• ६ वैशाख २०८२, शनिबार

प्रेमको अनुपम उदाहरण

blog

परम्परागत संस्कृति र संस्कार बोकेको चाडमा चैतालो अर्थात् भेटौलो पर्छ । सुदूरपश्चिमको केही जिल्लामा गरिने पारम्परिक चलन तथा नैतिक मूल्य र मान्यता बोकेको यो एउटा सांस्कृतिक प्रथा हो । भाइबहिनीको अटुट प्रेमको अनुपम उदाहरण हो– चैतालो ।

समयले कोल्टे फेर्छ । लामो समयदेखि चलेको परम्परा र रीतिथितिले पनि केही न केही आफ्नो रूपमा परिवर्तन गर्ने गरेको हामी सबैले देखेका छौँ । आजभन्दा सय वर्षअघि समाजका व्यक्ति र समाजप्रति मानिसको धारणा र त्यसपछिको ३०÷३५ वर्षमा उही समाज र व्यक्ति हुन्छन् । तर सोच्ने तरिका र जीवन जिउने शैलीमा परिवर्तन देखिनु स्वाभाविक हो । यसै गरी हरेक नयाँ पुस्तापछिको सामाजिक संरचना व्यक्तिको व्यवहार, रहनसहन, आम्दानी, पेसामा परिवर्तन भएको हेर्दै हुर्के बढेका हामी सम्पूर्ण नेपालीलाई आफ्नो जातजाति क्षेत्रीयता अनुसार आफ्ना सम्पूर्ण संस्कारसँग प्रेम हुनु स्वाभाविक हो । हुनु पनि पर्छ हैन भने बिस्तारै समाजबाट पूर्वीय दर्शनको पद्धति लोप हुन सक्नेमा दुईमत छैन । यस्तै परम्परागत संस्कृति र संस्कार बोकेको चाडमा चैतालो अर्थात् भेटौलो पर्छ । सुदूरपश्चिमको केही जिल्लामा गरिने पारम्परिक चलन तथा नैतिक मूल्य र मान्यता बोकेको यो एउटा सांस्कृतिक प्रथा हो । भाइबहिनीको अटुट प्रेमको अनुपम उदाहरण हो– चैतालो ।

विशेषतः सुदूरपश्चिमको बैतडी, दार्चुला र भारतको उत्तराखण्डमा चैत महिनामा चेलीलाई भेट्न तारम्तार हुन्छ भने डोटी, बझाङ र अछाममा माघको महिनामा छोरीचेलीलाई कोसेली लिएर भेट्न जाने अथवा माइतीमा खाना खान डाक्ने चलन छ । यसरी महिना फरक भए पनि उद्देश्य भने उही छोरीलाई भेट्ने सम्झिने हो । चैत महिनामा रितुरानो (वसन्त ऋतुको आगमनमा गाइने) लोकगीत गाइन्छ, जसमा गोरीधानाको विवाह प्रसङ्ग उल्लेख हुन्छ । उनको विवाह चौगङ्गापारि कालीनागसँग भएको थियो । गोरीधानाका भाइ सदेउ बाला थिए । उनी ग्वाला जाँदा सबै साथीभाइले आफ्ना दिदीबहिनीका कुरा गर्ने र भेट्न जाने, तिम्रो त दिदी छैन कि तिमी जाँदैनौँ भनी सदेउलाई जिस्काउने गर्थे । 

एक दिन सदेउले आफ्नी आमासँग प्रश्न गरे, “मेरा सबै साथी आफ्नो दिदीबहिनीको घर जान्छन् । मेरी दिदी कहाँ छिन् । म पनि दिदी भेट्न जान्छु ।” उनले अनुनयविनय गरेपछि आमाले केही बेर सदेउलाई दिदीको विवाह धेरै टाढा कालीनागसँग भएको, जान सहज नहुने कुरा सम्झाइन् । तर सदेउको हठको अगाडि आमाको केही सिप नलागेपछि केही जोडजाम तयार पारेर उनलाई दिदी भेट्न जाने अनुमति दिइन् । बाटो असजिलो र ठोस ठेगाना थाहा नभए पनि सदेउ बालाले दिदी भेट्ने अठोट गरे । खोज्दैखोज्दै धेरै दिन लगाएर दिदीको घर पुगे । गोरीधाना पनि यत्तिका वर्षसम्म माइतीबाट कोही पनि भेट्न नआएकोमा दिक्दार मान्दै विरहका गीत गाउँथिन् । 

‘सब चेली प्यारी बाबाका पास, मै चेली कुप्यारी चौगङ्गा पार 

बास बास कपु चडी (कोइली चरी) मेरा माइती देश,

मेरी इजु (आमा) सुणली (सुन्लीन) त मेरा भाइ लगाली (पठाउलिन्) ।’

आफ्नो विवाहपश्चात् भाइ जन्मिएको कुरा गोरीधानाले सुनेकी थिइन् । यसरी अचानक यति अन्तराल (१२ वर्षपछि) मा आफ्नो भाइ सदेउ बालालाई आफ्नोसामु देखेर दुवै दिदीभाइ ढोगभेट नगरी अङ्कमाल गरेर रुन थालेछन् । यो सबै दृश्य परबाट गोरीधानाकी नन्द भागाले हेरिरहेकी थिइन् । भागाले दिदीभाइको भेटलाई अनेक शङ्का उपशङ्का गरी आफ्ना दाइलाई व्याख्या गरिन् । भाइले दिदीको घरमा राति बास नबसेर तुरुन्त घर फर्कनुपर्ने र सदेउले आफ्नो भिनाजुलाई ढोग्न बिर्सेकाले पनि शङ्कामा थप वृद्धि भएको कथन पनि छन् । बहिनीको कुरा सुनेर कालीनागले आफ्नो रिसको वेगलाई थाम्न सकेनन् र भिनाजु सालाबिच झगडा भयो । त्यसै झगडामा दुवैले ज्यान गुमाए र गोरीधानाले पनि आत्महत्या गरिन् । यसरी भएको दुःखद घटनाले छोरीलाई भेट्ने अनिवार्यताको रूप लियो, जुन आजसम्म कायम छ । यसै सन्दर्भलाई जोडेर नन्द र भाउजूको सम्बन्धलाई तिक्तताको दृष्टिले अहिले पनि हेर्ने गरिएको हामी देख्छौँ । यसप्रकार कुरा लगाएर र अनावश्यक शङ्काले दुई घर रित्तियो । 


‘चैत कि तिमली (अँजीर) इजु चैत कि तिमली कति भए तिता (काँचो अँजीर तितो हुन्छ),

भलो गरेइ भागा बैना दुएइ (दुवै) घर रित्ता’

यसप्रकार १२ वर्षसम्म माइतीसँग भेटघाट नभई बसेकी चेलीले अन्त्यमा आफ्नो श्रीमान् र भाइ दुवैलाई गुमाइन् । त्यसैबेलादेखि नै प्रत्येक वर्ष चैत महिनामा छोरीचेलीलाई भेट्ने परम्परा चल्दै आएको मान्यता छ । किनभने यो घटना चैत महिनामा भएको थियो । केही पारम्परिक तथ्य पत्ता लगाउनेव्रmममा जस्तै चैतमा किन चेली त्योहार मनाइन्छ र डोटीतिर किन माघको महिना रोजियो त ? चैतमा दिनहरू पट्यारलाग्दा हुन्छन् । खेतीपातीले गाउँघरमा फुर्सदिलो समय रहन्थ्यो । आजको जस्तो सहज थिएन, ऊ बेलामा छोरीहरूलाई माइती जान र भेट्न । कुनै चाडपर्वको पर्खाइ रहन्थ्यो । घरपरिवार संयुक्त हुन्थ्यो । सबैको मन चित्तले व्यवहार बनाउनुपथ्र्याे । सहजै भेटघाटको अवसर जुटाउन सकिँदैनथ्यो । माइतीघर र आमाबुवाबाट टाढा, शिक्षाको कमी र पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलामा कुण्ठाको भावना विस्तार हुनु स्वाभाविक थियो । सुक्खा मौसम, नयाँ पालुवाले बिरुवालाई झकमक्क पारेको, कोइली र न्याउलीको गुञ्जन, लालीगुराँस र काफलले वनपाखा राताम्मे भए पनि निराश हावाले छोरीचेलीलाई माइतीको सम्झनाले व्याकुल बनाउँथ्यो र सिर्जना हुन्थ्यो विरहका गीतहरू:

‘जन वासै न्याउली चैतकी मुइ सोराई लागि माइतकी,

डाँडाभरि बुरौज (गुँरास) फुल्यो, 

चैतेको मैना कब ल्याला दाजी भेटौलो आस मै छ तमरी बैना’ 

यस्ता शब्दहरूले गाउँ, वनपाखा गुञ्जायमान हुन्थे । चैतालो चैत १ गतेदेखि मसान्तसम्म राम्रो दिन बार (शनिबार र मङ्गलबारबाहेक) हेरेर पु¥याउने चलन छ । भेट्न आएका दाजुभाइलाई छोरीचेलीले पनि टीका लगाउने र केही खानेकुरा खुवाउने चलन छ । जसलाई सुदूरपश्चिमको भाषामा ‘मुख विटाल’ भनिन्छ । आफ्ना माइतीसँगको पातलो भेटघाटले यस महिनामा दाजुभाइ, आमा भेट्न आउने अनिवार्यताको व्याकुलतालाई आज पनि मनन गरी अनुमान गर्न सकिन्छ । जुनसुकै उमेरका महिला हुन्, भेटौलोको महìव र प्रतीक्षामा एकनासको स्वभाव आज पनि उत्तिकै जोशिलो सुदूरपश्चिम समाजमा देख्न सकिन्छ ।

चैतालोमा गहुँको पीठोको पिँजरी, खजुरी (ठेकुवा) लिएर जाने चलन छ । आजभोलि आधुनिकता र सुविधाले खानाको विभिन्न परिकार, लुगा, मिठाइ, दक्षिणा लिएर भेट्न जाने चलन छ । पहिले गाउँघरमा भेटौलो आए भने आज एउटा र भोलि अर्काे घरबाट भेटौलो खान पाइन्थ्यो । भेटौलो बाँडेर खाएमा माइतीमा सुख, समृद्धि भित्रिने जनविश्वास मानिँदै आएको सामाजिक परिवेश आज पनि अटल छ । त्यसैले भेटौलो त्योहार (चाड) ले गाउँको वातावरणै उत्सवमय हुन्थ्यो । अर्काेतर्फ डोटीमा माघको महिनामा छोरी चेलीलाई डाक्ने चलन छ । चिसोयाममा गुलियो चिल्लोको पौष्टिकतालाई महìव दिई सेलरोटी, अनरसा, निसोसे 

(चामलको पीठो, नौनी र दही मिसाएर बनाइन्छ, जसलाई पहाडी केक पनि भनिन्छ) लिएर छोरीहरू भेट्न जाने र नजिक भएको छोरीचेलीलाई खानका लागि डाक्ने परम्परा छ ।

आजका चेलीबेटी विवाहपश्चात् पनि आफ्ना दाजुभाइ, आमाबुवासँग बढी नजिक छन् । आवतजावतको सुविधा, छोरीलाई पनि छोरासरह गरिएको लालनपालन, शिक्षा, ढिलो विवाह, सञ्चारको सुविधा आदिले पहिले जस्तो वर्षको एक÷दुई पटक माइती भेट्न कुर्नुपर्ने बाध्यता छैन । यी महिनाहरूलाई आफ्नो महिना ठानेर कोसेली र भेटघाटको पर्खाइले उत्सुकता बढाएको आज पनि उत्तिकै देख्न पाइन्छ । हुन पनि किन नहोस्, आफू जति सम्पन्न भए पनि माइतीबाट विशेष आफ्नानिम्ति आएका प्रियजन र कोसेली प्रत्येक चेलीका लागि अनमोल हुन्छन् । यी महिनाहरूको भेटघाटको व्याकुलता, पर्खाइ र पूर्णता यस्तै प्रत्येक चेलीले सदैव प्राप्त गरिरहून् । 

Author

दीपा भट्ट