ज्ञानु पंगेनी
मध्यविन्दु, चैत २७ गते । नवलपरासी पूर्व (नवलपुरको) बौदीकाली गाउँपालिका-५ बबकको अर्खलाथरमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय निकै हर्षित भएका छन् ।
स्थानीय आशिष् राना मगरले आफ्नो गाउँमा पहिलो पटक विद्युत् पुगेर बत्ती बलेको देख्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । विद्युत् भएपछि अब धेरै कुरामा सहज हुने भन्दै उहाँले अन्धकारबाट उज्यालोमा बस्न पाइनु नै सबैभन्दा खुसीको कुरा भएको बताउनुभयो । गाउँमा विद्युत् आएपछि अब मोबाइल चार्ज, विद्यार्थीलाई लेख्न पढ्न, टेलिभिजन हेर्न, कम्प्युटर चलाउने जस्ता दैनिक जीवनका महत्त्वपूर्ण काममा सहज हुने उहाँले बताउनुभयो ।
वडा नम्बर ५ का अध्यक्ष खिमबहादुर सारूले विद्युत् आएपछि अब व्यावसायिक रूपमै खेती किसानी गरेर आयआर्जनमा जोडिन समेत मदत पुग्ने बताउनुभयो । ‘अब विद्युतबाट मोटरले पानी तानेर सिँचाइ गर्न सकिन्छ, पानी नहुँदा खेतबारी बाझै थिए, अब त विभिन्न तरकारी, मकै लगायतका खेतीपाती गरेर आम्दानी लिन पाइन्छ,’ सारूले भन्नुभयो । विद्युत् पुगेपछि अब गाउँमा अन्य विकास निर्माणको काममा समेत सहयोग पुग्ने आशा राखेको उहाँले बताउनुभयो ।
वडा नम्बर पाँच बबकको अर्खलाथर टोलमा ६५ घरधुरीमा मङ्गलबार ( हिजो ) मात्रै राष्ट्रिय प्रसारणको विद्युत् प्रवाह भएको हो । भने बुधबार (आज) लुङ्गेलीथर, चितौरेथरमा विद्युत् जडान गर्ने काम भएको छ । त्यसपछि क्रमशः बोझादी, बेसारडाडा र हर्बले गरी यही चैत २९ गते भित्र वडाका सबै १९-५ घरधुरी , तीन वटा सामुदायिक विद्यालय , वडा कार्यालय र फार्म समेत गरी दुई सय घरधुरीमा विद्युत् जडान सम्पन्न गरिने अध्यक्ष सारूले बताउनुभयो ।
विद्युत् जडानका लागि उज्यालो बौदीकाली कार्यक्रम अन्तर्गत सर्भिस केवलमा लागत साझेदारी सँगै मिटर बक्समा बौदीकाली गाउँपालिकाले सतप्रतिशत अनुदान उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो । वडा नम्बर पाँचमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेसँगै अब पालिकाको एउटा ६ नम्बर वडामा मात्रै विद्युत् पुग्न बाँकी रहने ओझाले बताउनुभयो । ६ नम्बर वडामा पनि छिट्टै विद्युत् जडानको काम सम्पन्न गरी उज्यालो बौदीकालीको सपना साकार पार्न आफूहरू लागि परेको ओझाले बताउनुभयो ।