तिलाचन पाण्डे
तम्घास, चैत २८ गते । दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएका गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को माथिल्लो बस्तीका स्थानीयले यो वर्षदेखि राहत पाउने भएका छन् । लामो समयदेखि खानेपानीकै लागि कुवा पधेँरा धाउँदै आएका स्थानीयले अहिले भने ठोटनेरी खोलाको पानी लिफ्टिङ गरेर माथि ल्याउने काम अन्तिम चरणमा पुगेपछि सास्ती अन्त्य हुने भएकोमा हर्षित छन् ।
खानेपानीकै समस्याका कारण हिउँदमा ट्याङ्करबाट पानी ढुवानी गरेर खान बाध्य भएका स्थानीयले भने उक्त समस्याबाट मुक्ति मिल्ने आशामा रहेको स्थानीय तिलक रानाले बताउनुभयो । ‘एक घर एक धारा’ नभए पनि हाललाई चार/पाँच घरले एक ठाउँमा जम्मा भएर पानी भर्न पाए पनि ठुलै उपलब्धि हुने रानाले बताउनुभयो ।
वर्षायामको समयमा स्थानीय चिदियारको मूलबाट पानी ल्याएर पिउँदै आउने गरे पनि हिउँदको समयमा भने मूल सुकेर समस्या हुँदै आएको स्थानीय ज्ञानु पाण्डेले बताउनुभयो । गाडीबाट पानी ढुवानी गरेर ल्याउँदा एक पटकमा एक हजार पाँच सय रुपियाँ तिर्नुपर्ने भएकाले पानीलाई घिउ जस्तै मान्नु परेको उहाँले बताउनुभयो ।
स्थानीय ७५ वर्षीय तिलादेवी सुनारले झातावास र तोलादीको पानीका मूलमा धाउँदा धाउँदै जीवन जान लागेको गुनासो गर्नुभयो । दशकौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई नेताले निर्वाचनको समयमा भोट बैङ्कका रूपमा मात्रै प्रयोग गर्ने र समस्याको समाधान भने नगर्ने गरेको भन्दै दुःखेसो पोख्दै आएका छन् । खानेपानीकै समस्याका कारण स्थानीयले गाउँ छाड्ने गरेका छन् ।
खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीका प्रमुख सरोज न्यौपानेले उक्त स्थानमा विद्युतीकरणको काम सकिएको र अबको एक हप्तामा माथिसम्म पानी फाल्न सकिने गरी योजना बनाएको बताउनुभयो । अहिलेलाई त्यही भए पनि त्यस स्थानका लागि वरदान साबित हुने भएकाले आगामी वर्ष ‘एक घर एक धारा’ का लागि प्रदेशमा बजेट माग गर्ने बताउनुभयो । यसका लागि राजनीतिक दललगायत सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।