प्रेम अधिकारी
पशुपतिनगर(इलाम), चैत २९ गते । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदूत इलामको अन्तु आउने भए पछि अन्तु र कन्याम सिङ्गारिएको छ ।
परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत यहि चैत ३१ देखि वैशाख १ र २ विभिन्न देशका राजदूत अन्तु आउने भए पछि नगरपालिकाले अन्तु कन्यामको सरसफाइसहित सिङ्गारने काम भइरहेको हो ।
मन्त्रालयले वार्षिक रूपमा विभिन्न देशका नेपालमा रहनु भएका राजदूतलाई नयाँ वर्षको अवसरमा नयाँ पर्यटकीय गन्तव्यमा भ्रमण गरायने कार्यक्रम अनुसार यसपटक सूर्योदय नगरपालिकाको अन्तुमा र कन्याममा कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उक्त कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा, मन्त्रालयका सचिवसहितका कर्मचारी, टुरिजम बोर्डका कर्मचारी, राजदूतसहित ४५ जनाभन्दा बढी उच्च तहका पदाधिकारीको सहभागिता रहने छ ।
परराष्ट्र मन्त्री डा. राणासहित राजदूत आउने तय भए पछि यतिबेला कन्याम र अन्तुको सरसफाइसँगै सिङ्गार्ने काम भइहरको छ ।
कन्याममा ३१ गते राजदूतको स्वागतसँगै चियाको स्वाद चखाने र घोडचढी गर्ने कार्यक्रम राखिएको छ । वभिन्न जातजातीको भेषभुषामा सजाएर राजदूतलाई छिपिटारसम्म घोडामा चढाएर लगिने नगरपालिकाले जनाएको छ । ४० बढी घोडा राजदूतको स्वागतमा घोडचढी गराउनका लागि तयार गरीएको छ । उक्त अवसरमा कन्याममा निर्माण भएको चिया परीक्षण केन्द्रमा विभिन्न प्रकारका चियाका स्वाद राजदूतसहितका पाहुनालाई चखाउने कार्यक्रम नगरपालिकाले तय गरेको छ ।
राई, लाप्चा र नेवारी नृत्यसहित साकेला नाच, झाक्री नाचले स्वागत गर्दै अन्तु लगेर वैशाख १ गते सूर्योदयको दृश्यावलोकन गर्ने, चिया टिपाईको अनुभव गराउने, अन्तु पोखरीमा फिसिङ(माछा मार्ने) गराउने र इलाममा उत्पादन भएको चियाका विभिन्न जातको परीक्षण गराउने कार्यक्रम छ ।
कार्यक्रममा इजिप्ट, दक्षिण कोरीया, युके, स्वीटजल्याण्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रेन्स रिपब्लिक, इजरायल, जापान, मलेसीया, श्रीलङ्का, बङ्गलादेश र इसीमोडका राजदूत आउने कार्यक्रम तय भइसकेको नगरका आर्किटेक इन्जिनियर सिर्जन गदालले जानकारी दिनुभयो ।
नगरले राजदूतसहितको टोली आउने भए पछि नगर उपप्रमुख दुर्गा कुमार बरालको संयोजकत्वमा मुल समारोह समिति गठन गरी विभिन्न उप समिति बनाएर स्वागत सत्कारका लागि तयारी गरिरहेको छ । नगर उपप्रमुख बरालले पाहुनाको स्वागत सत्कारमा सरसफाइदेखि स्वागत सत्कारका विभिन्न तयारी भइरहेको जानकारी दिनुभयो । अन्तु क्षेत्रमा स्थानीयको सङ्घ संस्थाको सहयोगमा सरसफाइसहितका कार्यक्रम भइरहेका छन् ।
स्वदेशी तथा विदेशी पर्यटकको बाह्रै महिना भिड लाग्ने अन्तु र कन्याममा राजदूतको भ्रमणले थप प्रचारमा सहयोग पुग्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘राजदूतको यो भ्रमणले अन्तु , कन्यामसहितका पर्यटकीय स्थलको थप प्रचार प्रसार हुने छ ।’’ नगर प्रमुख राईले राजदूतको उक्त भ्रमणले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन भ्रमण वर्ष सफल पार्न समेत सहयोग पुग्ने बताउनुभयो । राजदूतको उक्त भ्रमण अनौपचारिक भएको नगरपालिकाले जनाएको छ ।