इमान सिं राना
रामपुर (पाल्पा), चैत २७ गते । निस्दी गाउँपालिकामा बाल अधिकार र बालविवाहको बारेमा सचेतना जगाउन वडा तहमा बालमेला सुरु भएको छ । बालबालिकाको प्रतिभालाई प्रस्फुटन गर्न, बालबालिकालाई जागरुक गराउन तथा बालविवाह शून्य बनाउनका लागि वडा नं। २ सहलकोट बाट बाल मेला सुरु गरिएको हो ।
निस्दीमा २०८३ भित्र बालमैत्री स्थानीय शासन लागु गर्न अभियान सञ्चालन हुँदै आएको छ । सोमबार र मंगलबार निस्दी गाउँपालिका–२ को बालहित माध्यमिक विद्यालयमा मिनी बाल मेला भएको हो । वडा भित्रका पाँच सामुदायिक विद्यालयका विद्यार्थीको सहभागीतामा भएको मेला उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले बालअधिकारको संरक्षण गर्नु राज्यको मात्र नभै प्रत्येक सचेत नागरिकको समेत दायित्व रहेको बताउनुभयो । उहाँले सामाज रुपान्तरणका लागि पूर्वाधार विकासमा मात्र नभै शिक्षा र स्वास्थ्यमा पालिकाहरुले विशेष ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बालमैत्री स्थानीय शासन लागु गर्दै गर्दा समाजिक विकासका धेरै सूचकहरुमा महत्वपूर्ण योगदान पुग्ने भएकाले २०८३ भित्र बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न प्रतिवद्ध भएर लागेको बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले पूर्वाधार विकास संगै अझ संवेदशिल सामाजिक विकासमा लगानी बढाउँदै जाने बताउनुभयो । बालमैत्री स्थानीय शासन घोषणाको लागि पालिकाले कार्यक्रम गर्दै आए पनि बालविवाह चुनौति पूर्ण देखिएकाले न्यूनिकरणका लागि सबैले साथ दिन आग्रह गर्नुभयो ।
प्रशासन शाखा प्रमुख अर्जुन खनालले बालमैत्री शासन लागू गर्नका लागि लाग्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । भूमि समस्या समाधान आयोगका जिल्ला सदस्य देविलाल लामिछानेले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न र विद्यार्थीलाई भविष्यको लागि मार्ग देखाउन बालमेलाले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो ।
निस्दी गाउँपालिका शिक्षा शाखा प्रमुख नर बहादुर थापाले गाउँपालिकाले लिएको लक्ष्य हासिल संगै शैक्षिक गुणस्तर कायम राख्नका लागि अग्रसर हुने समय आएको बताउनुभयो। अंशुवर्मा माविका प्रधानाध्यापक पहल सिं सिंजालीले विद्यालय समाजलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने खालका कार्यक्रमहरु आगामी दिनमा पनि सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो ।
निस्दी गाउँपालिका २ का वडा अध्यक्ष फत्ते सिं दर्लामीले गाउँपालिकाको अभियान अन्तर्गत वडालाई २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्य सहित बालबालिकालाई थप सक्रिय बनाउन गत वर्ष देखि वडाले मेलाको आयोजना गर्दै आएको बताउनुभयो ।
बालकल्याण अधिकारी कुश्माखर पाण्डेले पालिकामा बालविवाह न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गर्दै आए पनि चुनौतिको रुपमा देखिएकाले विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार २०७९ सालमा निस्दीमा २७६ जोडीले बाल विवाह गरेकोमा अभियान सञ्चालन पश्चात २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए । २०८१ मा हाल सम्म ८ जोडीले बालविवाह गरे पनि उनीहरुलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रहोबरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाएको जानकारी दिनुभयो ।
वडा नं. २ बाट सुरु भएको बाल मेला यस वर्ष ७ वटै वडामा हुने छ । वडा कार्यालयको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख महिना भित्र कार्यक्रम गरिने बालमैत्री शाखाले जनाएको छ। मेलामा सहभागी विद्यार्थीहरुले पञ्चेबाजा बजाएर बाल हिंसाको अन्त्य, बालविवाह विरुद्ध सचेतना तथा बाल अधिकारको रक्षाका लागि नारा सहितको र्याली निकालेका थिए ।
बालमेलाको अवसरमा बाल विकास देखि कक्षा १० सम्मका विद्यार्थीहरु विच बौद्धिक तथा शारीरिक प्रतियोगिताहरु कक्षा अनुसार भएको थियो । भलिबल, वक्तृत्वकला, चित्रकला, हाजिर जवाफ, हिज्जे, १०० मिटर दौड, सस्वर वाचन, बौद्धिक परिक्षण, मिठाई दौड, हिसाब दौड, चित्र चिनाउने लगाएतका विद्यामा विद्यार्थीले प्रतिस्पर्धा गरेको बालहित माविका प्रधानाध्यापक नवल सिं विरकट्टाले जानकारी दिनुभयो ।
बालमेलाको अवसरमा वडा भित्रका विद्यालयहरुले तयार गरेको शैक्षिक सामाग्री प्रदर्शनी समेत गरिएको थियो । उत्कृष्ट हुन सफल विद्यालय र विद्याथीहरुलाई पुरस्कृत गरिएको थियो । निस्दीमा जनप्रतिनिधि, राजनैतिक दल, विद्यार्थी, शिक्षक, बाल क्लव लगाएतका सरोकारवालाको सक्रियतामा बालविवाह रोक्ने प्रयास हुँदै आएको बताउनुभयो ।