मर्चवार समाचारदाता
मर्चवार (रुपन्देही), चैत २७ गते । रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ निवासी प्रभु यादव चार वर्षअघि बिउ खरिद गर्न नजिकै रहेको भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । यादव सम्झनुहुन्छ, “बोरामा बिउ लिएर फर्कंदा भारतीय सीमा सुरक्षा बलको ज्यादती धेरै पटक भोगेका छौँ ।”
यस्तै अनुभव कोटहीमाई गाउँपालिका–५ निवासी कृषक सुभाषचन्द्र यादवको समेत छ । यादव पनि गहुँको बिउ खरिद गर्न भारतीय बजारमा पुग्ने गर्नुहुन्थ्यो । “धेरै दुःख गरेर गहुँको बिउ किनेर ल्याएर खेतमा छरिन्थ्यो,” यादव भन्नुहुन्छ ।
गाउँमै नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गहुँ जोनको कार्यक्रम अघि बढाएपछि उल्लेख्य प्रगति भएको छ ।
अहिले मर्चवारका अधिकांश किसानले नेपाली उन्नत जातका गहुँको बिउ प्रयोग गरेर गहुँबाली उत्पादन गरेका छन् । मर्चवारका ५० प्रतिशत किसानले अहिले भारतीय जात छोडेर नेपाली उन्नत जातका गहुँको बिउ प्रयोग गर्न थालेको तथ्याङ्क छ ।
मर्चवारका तीन वटा स्थानीय तह कोटहीमाई गाउँपालिका, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका १६ वटा वडालाई समेटेर करिब तीन हजार हेक्टरमा गहुँ जोन कार्यक्रम २०७८ मा लागु भएको थियो ।
त्यसपछि परियोजनाले कृषकलाई सबैभन्दा पहिला नेपाली उन्नत जातका गहुँको बिउ ५० प्रतिशत अनुदानमा वितरण गर्यो । अनुदानमा बिउ पाएपछि कृषक नेपाली जातका बिउ प्रयोग गरेर गहुँ खेती गर्न अग्रसर भए ।
कृषक प्रभु यादव भन्नुहुन्छ, “भारतीय बिउ प्रयोग गर्दा रोटी मिठै हुँदैनथ्यो तर हामीले जब नेपाली उन्नत जातको बिउ प्रयोग गर्यौँ, स्वादमै परिवर्तन पायौँ । यति मिठो रोटी हामीले जीवनमै अहिलेसम्म खाएका थिएनौँ ।”
परियोजनाले गहुँको बिउ अनुदानमा वितरण गर्ने काम मात्र गरेन, स्थानीय सहकारी नवदुर्गा स्वावलम्बन बहुद्देश्यीय सहकारीसँग सहकार्य गरी करिब दुई सय हेक्टर क्षेत्रफलमा उन्नत बिउ उत्पादन (बीज वृद्धि) कार्यक्रम अघि बढायो । त्यसपछि मर्चवारका १८५ जना किसानले करिब छ सय हेक्टर जमिनमा नेपाली जातका गहुँको बिउ उत्पादन गर्न थाले ।
परियोजनाको सहयोगमा मर्चवारमै पहिलो पटक प्राथमिक प्रशोधन र भण्डारण केन्द्र कोटहीमाई गाउँपालिका–५ मा सञ्चालनमा गरियो । यो प्रशोधन केन्द्र पाँच सय मेट्रिक टन गहुँ भण्डारण गर्न सक्ने क्षमताको छ ।
परियोजना कार्यान्वयन एकाइ कार्यालय रुपन्देहीका प्रमुख नारायण काफ्लेका अनुसार यस क्षेत्रमा आधुनिक यन्त्र उपकरणको प्रयोग गरी बिउ उत्पादन तथा खाने गहुँको उत्पादन भएको छ ।
परियोजनाले किसानको उत्पादन लागत न्यूनीकरण गर्न गहुँ छर्ने सुपर सिड मेसिन, गहुँ काट्ने रिपर, थ्रेसर, कम्बाइन हार्बेस्टर जस्ता आधुनिक उपकरण अनुदानमा सहयोग गरेको छ । सिँचाइको समस्यालाई ध्यानमा राखी परियोजनाले ३० वटा ठाउँमा किसानको स्यालो ट्युबेल अनुदानमा सहयोग गरी यस क्षेत्रको करिब चार सय हेक्टर क्षेत्रफलमा सिँचाइको व्यवस्था पनि गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय गहुँबाली कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत खेमराज पन्त भन्नुहुन्छ, “नेपाली जातको ४२ प्रजातिका गहुँका बिउ रहेका छन् । अहिले नेपालमा छ प्रजातिका बिउ प्रयोगमा छन् तर अहिले पनि भारतीय सीमासँग जोडिएका तराईका जिल्लामा भारतीय जातका गहुँको बिउ प्रयोग हुने गरेको छ ।”