टोपलाल अर्याल
रेसुङ्गा, चैत २८ गते । गुल्मीको सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेसँगै अझै नवीनतम काम गर्नुपर्ने चुनौती थपिएको छ । गुणस्तर चिन्ह प्राप्त गर्न विद्यालयमा आधारभूत पक्ष राम्रो भए पुग्छ । तर, अन्तर्राष्ट्रिय गुणस्तर भएको प्रमाणपत्र प्राप्त गर्न अझै महत्त्वपूर्ण ३० सूचक पुरा गर्नुपर्ने भएकाले आफूहरू गम्भीर भएर विद्यालय सुधारको पक्षमा काम गर्ने सिद्धबाबा माविका प्रधानाध्यापक डोर विक्रम श्रीसले बताउनुभयो । अबको सूचकहरू भनेको विद्यालयको भौतिक पक्षसँगै रिजल्टसँग सम्बन्धित भएकाले चुनौतीसँग अवसर पनि रहेको श्रीसले बताउनुभयो । ग्लोबल क्वालिटी काउन्सिल काठमाण्डौले गुल्मी क्षेत्र नं १ का सांसद डाक्टर चन्द्र भण्डारी मार्फत विद्यालयलाई चिन्ह प्रदान गरेको थियो ।
काउन्सिलले दिएका ५० सूचक मध्ये २० वटा सूचकमा काम भएपछि चिन्ह प्रदान गर्ने गरिएको छ । शिक्षा, स्वास्थ्यसँगै स्थानीय तहमा समेत काम काउन्सिलले काम गरिरहेको ग्लोबल क्वालिटी काउन्सिल काठमाडौँको आइएसओ प्रतिनिधि तथा तालिम संयोजक नारायण प्रसाद दवाडीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्हले कामको प्रारम्भ मात्रै हुने भएकाले ८० प्रतिशत सूचक पुरा भएपछि प्रमाणपत्र प्रदान गरिने दवाडीले बताउनुभयो ।
उहाँका अनुसार विद्यालयको सरसफाइ, अग्नि सुरक्षा, प्राथमिक स्वास्थ्य सामग्री, गेट व्यवस्थापन, कक्षा कोठा व्यवस्थापन, विद्यालय र आइएसी लोगोको प्रदर्शन, गुणस्तरको नीति र उद्देश्य, मानव स्रोत व्यवस्थापन नीति, आपतकालिन सम्पर्क नम्बर सार्वजनिक, गुणस्तरीय पाठ योजना तथा सामग्री निर्माणको अवस्थाको मूल्याङ्कन हुने गर्दछ । साथै सफा खानेपानी र कार्यालय व्यवस्थापन प्रारम्भिक सूचक हुन् । आफूहरूले नियमित रूपमा अनुगमन, सीप, तालिम र मार्गदर्शन दिएपछि विद्यालयले प्रमाणपत्रको लागि माग गर्ने दवाडीले बताउनुभयो ।
उहाँले जिल्लामै पहिलो पटक सिद्धबाबा माविले अन्तर्राष्ट्रिय गुणस्तरीय चिन्ह प्राप्त गरेको जानकारी दिनुभयो । बिस २०४३ सालमा स्थापना भएको सिद्ध बाबा माविमा एक हजार ५५० विद्यार्थी रहेका छन् । विद्यालय शिक्षक र स्टाफ गरेर ७० जना रहेको विद्यालयका छन् ।