• २६ चैत २०८१, मङ्गलबार

बाम एकताको खाँचो : पूर्व प्रधानमन्त्री खनाल

blog

नेता झलनाथ खनाल । तस्बिर : गोरखापत्र

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), चैत २५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा बाम शक्तिहरुबिच एकताको खाँचो रहेको बताउनुभएको छ । 

इलामको सूर्योदय नगरपालिकामा सोमबार संचारकर्मीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले जनताका काम गर्न र वैज्ञानिक समाजवाद लागु गर्नका लागि बाम शक्तिहरुबिच एकताको खाचो रहेको बताउनुभएको हो । 

पूर्व प्रधानमन्त्री खनालले बाम शक्तिलाई नयाँ आधारमा एकता गर्नका लागि सिङ्गो कम्युनिष्ट पार्टीबिच पुर्नगठित गरेर एकता गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेताले एकता नरुचाए पनि जनताले कम्युनिष्ट पार्टी बिच एकता चाहेका छन्,’ उहाँले पुजीवादी जनवादले जनताका समस्या समाधान गर्न नसक्ने बताउदै बैज्ञानिक समाजवादको आवश्यक्ता रहेको बताउनुभयो । 

उहाँले नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसका अहिले नेतृत्व गरीरहेका नेताबाट बाम शक्ति एकता हुन नसक्ने भएका कारण नयाँ नेतृत्व सहित बाम एकता गर्न सकिने बताउनुभयो । पूर्व प्रधानमन्त्री खनालले नीति सिद्धान्तका आधारमा एमालेसंग कार्यगत एकता समेत हुन सक्ने बताउनुभयो । 

खनालले नेकपा एकीकृत समाजवादी समेत पार्टीको नीति र बिधान अनुसार चल्न नसकेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारले जनताका काम गर्न नसकेको बताउदै दलहरुबिचको बेमेलका कारण गणतन्त्र कमजोर भएको बेला राजवादी सलबलाउन थालेको बताउनुभयो । 

पूर्व प्रधानमन्त्री खनालले नेपालमा संबैधानिक राजा फर्कने कुनै आधार नरहेका कारण राजावादी आन्दोलन र राजा फर्कने भ्रममा नर्पन समेत आग्रह गर्नुभयो । खनालले सूर्योदय नगर कमिटिले आयोजना गरेको कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र आगामी रणनीति बारे अगुवा कार्यकर्तालाई प्रशिक्षण समेत दिनुभएको छ ।