अनिल पराजुली
हेटौँडा, चैत ३० गते । मकवानपुरमा रहेको लटारम्मेश्वर महादेव मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ । मकवानपुरको बकैया गाउँपालिका-१२ र भीमफेदी गाउँपालिका-८ को सिमानामा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पर्यटकको रोजाइमा पर्न थालेको हो ।
समुद्री सतहबाट एक हजार ८५६ मिटरको उचाइमा रहेको लटारम्मेश्वर महादेव मन्दिरबाट मनोरम हिम शृङ्खला पनि देख्न सकिन्छ । धार्मिक पर्यटनको रूपमा विकास हुँदै गएको मन्दिरको धार्मिक किम्वदन्ती पनि रहेको छ । यज्ञकुण्डमा हाम फालेर जलेकी सतीदेवीको मृत शरीर बोकेर महादेव त्रिलोक भ्रमण गर्दा सतीदेवीको लट्टा खसेको स्थानका रूपमा मकवानपुरमा लटारम्मेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ ।
हरेक वर्ष माघे सङ्क्रान्ती र वैशाख १ गते यहाँ विशेष मेला लाग्ने गरेको छ । मेला भर्न मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका क्षेत्रबाट पर्यटकहरू आउने गर्नुभएको बकैया–१२ का वडाध्यक्ष ज्ञानेन्द्र बजगाईँले बताउनुभयो । कान्तिलोकपथ हुँदै काठमाडौँबाट दुई घण्टाको दुरी पारगरेपछि मकवानपुरको ठिंगन हुँदै खोरभन्ज्याङ र रातोमाटेबाट उकालो लागेपछि महादेवको मन्दिर पुग्न सकिने उहाँले बताउनुभयो । पालिका र प्रदेश सरकारसँग समन्वय गरेर मन्दिर जाने सिडी पनि धमाधम निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै मन्दिरको विकासका लागि भीमफेदी गाउँपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ । सङ्घीय सरकार र बागमती प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले मन्दिर पुग्ने स्थानमा भौतिक पूर्वाधारको काम गरेको हो । लिफ्ट गरेर खानेपानी र मन्दिर पुग्ने भक्तालुका लागि विश्राम स्थल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।
मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन हुँदै खोरभन्ज्याङको बाटोबाट माटोमाटेसम्म सवारी साधनमा र त्यसपछि केही भाग सिडी र डेढ घण्टा ठाडो उकालो हुँदै मन्दिरमा पुग्न सकिन्छ । त्यस्तै भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको ठाडो उकालो पैदल हिँडेपछि पनि डब्लु डाँडाको थुम्कोमा रहेको महादेवको मन्दिरमा पुग्न सकिन्छ । थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्यहरू, बाटोभरि फुलेका राताम्य गुराँस र चिसो हावाले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध बनाउँदछ ।
भीमफेदी र बकैयाको थुम्कोबाट आकर्षक गणेश हिमाल पनि देख्न सकिन्छ । डब्लु डाँडालाई छिनमै बादलले ढकमक्क ढाक्छ । छिनमै बादल फाटेर प्राकृतिक सुन्दरता देखिनु यो मन्दिरको विशेषता पनि हो । प्राकृतिक सुन्दरताले भरिएको यो मन्दिरमा पुग्दा अलौकिक अनुभूति हुन्छ ।