• ४ वैशाख २०८२, बिहिबार

गुल्मी दरबारको बेलपोखरामा मानव कङ्काल फेला

blog

गुल्मीदरवार गाउँपालिका–६ मा मान्छेको कङ्काल भेटिएपछि अनुसन्धान गर्दै प्रहरी टोली । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, चैत २६ गते । गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ को बेलपोखरामा मानिसको कङ्काल फेला परेको छ । बिहान कुकुरले मान्छेको टाउको लिएर डुलेको वडा सदस्य सुन्दर कुवंरले देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । 

सूचना लगत्तै चारपाला प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार तिवारीको कमान्डमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो । प्रहरी र स्थानीयले प्रारम्भिक अनुसन्धान गर्दा कङ्काल स्थानीय ५५ वर्षीय रतन शाहीको भएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । 

शाही विगत दुई महिना अगाडि हराएको, घरमा एक्लै बस्ने गरेको र उहाँकाे मानसिक अवस्था ठिक नभएको सारुले बताउनुभयो । कङ्कालकाे मृतकको छोरा नाता पर्ने केहरसिंह शाहीले पहिचान गर्नुभएको थियो । कालिका वनमा मृतकको कपडा र अस्थिपञ्चर भेटिएको छ । घटनास्थल सुरक्षित गरेर थप अनुसन्धानको प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको छ ।