• २ वैशाख २०८२, मङ्गलबार

विद्रोहको शालीन विम्ब

blog

अभय श्रेष्ठ नेपाली साहित्यका पाठकमाझ बागी कविका रूपमा स्थापित हुनुहुन्छ । शालीन र कलात्मक भाषामा विद्रोहको गहिरो अभिव्यक्ति दिने कवि अभयले बुकहिलबाट प्रकाशित पछिल्लो कवितासङ्ग्रह ‘लहना र तीर’ भित्रका कवितामा समाजका विसङ्गत पक्षमाथि मात्रै होइन, आफू को हुँ भन्ने प्रसङ्गलाई पनि निकै मार्मिक तरिकाले व्यक्त गर्नुभएको छ । कस्ता कस्ता परिस्थिति र नियतिसँग जुधेर उहाँ बागी कवि हुनुभएको हो भन्ने ‘बागी कवि’ शीर्षक कवितामा राम्ररी व्यक्त गरिएको छ– 

जसरी फूलसँगै अभिन्न हुन्छ सुवास

जसरी पातसँगै अखण्ड रहन्छ हरियाली

त्यसरी नै देश मसँग नि रहेको भए

हुने थिइनँ म बागी कवि !

‘कवितालाई शब्दको रमिता, प्रकृतिको बखान, संरचना र वाचनको विलासिताको सिकार बनाउनु कविताकै घाँटी निमोठ्नु हो’ भन्ने मान्यतालाई कविले यी कवितामा स्थापित गर्नुभएको छ । उहाँका कवितामा असन्तुष्टि र विद्रोहका स्वर मात्र गुञ्जिएका छैनन्, प्रेमका कञ्चन नदीहरू पनि प्रवाहित छन् । प्रथम पटक सुने जस्ता लाग्ने प्रेमका विम्बात्मक अभिव्यक्तिले कविताका भावकहरू रोमाञ्चित मात्र हुँदैनन्, फरक अनुभूतिले भावुक पनि हुन्छन् । खास गरी अछुत प्रेम र दलित प्रेमीको सन्दर्भलाई विभिन्न प्रतीक र विम्बका माध्यमबाट प्रस्तुत यी कविताले मनमस्तिष्कलाई झङ्कृत पार्छन् । जातीय विभेदको सङ्कीर्ण सोचले मानवीय संवेदना हराउँदै गएका सन्दर्भहरू केही कवितामा प्रभावकारी रूपमा आएका छन् । यस्ता कवितामा प्रेमको शाश्वत पक्षमा प्रहार गर्ने सांस्कृतिक ढोँगहरूप्रति पनि तिखो व्यङ्य छ । ‘अछुतको प्रेमगीत’ शीर्षक कवितामा कविले विद्र्रोहलाई यसरी शालीन अभिव्यक्ति दिनुभएको छ–

प्रेम त उन्मुक्त आकाश हो 

जहाँ कुनै भित्ता हुँदैन

एक बारको अमूल्य जुनीकै जोखिममा

रोजेको हुँ मैले एक सवर्ण युवतीको प्यार

तर, हरेक पटक प्रेमको आलिङ्गनमा 

मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खन्जर ।

‘अछुत’ को प्रेमगीत, पृ. ८३ ।

सङ्ग्रहमा चार खण्ड छन् । पहिलो खण्ड ‘बागी कवि’ का कविताहरू वैचारिक दृष्टिले सशक्त छन् । बागी कविको विश्वदृष्टियुक्त यस खण्डका कवितामा प्रेम, दर्शन, समसामयिक विषय र विभिन्न सन्दर्भका प्रतिरोधी चेतना प्रकट भएका छन् । विम्बात्मक र प्रतीकात्मक भाषामा कुनै पनि विषयप्रति आफ्नो स्पष्ट दृष्टिकोण व्यक्त गर्न सिपालु छन् उनी । प्रेमको गहिरो अनुभूति र उदात्ततालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको प्रभावकारी एउटा अंश यसप्रकार छ–

मेरा आँखाबाट÷ फैलिरहेछ आकाश जस्तै अनन्त

सम्झनाको तार

जो तिमीसम्म पुग्न खोज्छ हतार हतार

बारम्बार÷तिमी गएपछि ।

‘पण्डित र नगरबधू’ शीर्षक दोस्रो खण्डमा ११ कविता छन् । यस खण्डका कवितामा पितृसत्तात्मक सामाजिक व्यवस्थाले नारीमाथि राख्ने सङ्कीर्ण सोचलाई उजागर गर्दै प्रतिरोधी चेतना प्रस्तुत गरिएको छ । नारीलाई सुन्दरी मात्र देख्न चाहने र कठपुतलीको भूमिकामा उभ्याउन चाहने पुरातन समाजले नारीका वैयक्तिक स्वतन्त्रतालाई बन्देज लगाउन बनाएका संस्कारमाथि प्रश्न गरिएको छ । बलात्कारलाई माफ गरिदिने र प्रेमलाई पाप भनिदिने झिलीमिली अन्धकार बोकेको यस्तो ढोँगी समाजलाई अब चुनौती दिनुपर्ने र नवीकरण गर्नुपर्ने आवाज यी कवितामा छन् । ‘सुश्री आमा सुन्दरी’ कवितामा आमा र सुन्दरीलाई पितृसत्तात्मक समाजले हेर्ने दृष्टिकोणमाथि व्यङ्ग्य गर्दै संसारमा सबैभन्दा सुन्दर अर्थात् विश्वसुन्दरी कोही छ भने त्यो केवल आमा हो भन्ने दृष्टिकोणलाई यसरी व्यक्त भएको छ–

वसन्तको बतासमा झुल्ने हरियाली जस्तो

यो मुलायम मातृत्वको मूल्यमा 

त्याग्न सक्छु म संसारको जुनसुकै ताज ।

यस खण्डका कवितामा पुरातन पुरुषवादी समाजमा नारीका प्रतिरोधी चेतना प्रस्तुत गरिएको छ । ‘नोरालाई’ शीर्षक कवितामा नारीलाई सधैँ अधीनस्थ वस्तु बनाएर राख्न चाहने सामन्ती सोचलाई निकै कलात्मक रूपमा व्यक्त गरिएको छ । कविताको एउटा अंश यस्तो छ–

ए स्वास्नीमान्छेहरूकी नायिका !

घस्रिरहेका तिम्रा पाइला

जब हिँड्न थाल्छन्

आकाश खसेझैँ उनीहरू आत्तिन्छन् 

चिच्याउँछन् र चिच्याइरहन्छन् ।

पितृसत्तात्मक सामाजिक सोच नारीप्रति कति अनुदार र सङ्कीर्ण छ भन्ने कुरालाई निकै प्रभावी रूपमा प्रस्तुत गरिएको यस कविताको माथिको अंशमा नारीलाई निरीह बनेको, कमजोर भएको, फूल जस्तै कोमल र रूपवती भएको मात्र देख्न चाहने समाजले नारीको सक्षमता र उसको सफलतालाई मन पराउँदैन भन्ने यथार्थ पर्दाफास गरिएको छ । घस्रिएर हिँडिरहेका उसका पाइला जब जुरुक्क उठेर आत्मविश्वाससाथ हिँड्न सुरु गर्छन् तब पितृसत्ताका मतियारहरू आकाश खसे जस्तै गरेर चिच्याउन थाल्छन् भन्ने भाव यहाँ व्यक्त भएको छ । नारीलाई ‘महान्’ को पगरी लगाइदिएर उनीहरूलाई देवीबाट दास कसरी बनाइयो, नारीको देहलाई गोप्य खजानाको सन्दुक जसरी वस्तु कसरी बनाइयो, नारीलाई सनातन आदर्शको पोखरी जस्तै जमाएर कसरी राखियो जस्ता यावत् प्रश्न र तिनको जवाफ यी कवितामा प्रभावशाली बनेर आएका छन् । 

‘अस्मिताको प्रेमगीत’ शीर्षकको तेस्रो खण्डका कविता चेतनाका दृष्टिकोणले अझ बढी सशक्त छन् । दलित, सीमान्तीकृत र भुइँमान्छेका अस्मितालाई केन्द्र बनाएर लेखिएका यी कवितामा बहुसांस्कृतिकताको लोपप्रतिको चिन्ता छ । जसरी मानचित्रबाट बहुरङ्गी चित्रहरू मेटिँदै गएका छन्, त्यसरी नै विविध अल्पसङ्ख्यक भाषाभाषीको मेटिँदै गएको सांस्कृतिक विरासतप्रति यस खण्डका कवितामा चिन्ता र चासो व्यक्त भएको छ । पछिल्लो समय सीमान्तीकृत तथा अल्पसङ्ख्यकहरू पनि आफ्नो भाषा, संस्कृति, इतिहास, आफ्नो अस्तित्व र पहिचानप्रति सचेत हुँदै गएको र एकप्रकारको जागरणको सुरुवात भएको कुरालाई यस खण्डका कतिपय कवितामा विषय बनाइएको छ । ‘समानान्तर’ शीर्षक कविताको प्रस्तुत अंशबाट पनि यो कुरा प्रस्ट हुन्छ–

जहाँ हाम्रो हृदयको कोमल पत्रबाट 

खोसिएको थियो देश

आज त्यहाँ भएको छ चेतनाको पुनर्जागरण ।

केही कवितामा सीमान्तीकृतहरूलाई प्रश्न गर्न सिकाइएको छ र हरेक वस्तु वा सत्यमाथि पनि सन्देह गर्न भनिएको छ । त्यही सन्देह नगर्दा र हरेक कुरामा विश्वास गर्दा इतिहास नै गलत लेखिएको, त्यसमा पनि प्रभुत्वशाली वर्गकै पहँुचमा शक्ति र सत्ता पुग्न सफल भएको कुरालाई यहाँ विभिन्न मिथक, प्रतीक तथा विम्बहरूका माध्यमबाट अभिव्यक्त गरिएको छ । ‘सन्देह’ यस्तै प्रकारको कविता हो, जसको एक अंश यस्तो छ–

तिम्रा सम्मानित गुरुले 

मिठो भाषामा सुनाएका कथा

महान् इतिहासकारले लेखेको इतिहास

र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर ।

कृतिको अन्तिम खण्ड ‘लहनामा सूर्योदय’ मा सङ्गृहीत ११ कवितामा नेपालको मौलिक संस्कृति र समसामयिक राजनीतिक विषमताहरूलाई विषयवस्तु बनाइएको छ । संवेदना, चेतना र यथार्थको अभिव्यक्तिले यस खण्डका कविताहरू स्पर्शी बनेका छन् । यी कवितामा कतै आजको असफल राज्यव्यवस्थालाई चिल्लो गाताको सस्तो किताब र भव्य शौचालयसँग तुलना गरिएको छ । कतै निष्पाप प्रेम नै मान्छेलाई आत्मसम्मानका साथ बाँच्न दिने ऊर्जा हो भनिएको छ । कतै म कसरी तपाईंको थोक व्यापारको सामग्री मात्र भएँ कमरेड भनेर सत्तासीनहरूलाई प्रश्न गरिएको छ । यसरी विविध विषय, भाव र संवेदनाको प्रस्तुति पाइने यस खण्डका कविताहरूमा अन्तर्वस्तुगत विविधता पाइन्छ । समग्रमा यस सङ्ग्रहका कविता विषय, भाव, विचार, शिल्प र संरचनाका दृष्टिले अब्बल छन् । कतिपय कवितामा कविले आफ्नो विश्वदृष्टिलाई विभिन्न तर्क, मिथक र विम्बहरू प्रयोग गरी सुन्दर ढङ्गले स्थापित गरेका छन् । कला र विचारको सुन्दर संयोजन भएको यस कृतिका कवितामा चेतना मात्र छैनन्, चित्रसमेत उतारिएका छन् । आख्यानात्मक शैलीमा लेखिएका चार पृष्ठसम्मका कवितादेखि १६ शब्दमा पनि पूर्ण भएका कवितासमेत यसमा छन् । ‘दलन’ शीर्षक सबैभन्दा छोटो कविताले कविको कविताचेत, प्रतिरोधी चेतना र जीवन र जगत्प्रतिको दृष्टिकोणलाई सुन्दर तरिकाले व्यक्त गरेको छ– 

के ठान्यौ तिमीले हामीलाई ?

सायद अछुत प्रेमी ठान्यौ

र, जिउँदै पुरिदियौ

हामी बिउ थियौँ र उम्रियौँ । 

Author

ज्ञानु अधिकारी