• २ असार २०८२, सोमबार

नमुना विद्यालयकै नतिजा कमजोर

blog

घोराही समाचारदाता 

घोराही, चैत २८ गते । घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नतिजा कमजोर देखिएको हो ।

शैक्षिक सुधार तथा विकासका लागि घोराही उपमहानगरपालिकाले दुई वर्षअघि ‘एक वडा, एक नमुना विद्यालय’ बनाएको थियो । नमुना विद्यालय बनाएको दुई वर्ष बितिसक्दा पनि नतिजा कमजोर देखिएको छ । नमुना विद्यालय अन्तर्गत रहेको घोराही–१८ को अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीको उत्तीर्ण नतिजा शून्य छ । 

शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा कक्षा ८ को परीक्षामा २२ विद्यार्थी सहभागी भए पनि कुनै पनि उत्तीर्ण हुन सकेनन् । त्यसै गरी वडा नं. १९ को भगवती मावि होडबाङबाट २.७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । वडा नं. ४ को आधारभूत विद्यालय सुनपुरमा पाँच प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । 

वडा नं. १ को आधारभूत विद्यालय सिमलतारा १०.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने वडा नं. ३ को आधारभूत विद्यालय सरयू भैँसकुर्मामा ११.११ प्रतिशत अर्थात् परीक्षामा सहभागी १८ मध्ये दुई जना मात्र उत्तीर्ण भएका छन् । 

वडा नं. ५ को महेन्द्र आधारभूत विद्यालय दलजितपुरबाट २८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । वडा नं. ८ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्राबाट २८.५७ प्रतिशत, वडा नं. १० को नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राईबाट २० प्रतिशत, वडा नं. १२ को मावि हापुर रतनपुरबाट २४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको सामाजिक विकास महाशाखा प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार वडा नं. १३ को वराहक्षेत्र मावि सेवार वनगाउँबाट १०.८७ प्रतिशत, वडा नं. १४ को बालविकास माविबाट २८.०६ प्रतिशत, वडा नं. १५ को सरस्वती मावि काठेकोहलबाट १२.७३ प्रतिशत विद्यार्थी पास भएका छन् । घोराही उपमहानगरपालिकाले नमुना विद्यालय शैक्षिक सुधारका लागि विशेष लगानीसमेत गर्दै आएको छ । 

चार विद्यालय शून्य 

यसै गरी नमुना विद्यालय एकसहित घोराहीमा चार वटा विद्यालयको नतिजा शून्य छ । कक्षा ८ को वार्षिक परीक्षाको नतिजामा घोराही उपमहानगरपालिका–१६ को सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडा, घोराही–मदरसा दारुल हुँदा अल्सल्फिया आधारभूत विद्यालय र घोराही–७ मा रहेको माता पवित्रा संवेद आधारभूत विद्यालय रहेका छन् । 

सिर्जनशील आधारभूत विद्यालय बाहुनडाँडाबाट नौ जना, मदरसा दारुल हुँदा अल्सल्फिया आधारभूत विद्यालयबाट छ जना र माता पवित्रा संवेद आधारभूत विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै फेल भएको महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । घोराही उपमहानगरपालिकाले सोमबार सार्वजनिक गरेको नतिजामा कुल विद्यार्थी सङ्ख्या चार हजार ५२६ रहेकामा दुई हजार ४४८ पास भएका छन् ।

सामुदायिकतर्फ दुई हजार १८१ मा ५३४ जना पास भएका छन् भने दुई हजार ३४५ संस्थागतका विद्यार्थीमध्ये एक हजार ९१४ जना पास भएका छन् ।