• ५ वैशाख २०८२, शुक्रबार

लुम्बिनी र सुदूरपश्चिम जोड्ने चिसापानी पुलको मर्मत गरिने

blog

आगलागीबाट क्षतिग्रस्त चिसापानी पुलको मर्मत गरिँदै । तस्बिर : ज्योति पन्थी

ज्योति पन्थी

बबई(बर्दिया), चैत २७ गते । लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रवेश द्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मत सम्भार सुरु भएको छ । 

बर्दिया र कैलालीको सिमा क्षेत्रमा पर्ने चिसापानी पुलमा गत वर्ष फागुन २८ गते लुम्बिनि प्रदेशबाट सुदुरपश्चिम प्रदेशतर्फ लाइटर बोकेर जाँदै गरेको ट्रक चिसापानी पुलमा पुगेपछि ट्रकमा आगलागी हुँदा पुलमा क्षति पुगेको थियो । कर्णाली नदीमा एउटा पिलरमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएपछि पुलमा जडान गरिएका तारहरूमा समेत क्षति पुगेको थियो । पुलको तारमा जडान भएका १४ वटा स्टे केवलमा क्षति पुगेको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ ।

पुलमा भएको आगलागीको एक वर्षपछि पुल मर्मतको काम सुरु भएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । पुलको मुख्य पिलर नै एउटा छ त्यसमा जडान गरिएका स्टे केवलहरूमा समेत क्षति पुग्यो जसले गर्दा समयमा सामग्री उपलब्ध समेत हुन सकेन तर चाइनिज र अन्य देशका विज्ञसँगको राय अनुसार पुल मर्मतको काम सुरु गरिएको अपरेटर इन्स्टक्चर दिपेन्द्र फुँयालले बताउनुभयो।

पुल मर्मतका लागि विभिन्न किसिमका सामग्रीको आवश्यक्ता भएकाले ती सामग्री नेपालमा समेत नपाइने भएकाले पुल मर्मतमा समय लागेको सडक डिभिजन कार्यालय बाँकेका कार्यालय प्रमुख नरेन्द्र भट्टले बताउनुभयो । पुलमा आगलागी हुँदा १४ वटा स्टे केवलमा क्षति पुगेको थियो पुलको क्षति भएको भागलाई सफा गरेर त्यसमा भएको तारलाई खिया मुक्त गर्ने र पुलको आयु कम हुन नदिने गरी इन्सुलेटर लगाउने गरी काम सुरु गरिएको समेत उहाँले बताउनुभयो ।

गत वर्षको फागुन २८ गते लाइटर बोकेर सुुदुरपश्चिम जाँदै गरेको ट्रक चिसापानी पुलको बिच भागमा पुगे पछि आगलागी भएको थियो आगलागी भएपछि पुलमा क्षति भएको भन्दै केही दिन यातायात समेत अवरुद्ध भएको थियो । पुल मर्मत गर्न करिब १० दिन लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।