बुटवल समाचारदाता
बुटवल, चैत २८ गते । सेवाग्राहीलाई सहज रूपमा सुविधा पुर्याउने उद्देश्यले बुटवलका विभिन्न वडाबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।
राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेर फोटो खिचाएका सेवाग्राहीले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरे पनि परिचयपत्र नपाएकाले परिचयपत्र बनेर आएसँगै वितरण गर्ने तयारी गरिएको हो । जस अनुसार बुटवलमा ४६ हजार ९८० जनालाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने तयारी पूरा भएको छ । त्यसै गरी एक हजार २६२ विपन्न परिवारलाई गरिब घर परिचयपत्र वितरण गरिने भएको छ ।
रुपन्देही जिल्लामा बुटवलबाट बिहीबारदेखि सुरु हुन लागेको परिचयपत्र वितरणको पहिलो चरणमा बुटवलको वडा नं. २, ३, ४, ५, ७, ८ र ९ सम्मका ४६ हजार ९८० जनालाई राष्ट्रिय परिचयपत्र तथा एक हजार २६२ गरिब घरपरिवारलाई गरिब घरपरिवार परिचयपत्र वितरण गर्न लागिएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरपालिकामा बसेको वडाध्यक्ष, कार्यपालिका सदस्य र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण महाशाखाबाट खटिएका अधिकृतको बैठकले बुटवलमा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले राष्ट्रिय परिचयपत्र वितरणपूर्व बुटवलमा मङ्गलबार दिउँसो आयोजित छलफल कार्यक्रममा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र र गरिब घरपरिवार परिचयपत्र वितरण स्थानीय तहका वडा कार्यालयमार्फत वितरण हुनु स्वागतयोग्य भएको भन्दै त्यसमा सहजीकरण गरिदिन वडाध्यक्षहरूलाई आग्रह गर्नुभयो ।
वडाबाटै राष्ट्रिय परिचयपत्र तथा गरिब घरपरिवार परिचयपत्र वितरण गर्ने व्यवस्था हुँदा जनतालाई सहज हुने भन्दै नगरप्रमुख पाण्डेयले जनतालाई सहज हुने कुरामा सहजीकरण गर्नु जनप्रतिनिधिको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले परिचयपत्र वितरणका क्रममा कुनै समस्या आएमा सम्बन्धित निकायसँग छलफल गरेर समाधान गर्ने पनि बताउनुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले जनताको सहजताका लागि स्थानीय तहमार्फत परिचयपत्र वितरण गर्ने व्यवस्था भएको भन्दै परिचयपत्र वितरणमा जनप्रतिनिधिले सहजीकरण गर्ने बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिन स्वयम् व्यक्ति उपस्थित हुनुपर्ने र परिचयपत्र लिन आउँदा आवेदन फाराम भरेको भर्पाई लिएर आउनुपर्ने तथा त्यो नभए नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने बुटवल उपमहानगरले जनाएको छ ।