गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २८ गते । स्थानीय तहले निःशुल्क रूपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न थालेका छन् । १२ कक्षा उत्तीर्ण युवायुवती लाखौं रुपियाँ खर्च गरेर जापान, युरोप, अमेरिका, खाडी मुलुकलगायतमा वैदेशिक रोजगारीमा जान थालेपछि युवालाई स्वेदशमा नै सरकारी सेवामा लाग्न प्रेरित गर्ने उद्देश्यले स्थानीय तहले निःशुल्क रूपमा लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न थालेका हुन् ।
गत आर्थिक वर्षमा ७५३ स्थानीय तहमध्ये करिब दुई सय स्थानीय तहले आयोगको परीक्षाको तयारी कक्षा सञ्चालन गरेको र यस वर्ष पनि ती स्थानीय तहले धमाधम कक्षा सञ्चालन गरिरहेको गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।