• ४ वैशाख २०८२, बिहिबार

डढेलो नियन्त्रण गर्न वन समूहले सुरु गरे अभियान

blog

फाइल तस्बिर ।

बुटवल समाचारदाता

बुटवल, चैत २७ गते । रुपन्देहीमा गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो तथा आगलागीका घटनाबाट हुन सक्ने क्षति नियन्त्रण गर्न जनचेतनामूलक अभियान सुरु भएको छ । 

सामुदायिक तथा साझेदारी वन समूहहरूले अहिले डढेलो नियन्त्रण, अग्निरेखा निर्माण र डढेलो लागेको अवस्थामा आगो कसरी नियन्त्रण गर्ने भन्ने विषयमा स्थानीय समुदायलाई सचेत बनाउने अभियान सुरु गरेका छन् । अधिकांश वन समूहले अहिले समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । 

यसैबिच रुपन्देहीको कञ्चन सबडिभिजन वन कार्यालय फायरलाइनको आयोजना तथा साझेदारी वन तथा सामुदायिक वन उपभोक्ता समूहहरूको सहयोग तथा समन्वयमा वनडढेलो नियन्त्रण सचेतना अन्तर्गत जनचेतनामूलक र्‍यालीको आयोजना गरिएको छ । 

कञ्चन सबडिभिजन वन कार्यालय फायरलाइनका अधिकृत प्रेमशङ्कर गुप्ताले वनमा डढेलो लाग्न नदिन अझ बढी सचेत हुनुपर्ने आवश्यकतामा जोड दिँदै सामुदायिक र साझेदारी वनले जोखिमको अवस्था हेरेर मौसमी हेरालु राख्न आग्रह गर्नुभयो । उहाँले डढेलो नियन्त्रण अग्निरेखा निर्माण गर्नसमेत अनुरोध गर्नुभयो । 

सालझन्डी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरेन्द्रबहादुर थापाले वननजिकको क्षेत्रमा बसोबास गर्ने जोखिम क्षेत्रका स्थानीय पुरुष तथा महिलालाई तालिम दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तालिम दिएपछि डढेलो कसरी नियन्त्रण गर्ने, के के कुरामा जोड दिने भन्ने कुरा जानकारी हुने भएकाले जोखिम क्षेत्रका स्थानीयलाई तालिम दिनुपर्ने बताउनुभयो । आगलागी भइहालेमा नियन्त्रणका लागि आवश्यक अग्निनियन्त्रकको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै कञ्चन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाले डढेलोबाट वन जोगाउने कुरा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सबैभन्दा महत्वपूर्ण कुरा वनमा डढेलो लाग्न नदिनु नै ठुलो कुरा भएको बताउनुभयो ।  उहाँले यो क्षेत्रमा डढेलो लागिहाले ठुलो वन क्षेत्र भएका कारण समाधानमा समेत चुनौती हुने भएकाले ‘एयर ब्लोर’ मेसिन प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले सबै सामुदायिक वनले ‘एयर ब्लोर’ मेसिन खरिद गर्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रममा कञ्चन र सैनामैना क्षेत्रका सामुदायिक र साझेदारी वनका गरी एक सयभन्दा बढी उपभोक्ताको सहभागिता थियो । सालझन्डीको पिपलडाँडाबाट सुरु भएको र्‍याली कञ्चनको बेलडाँडा, गरगरे हुँदै वन कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।