विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २७ गते । सिँचाइलाई सहज बनाउन सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकाले किसानको खेतमा बिना मिटर बिजुली पुर्याउने व्यवस्था गरेको छ ।
पालिका क्षेत्रभित्रका कृषि मिटरको शुल्क तिर्दै आएको नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा सिँचाइका लागि छुट्टै ट्रान्सफर्मर र सोसँगै मास्टर मिटरसमेत जडान गरेर बिना मिटर किसानको खेतमा बिजुली पुर्याएकाे हो । योसँगै किसानले व्यक्तिगत रुपमा लिदै आएको कृषि मिटर लिने कार्यको अन्त्य भएको छ ।
नगरपालिकाको २ करोड र विद्युत् प्राधिकरणको २० प्रतिशत लागानीमा ५ वटा ट्रान्सफर्मर र सोसँगै मास्टर मिटर पनि जडान गरिएको नगर प्रमुख विरेन्द्र माझीले जानकारी दिनुभयो । उहाँले ट्रान्सफर्मर सहित मास्टर विद्युतीय मिटर जडान गरिएकोले अब किसानले छुट्टै कृषि मिटर लिनुनपर्ने र प्रत्येक पोलमा क्लिप बोर्ड लगाइएकोले त्यहीबाट मोटर चलाउन सकिने व्यवस्था मिलाइएको बताउनुभयो ।
“कृषि मिटर लिन कम्तिमा किसानलाई ५ हजार सम्म खर्च गर्नु पथ्र्यो र त्यसमा पनि जग्गाधनी पुर्जा लगायतको कागज नभएका किसानले मिटर नै पाउँदैनथ्यो, अब त्यो झन्भट हटेको छ, किसानले मिटर पनि लिनु परेन, शुल्क पनि तिर्नु परेन, मास्टर मिटरमा खपत भए अनुसारको नगरपालिकाले विद्युत् प्राधिकरणलाई भुक्तानी गर्नेछ,” नगर प्रमुख माझीले भन्नुभयो ।
कृषि उपजलाई बढावा तथा किसानलाई निःशुल्क विद्युत् उपलब्ध गराउने पालिकाको नीति कार्यक्रम अनुसार सिंचाईलाई सहज बनाउन पालिकामा अहिलेसम्म ५ वटा ट्रान्सफर्मर जडान गरेर ८ वटा वडाका किसानलाई निःशुल्क विद्युत् उपलब्ध हुने र बाँकी ६ वटा वडामा पनि मास्टर मिटर सहितको ट्रान्सफर्मर जडान गरिने पालिकाको नीति रहेको उहाँले जानकारी दिनुभयो ।
किसानलाई सिँचाइको व्यवस्था मिलाउन नगरपालिकाले पछिल्लो पटक वडा नम्बर ८ योगिनियाँमा १०० केभिएको ट्रान्सफर्मरसहित मास्टर विद्युतिय मिटर जडान गर्दै सञ्चालनमा ल्याएको नगरपालिकाले यसअघि किसानलाई निःशुल्क बिजुली उपलब्ध गराउने नीति अनुसार कृषि मिटरको बिल सङ्कलन गरेर विद्युत् प्राधिकरणलाई भुक्तानी गर्दै आएको थियो ।
नगरपालिकाको वडा नम्बर १ भारदह र वडा नम्बर ४ गङ्गापुरमा यसअघि नै मास्टर मिटर जडान गरिसकेको छ । अहिल सम्म जडान गरिएको ट्रान्सफर्मरबाट वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका करिब ५ हजार किसान लाभान्वित हुने नगर प्रमुख माझीले विश्वास व्यक्त गर्नुभयो ।