• २ वैशाख २०८२, मङ्गलबार

नयाँ वर्षको नयाँ यात्रा

blog

अघिल्लो वर्षको समीक्षा गर्दै नयाँ वर्षमा उज्ज्वल भविष्यको परिकल्पना गरिन्छ । त्यसैले नयाँ वर्षको नयाँ यात्रा उपलब्धिमूलक बनाउनु पर्छ ।

हिमालमा गयो जाडो, लोक सानन्द देखियो ।

उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो ।।

कविशिरोमणि लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्यको माथि उल्लिखित पङ्क्तिमा उल्लेख गरिए जस्तै जाडोमा कठ्याङ्ग्रिएको तन, मन ऋतुराज वसन्तका फूलहरूसँगै उल्लासित बन्न थालेका छन् । वनबगैँचाको सुन्दरताले प्रकृतिमा नवीन रौनक छाएको छ । कोइलीको कुहुकुहु र काफल पाक्यो चराको गुञ्जनले वातावरण आनन्दमय बनाएको छ । जडताले जकडिएको जीवन एक पटक फेरि जाँगरको स्वतन्त्रतामा चङ्गा जसरी उड्न थालेको छ । आजदेखि आरम्भ भएको नयाँ वर्षको आगमनले यस अवसरमा विशेष महŒव राख्छ ।

प्रकृतिमा आएको यस्तो परिवर्तनसँगै घर, कार्यालयका भित्ता र टेबलमा आजैदेखि नयाँ वर्षको पात्रो फेरिएको छ । नयाँ वर्षको दिन आपसमा सद्भाव आदानप्रदान गर्ने, शुभकामना लिनेदिने, साथीभाइ, इष्टमित्र भेटघाट गर्ने, विभिन्न कार्यव्रmम आयोजना गर्ने, मठमन्दिरमा गई पूजाआजा गर्ने तथा मिठा परिकार बनाएर हर्षोल्लासका साथ मनाउने नेपालीको चलन रहिआएको छ । नेपाल मात्र होइन, विश्वभर छरिएर रहेका नेपालीले यसै गरी एकआपसमा शुभकामना साटासाट गरेर नयाँ वर्ष मनाउँदै छन् । साथीभाइ, इष्टमित्रबिच आपसमा शुभकामना आदानप्रदान कार्यव्रmम जारी छ । सामाजिक सञ्जालका भित्ता नयाँ वर्षको शुभकामनाले भरिएका छन् । 

नयाँ वर्ष भन्नासाथ हामीमा स्वाभाविक रूपमा खुसी र उमङ्गको सञ्चार भइहाल्छ । अझ केटाकेटी त कति दिन पहिलादेखि औँला भाँचेर दिनगन्ती गर्दै नयाँ वर्षको पर्खाइमा रहेका हुन्छन् । खास गरी युवापुस्ताले नयाँ वर्षमा नयाँ उत्साह, नयाँ उमङ्ग, नयाँ जोस र नयाँ जाँगरका साथ सुन्दर भविष्यको कल्पना गरेका हुन्छन् । हुन त नयाँ वर्ष भनेको मानिसको जीवनमा रातपछिको बिहानी जस्तै हो । त्यस अर्थमा एउटा वर्ष सकिएर अर्को वर्षको थालनी हुनुलाई स्वाभाविक रूपमा लिनु पर्छ । वर्ष २०८१ ले हामीबाट बिदा लिएको सन्दर्भमा आजको दिन भनेको वर्षभरि भएगरेका कामको समीक्षा गर्ने दिन हो । यसरी अघिल्लो वर्षको समीक्षा गर्दै नयाँ योजनाको खाका कोर्ने दिन पनि हो । वर्षभरि के कस्ता काम ग¥यौँ ? कति सफल भयौँ, कति असफल भयौँ ? के कस्ता चुनौती आइलागे ? ती चुनौती पार गर्न के कस्तो पहल ग¥यौँ ? थप सफलता हात पार्न के गर्नुपथ्र्यो ? लगायतका विषयमा गम्भीर ढङ्गबाट मनन, समीक्षा गर्नु पर्छ । यस्तो समीक्षाले विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन मद्दत गर्छ । वर्तमान राम्रो हुनासाथ त्यसका आधारमा भविष्य राम्रो हुने छ भन्ने अनुमान लगाउन सकिन्छ । त्यस अर्थमा आजको दिन भनेको भविष्यको योजना बनाउने र ती योजना पूरा गर्न प्रतिबद्धता जनाउने दिन पनि हो । 

नयाँ वर्षबाट हरेकले नवीनतम उमङ्गको अपेक्षा गरेका हुन्छन् । यस्तो अपेक्षा गर्दै गर्दा त्यस अनुसार व्यवहार परिवर्तन गरी आफूलाई सुधार्न सकेनौँ भने भित्तामा टाँसिएको पात्रो फेरिनुबाहेक नयाँ वर्षको अरू कुनै विशेष उपलब्धि हुन सक्दैन । हुन त नयाँ वर्षको दिनमा धेरै मानिसले आजदेखि म यो काम गर्छु, यो काम गर्दिनँ भनेर सूची नै तयार गरी परिवारका सदस्य र साथीभाइबिच प्रतिबद्धता पनि गर्ने गर्छन् । हो, नयाँ वर्ष भनेको हिजोका नराम्रा आदत र प्रवृत्ति छाडेर असल काम गर्न प्रतिबद्धता जनाउने दिन पनि हो । यसै गरी सकारात्मक सोचको विकास गर्दै जाँदा त्यसले हरेक मानिसलाई जीवन र जगत्का बारेमा बुझ्न मद्दत गर्छ । नयाँ वर्षको दिनमा गरिएका प्रतिबद्धता एक महिना नबित्दै भुल्ने बानी आमनेपालीमा छ । 

भनिन्छ, बुद्धिमान् मानिसले बितेको समयमा गर्न नसकेका कामका बारेमा चिन्ता गर्नुभन्दा त्यसबाट सिकेर भविष्य कसरी उज्ज्वल र उपलब्धिमूलक बनाउन सकिन्छ भनेर चिन्तन गर्ने गर्छन् । हुन पनि बितेको समयका बारेमा चिन्तन गरेर बस्नु भनेको समय खेर फाल्नु मात्र हो । त्यसकारण नयाँ वर्ष मनाउँदै गर्दाको खुसियाली त्यतिबेला सार्थक हुन जान्छ, जतिबेला हिजोका दिनमा जानेर वा नजानेर भएका वा गरिएका गल्ती आज दोहोरिन पाउँदैनन् । अघिल्लो वर्षको समीक्षा गर्दै गर्दा हरेक व्यक्ति भविष्यप्रति आशावादी हुनै पर्छ । किनभने सुन्दर भविष्य निर्माणका लागि हरेकले असल कर्म गर्नुपर्ने हुन्छ । धेरैले आफ्नो कार्ययोजना, कार्यान्वयनको खाका र त्यो खाका पूरा गर्ने सपना बुनेका हुन्छन् । यति मात्रै होइन, नयाँ वर्षमा एकले अर्कोलाई ती सपना पूरा होस् भन्ने कामनासमेत गर्ने गरिन्छ । अरूले त कामना गर्ने मात्र हो, त्यसलाई कार्यान्वयन गर्न व्यक्ति स्वयं व्रिmयाशील हुनु पर्छ । 

नयाँ वर्ष र राजनीति 

नेपालमा राजनीतिक स्थायित्व नहुँदा समाजका हरेक विषय राजनीतिसँग जोडिएर आउने गरेका छन् । कतिसम्म भने हामीले नयाँ वर्षको शुभकामना आदानप्रदान गरिरहँदासमेत त्यसमा राजनीतिक चिन्ता र चासो मिसिने गरेको छ । हरेक जाति, वर्ग, क्षेत्र, पेसा र व्यवसायमा आबद्ध सदस्यका आआफ्ना समस्या छन्; जसको हल राजनीतिक नेतृत्वको सार्थक पहलबिना हुन सक्दैन । उदाहरणका लागि देशभरका शिक्षक राजनीतिक नेतृत्वमाथि आफ्ना पेसागत मुद्दा सम्बोधन गर्न दबाब दिने उद्देश्यले पछिल्लो दुई सातादेखि राजधानीको सडकमा आन्दोलनरत छन् । राजनीतिक दलको नेतृत्वले तिनका पेसागत मुद्दा सम्बोधन गर्न पहल नगरेसम्म यो समस्या हल हुन सक्दैन । सत्ताबाहिर एउटा कुरा गर्ने राजनीतिक नेतृत्वले सत्तामा पुगेपछि बोली र व्यवहार फेर्ने गरेको छ । 

राजनीतिक दलका नेताको व्यवहार र कार्यशैलीका कारण यतिबेला आमनागरिकमा असन्तुष्टि चुलिएको छ । पारिवारिक जमघट, चियाचौतारी, भोजभतेर, सभासम्मेलन जस्ता जुनसुकै जमघटमा पनि नागरिकले दिक्दारी र हैरानीका कुरा सुनाउने गरेका छन् । ससाना कामका लागि सरकारी कार्यालय जाँदा त्यहाँका अधिकारीले अनावश्यक दुःख र झन्झट दिने गरेको उनीहरूको गुनासो सुनिन्छ । यसरी हैरानी भएका नागरिकका मुखबाट सुनिन्छ– नेताहरूको कार्यशैलीका कारण देश बिग्रियो, बर्बाद भयो । कहीँ कसैका मुखबाट आसलाग्दो कुरा बिरलै सुन्न पाइन्छ । यस्ता निराश कुरा सुन्दा खास गरी युवापुस्ता अब यहाँ बसेर केही पनि हुँदैन भन्ने निष्कर्षका साथ अध्ययन वा रोजगारीका नाममा विदेश पलायन हुने व्रmम बढ्दो छ । 

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको युवाको भिडबाट पनि यसको पुष्टि हुन्छ । यो भनेको राजनीतिक दल र तिनका नेताप्रतिको अविश्वास हो । तिनीहरूमाथिको भरोसा टुट्दै गएको बलियो प्रमाण हो । राजनीतिक दलका नेताहरू खास गरी सत्ताउन्मादमा रहेका बेला यो वास्तविकता आत्मसात् गर्न तयार हुँदैनन्, स्विकार्न तयार हुँदैनन् मात्र होइन; यस्ता कुरा सुन्नसमेत तयार हँुदैनन् । किनभने उनीहरू कर्णप्रिय कुरा गर्ने व्यक्तिका घेराबन्दीमा रमाएका हुन्छन्; जुन घेराबन्दीमा आलोचना भन्ने शब्दै हुँदैन । नागरिक तहमा बढेको यो हदको निराशालाई चिरेर आशामा बदल्ने काम खास गरी दलका नेताहरूकै हो । उनीहरूकै कमजोरीका कारण यी र यस्ता समस्या उत्पन्न भएका हुन् भने त्यसको समाधानका लागि उनीहरूले नै अग्रसरता लिनु पर्छ । किनभने परिवर्तित समयको गतिलाई आत्मसात् गर्न सके सकेनन् भने राजनीतिक नेतृत्वको सान्दर्भिकता र औचित्य समाप्त हुने छ । त्यतिबेला परिस्थिति यस्तो बिन्दुमा पुगिसकेको हुन्छ कि सुधार गर्ने होइन, पश्चात्ताप गरेर बस्नुको विकल्प हँुदैन । 

हाम्रो यो समस्या बाहिरबाट आएर कसैले हल गरिदेला कि भनेर अरूको मुख ताकेर बस्नु भनेको परनिर्भरतासिवाय अरू केही हुनै सक्दैन । त्यसकारण त्यो अवस्था आउन नदिन खास गरी राजनीतिक नेतृत्व बढी नै जिम्मेवार हुनु पर्छ । नयाँ वर्षले दलका नेताहरूलाई सद्बुद्धि देओस् ।  


Author

रामजी दाहाल