चितवन समाचारदाता
चितवन, चैत २६ गते । केन्द्रीय अस्पतालका रूपमा रहेर पनि भरतपुर अस्पताललाई सरकारले बजेट विनियोजन गर्दा विभेद भएको गुनासो सरोकारवालाले गरेका छन् । अस्पतालको ६९ औँ वार्षिकोत्सव समारोहमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले केन्द्रीय अस्पताल घोषणा गरे पनि बजेट विनियोजना गर्दा स्तर अनुसारको नभएको बताउनुभयो ।
हरेक वार्षिकोत्सवमा स्थानीय जनप्रतिनिधिदेखि प्रधानमन्त्रीसम्मलाई ल्याएर सुनाउँदासमेत कुनै सुनुवाइ नभएको उहाँले गुनासो गर्नुभएको हो । अस्पतालले स्थापनाकालमा ३१ बिघा जग्गा प्राप्त गरेकोमा अहिले खुम्चिएर १२ बिघामा सीमित हुन पुगेको जानकारी गराउनुभयो । विभिन्न संस्थाका नाममा जग्गा वितरण गर्दा अस्पतालको विकासनिर्माण र अन्य भौतिक सेवा विस्तार गर्न समस्या भइरहेको उहाँको भनाइ छ । उहाँले बिमा सेवामार्फत गरिएको उपचारको ४९ करोड रुपियाँ भुक्तानी नपाउँदा व्यवस्थापन समितिको खाताको रकम सकिन लागेको उल्लेख गर्नुभयो । “बिमाको रकम सरकारले समयमा निकासा गर्दैन । बिरामीलाई सेवा मात्र दिनु भनिरहन्छ । यस्तो अवस्थामा कसरी सेवा दिन सकिन्छ ?” उहाँले भन्नुभयो ।
काठमाडौँको वीर अस्पतालपछि धेरै बिरामीको सेवा र उपचार गर्ने भरतपुर अस्पताल भए पनि यसलाई सरकारले हेर्ने दृष्टिकोणमा सुधार नआउँदा समस्या भएको उहाँको भनाइ छ । २०१३ सालमा स्थापना भएको अस्पतालले विशिष्टीकृत सेवा दिँदै आएको छ ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले गरिबले उपचार गर्न सक्ने गरी अस्पतालको सेवा विस्तार हुनुपर्ने बताउनुभयो । धनी व्यक्तिले जहाँ गएर पनि उपचार गर्न सक्छन् भन्दै उहाँले सरकारी अस्पतालमा गरिब तथा विपन्नले सहज रूपमा उपचार गर्न सक्ने गरी व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले अस्पतालमा भएको विकास र उपलब्धिलाई पार्टीका व्यक्तिले आफूले गरेको भनेर जस नलिन अनुरोध गर्नुभयो । “विकास एक जनाले मात्र गर्न सक्दैन । यो सामूहिक प्रयासबाट हुने भएकाले मैले होइन, हामीले गर्दा भएको भनेर भन्न सकेमा सबैले अपनत्व देखाउने छन्,” उहाँले बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री उत्तम जोशीले विकास गर्नका लागि सबैको सहयोग आवश्यक हुने बताउनुभयो । भरतपुर अस्पतालको विकासले यहाँका बिरामीले मात्र होइन, देशैभरका नागरिकले सेवा पाउने भएकाले सबैको साथ सहयोग आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले अस्पतालको विकास र समस्यामा सबैको साथ आवश्यक रहेको धारणा राख्नुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जनप्रतिनिधिले अस्पातलको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अस्पतालमा अहिले दैनिक दुई हजारभन्दा धेरै बिरामीले ओपिडी सेवा लिँदै आएका छन् । छ सय शय्याभन्दा बढी क्षमतामा अस्पताल सञ्चालनमा छ ।