• ५ वैशाख २०८२, शुक्रबार

बर्सेनि आगलागीको चपेटामा पर्दै सप्तरी

blog

आगलागी नष्टभएको घर । तस्बिर : विनय कर्ण

विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत २७ गते ।
प्रत्येक वर्ष आगलागीको चपेटामा पर्दै आएको सप्तरीलाई यस वर्ष पनि आगलागीले पिरोलेको छ । यस आर्थिक वर्षको नौ महिनामै आगलागीका कारण ठुलो क्षति भएको तथ्याङ्कले देखाउँछ ।

आगलागीको दुष्टिकोणले हेर्दा निकै सम्वेदनशील मानिएको यो जिल्लामा विगतका वर्षहरू झै यस वर्ष पनि आगलागीको चपेटामा परेर करोडौंको धनमाल जलेर खरानी हुँदा ठुलो क्षति बेहोर्नु पर्‍यो ।

 बर्सेनि फागुनदेखि वैशाख–जेठ महिनाको अवधिमा आगलागीबाट करोडौंको क्षति हुँदै आएको सप्तरीमा यस आर्थिक वर्षको साउनदेखि चैतसम्म मात्रै आगलागीका एक सय ४० वटा घटना भएको छ । अझै हवाहुरीको दुष्टिकोणबाट हेर्ने हो भने वैशाख र जेठ महिना थप आगलागीका घटना हुने सम्भावना रहेको छ ।

जिल्लाका पालिकाहरूको विभिन्न स्थानमा भएको आगलागीको घटनाबाट चार करोड ७६ लाख ३५ हजार सात सय मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीमा घर, गोठ, पशु चौपाया, अन्नपात, लत्ताकपडा, सुनचाँदी र नगद लगायतमा सम्पत्ति जलेर नष्ट भएको छ ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार यस आर्थिक वर्षको साउनमा छ, भदौमा छ, असोजमा चार, कात्तिकमा आठ, मङ्सिरमा २३, पुसमा २८, माघमा १४, फागुनमा २२ र चैत महिनाको हाल सम्ममा २९ गरी कुल एक सय ४० आगलागीको घटना जिल्लामा भएको हो ।

जिल्लाको विभिन्न स्थानमा भएको आगलागीको घटनामा परी ११ जना महिला, चार जना पुरुष र एक जना बालबालिका समेत घाइते भएका छन् ।

यसैगरी, आगलागीबाट ८९ वटा कच्चीघर, ४३ वटा गोठ र दुई वटा पक्की घर जलेर नष्ट हुनुका साथै ९८ वटा पशु चौपायाको मृत्यु भएको छ भने नौ वटा घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँले जिल्लाको विभिन्न स्थानमा भएको आगलागीबाट अहिलसम्म चार करोड ७६ लाख ३५ हजार ७ सय मूल्य बराबरको क्षति भएको बताउनुभयो ।

प्रहरी उपरीक्षक खतिवडाका अनुसार अधिकांश आगलागीको घटना घुरबाट आगो सल्किएर र केही विद्युत् सर्टबाट पनि भएको बताउनुभयो ।

आगलागीका कारण घुर र विद्युत् सर्ट

फागुनदेखि जेठसम्म गर्मी बढ्दै  जाने र अत्यधिक हवाहुरी चल्ने महिना भएकाले यसलाई स्थानीय भाषामा ‘खडमास’ भनिएको छ ।

प्रत्येक वर्ष ‘खडमास’ कै महिनामा आगलागीबाट ठुलो जनधनको क्षति हुँदै आएको भए पनि यस वर्ष जाडो महिनामा २८ वटा आगलागीको घटना हुनुले पनि सर्वसाधारणको लापरबाहीलाई चित्रण गरेको छ ।

लापरबाहीका कारण सप्तरीमा आगलागीको घटनामा वृद्धि हुँदै गएको बताउनुहुन्छ, तिलाठी कोइलाडी गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेश झा ।

उहाँले जाडोयाममा आगो ताप्न घुर बाल्नो र गर्मीमा लामखुट्टे भगाउन घुर बालेर लापरबाही गर्दा आगलागीका घटना बढ्दै गएको बताउनुभयो ।

“अहिले जिल्लामा मुख्य दुई वटा कारणले आगलागी घटना हुन्छ । पहिलो जथाभाबी घुर बालेर सावधानी नअपनाउनु र दोस्रो विद्युत् सर्ट ।’’ झाले भन्नुभयो ।

उहाँले लुज विद्युतीय वाइरिङ्ग र गोठमा बालिने घुरकै कारण  बर्सेनि आगलागीबाट ठुलो जनधनको क्षति हुँदै आएको भए पनि मानिस सचेत नहुनु थप घटना बढेको बताउनुभयो ।

“लापरबाहीका कारण आगलागी जस्ता कृत्रिम विपद्को घटना सृजना हुने र त्यसबाट ठुलो जनधनको क्षति हुने गरेकाले सचेत हुनु आवश्यक छ ।,’’उहाँले भन्नुभयो ।

जिल्लाका ग्रामीण भेगमा अहिले पनि ठुलो सङ्ख्यामा फुसको घर छ । फागुनदेखि जेठसम्म हवाहुरी चल्ने गरेको हुँदा प्रत्येक वर्ष सप्तरीमा आगलागीका ठुलठुला घटनामा करोडौंको क्षति हुँदै आएको विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाइ छ । उहाँले सचेतनामूलक कार्यक्रमहरू मार्फत स्थानीयवासीहरू सचेत बनाउन आवश्यक रहेको बताउनुभयो ।

आगलागीपछिको पुनःस्थापना कठिन
आगलागीबाट पीडित भएका परिवारको पुनःस्थापना गर्न निकै कठिन हुने गरेको बताउनुहुन्छ, धर्मी हल्फा महिला विकास क्लब लालापट्टी सप्तरीका अध्यक्ष सूर्यनारायण यादव । विगत १० वर्षदेखि संस्थाको तर्फबाट मात्रै अग्निपीडितलाई राहत उपलब्ध गराउँदै आउनुभएको उहाँले आगलागीबाट पीडित परिवारको धनमाल जलेर खरानीमा हुँदा फेरि अघिकै स्थितिमा फर्किने काम निकै चुनौतीपूर्ण रहेको सुनाउनु हुन्छ ।

अग्निपीडितलाई राहत दिँदैमा उनीहरूले घरपरिवारका लागि एक–एक गरी जोडेका सियोदेखि सम्पत्तिसम्मको भरपाई गरी पुनःस्थापना हुन वर्षौं लाग्ने गरेको उहाँको भनाइ छ ।

यादवले जिल्लादेखि पालिकासम्मको विपद् व्यवस्थापन समितिले दिने राहतको दायरा बढाउन सुझाव दिनुभयो । “आगलागीबाट बढी क्षति भएका परिवारजनलाई विपद् व्यवस्थापनले पनि अलिक बढी आर्थिक सहयोग गरेर सहानुभूति देखाउनु आवश्यक छ” अध्यक्ष यादवले भन्नुभयो ।