकेल्दो रहेछ । समस्या नै नआइपरेपछि समाधानको पालुवा कसरी पलाउँछ र ? अहिले हुँदै गरेको गणतन्त्र र राजतन्त्रको बहस यस अर्थमा सही छ । 

गणतन्त्रकालीन पुस्ता किन बोधो भयो ? किनभने यो पुस्तालाई गणतन्त्रका निम्ति कहीँकतै बहस गर्नु परेन । उसलाई त्यस विषयको पक्षका वाङ्मयहरू चाहिएनन्, तथ्यहरू जरुरी भएनन् । गणतन्त्र घोषणा भएपछि जन्मेको बच्चो पनि आज देशको नागरिक बनिसक्यो । उसलाई राजतन्त्र युगका कुरूपताको ज्ञान दिन तथा गणतान्त्रिक व्यवस्थाको सुन्दर पक्षबारे दीक्षित गर्न कसैले आवश्यक ठानेन । भुइाचालोको त्रासबाट भुइँमा ओर्लिएको मानिसले दिन बित्दै जाँदा त्रास बिर्से झैँ गणतन्त्रवालाले पनि त्यो राजतन्त्रात्मक अतीत बिर्संदै गए । कुनै बेला त्यो व्यवस्थाले फेरि टाउको उठाउन सक्छ भन्ने पत्यार उनीहरूलाई कहीँकतै लागेन । यस व्यवस्थामा देखिएका कसिङ्गर बढार्न कुचो समाउने जाँगर कसैलाई भएन । यो ई पुस्ताले १७ वर्षसम्म गणतान्त्रिक नेताका कुकर्म मात्र सुनिरह्यो, हेरिरह्यो । किशोरकिशोरीहरू स्व्रिmनको ‘सकियो’ ‘खत्तम भयो’ ‘बरबाद भयो’ भन्ने भाष्यले थिचिएर कुप्रा बनिरहे । हुँदा हुँदा अब किन राजा चाहियो भन्ने प्रश्नको जवाफमा ‘मैले राजतन्त्र देख्न पाइनँ नि त’ भन्ने उत्तरसमेत टिकटकमा आउन थाले ।

अहिले सडकमा मानिसले ‘हाम्रो राजा हाम्रो देश...’ नारा लगाइरहेको सुन्दा म चूडामणि सरलाई सम्झिरहेको छु । बोधो बन्दै गएको समाज बौद्धिक बहसमा सव्रिmय बन्ने भयो भन्ने अभिलाषाले दिल खुस भएको छ । म देखिरहेको छु, मानिसहरू दुई व्यवस्थाको तुलनात्मक अध्ययनमा लागेका छन् । आआफ्ना तर्क पेस गरिरहेका छन् । तथ्यहरूलाई तालिकामा, अन्तरलाई स्तम्भचित्रमा देखाउन थालिएको छ । एक किसिमको खोजको हुटहुटी पैदा भएको छ, थाहाको खोजमा मानिस भिडिरहेछ । 

व्यवस्थाका विरोधीबाट वर्तमानका अनगन्ती कमजोरी, विसङ्गति, कुरूपता सञ्जालमा देख्न पाउनु खुसीको कुरा हो । तिनीहरूका केही तर्क असाध्यै चोटिला छन् तर केही तर्क काम चलाउ छन् र केही भने अझै उडन्ते नै छन् । तिनीहरूले धर्म निरपेक्षतासहितको यो समावेशी समानुपातिक गणतान्त्रिक व्यवस्थाका अँध्यारा पक्षहरू तथ्याङ्कसहित अगाडि ल्याऊन् । तिनीहरूले आन्दोलनको आँधीबेहरी सिर्जना गरून्, तिनले सकेछन् भने यो व्यवस्थालाई नै बदलेर राजतन्त्रात्मक व्यवस्था नै ल्याऊन् । अनि हुन्छ बहस । अनि हुन्छ विवाद, प्रतिवाद र सङ्घर्ष । अनि पो जन्मिन्छन् गाउँ गाउँमा चूडामणिहरू । बिनाबहस कसरी पुग्न सकिन्छ भरभराउँदो भविष्यतिर ? 

भलिबल जति जोडले भुइँमा थचारिन्छ, उति उफ्रेर माथि पुग्छ । व्यवस्थामाथिको सङ्कट जति गहिरिएर जान्छ, उन्नत व्यवस्था उत्ति चुलिएर आउँछ । बितेका समय इतिहासमा सुरक्षित हुन्छन्, सोही रूपमा वर्तमानमा आउन सक्दैनन् । अब राजतन्त्र आयो भने हिजोभन्दा खतरनाक स्वरूपमा आउनु पर्छ । नत्र दुई÷चार वर्षमा त्यो सकिन्छ र अर्को कुरा अब आएको त्यस्तो राजतन्त्र सकिँदा पनि हिजोभन्दा बढ्ता नामेट भएर सकिन्छ ।  

के भएको हो कुन्नि, मेरो मन निरन्तर भनिरहेछ, व्यवस्थामा देखिन थालेको यो सङ्कट अझै गहिरिएर जाओस् ।

अझ म त चाहन्छु, इतिहासको कालो पर्दाले समाजलाई ढपक्क ढाकोस् । निरङ्कुशताले हामीमाथि लाठी बर्साओस् । स्वतन्त्रताका पक्षमा बोल्नेको जिब्रो थुतियोस्, प्रगतिका पक्षमा लेख्नेको हात काटियोस्, शोषणका विरुद्धमा उभिनेको छातीमा गोली लागोस् । मानपदवीका लागि फेरि लेखियुन् स्तुति पद्यहरू । 

यति भइदियो भने बल्ल हुन थाल्ने छन् जीवन्त छलफलहरू । पुछ्न थाल्ने छन् मस्तिष्कमा लागेका माकुराका जाला । खुल्न थाल्ने छन् धमिरा लागेका पुस्तकालय । बोध हुने छ, गणतन्त्रवादीलाई आफूले गरेका अपराध । आत्मसात् हुने छ, सामाजिक सञ्जालका अभियन्तालाई, फेसबुकका टिप्पणीकार र युट्युबका कलाकारलाई आफ्नै उत्तेजनाको दीर्घकालीन प्रभाव । 

हामी गणतान्त्रिक भोजभतेरको मदहोस समयमा छौँ । यतिबेला एकातिर गणतन्त्रवादीको चर्को सङ्गीतको डिस्को पार्टी चलिरहेको छ, अर्कातिर जिम्दारी खोसिएका राजतन्त्रवादी र श्री हराएका पण्डापुजारी बेहोसीको रनाहामा नाचिरहेका छन् भस्मासुर नृत्य । देश ज्योति मगर र दुर्गेश थापाको राजनीतिक महोत्सवमा उफ्रिरहेको छ । मित्रराष्ट्र आतेसवाजीका लागि अधैर्य हुँदै छन् । त्यसैले अहिले अत्यावश्यक बनेको छ, अर्थपूर्ण बहस, जीवन्त छलफल, निर्मम समीक्षा र आत्मसमीक्षा । यो समय उत्तेजनाको होइन, हाम्रो धरातलीय यथार्थ अनुसारको अग्रगामी योजनाको हो, विवेकको हो । 

अहिले हामी यही कुरा गुमाइरहेका छौँ र यो गुम्दा धेरै कुरा गुमिसकेको हुने छ । 

Author

विष्णु ज्ञवाली