• २३ चैत २०८१, शनिबार

छापा पत्रकारिताको डिजिटल भविष्य

blog

सूचना तथा प्रविधिको युगमा छापा पत्रकारिताको भविष्य पनि डिजिटल रूपान्तरणमा निर्भर भइसकेको छ । विश्व परिदृश्य अनुसार अब नेपाली छापा पत्रकारिताको पनि व्रmमिक गन्तव्य त्यही डिजिटल स्वरूप हो । निश्चय पनि भौतिक स्वरूपका अखबार एवं म्याग्जिनको सट्टा मोबाइल, ट्याब्लेट र कम्प्युटरमा समाचार पढ्न रुचाउने पाठक दिनानुदिन बढ्दै छन् । नीतिगत रूपबाटै छापा मिडियाले सामाजिक सञ्जालमार्फत आफ्नो समाचारको स्रोत आमडिजिटल प्लेटफर्ममा प्रसार गर्न सक्नु पर्छ ।

सूचनाको खेती गर्ने पत्रकारको पेसा नै पत्रकारिता हो । पत्रकारितामा सूचना सङ्कलन, सत्यापन र सार्वजनीकरण गर्ने अभ्यास हुन्छ । सबैलाई सत्य, निष्पक्ष, सन्तुलित एवं विश्वसनीय समाचार सम्प्रेषणमार्फत पत्रकारितामा जनउत्तरदायी भूमिका निर्वाह गर्ने प्रयत्न भइरहन्छ । सूचनाजन्य समाचारसँगै यसले घटनाको विश्लेषण र विवेचनात्मक टिप्पणीलाई पनि समेट्ने गर्छ । पत्रकारिताको पहिचान सूचना, शिक्षा, मनोरञ्जन र सामाजिक उत्प्रेरणाको प्रवर्धनसमेत हो । यसले राज्यको ‘चौथो अङ्ग’ का रूपमा रहेर व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई निरन्तर निगरानी गर्ने ‘वाच डग’ को भूमिका निर्वाह गर्छ । छापा, प्रसारण र अनलाइन पत्रकारितामार्फत जनताको सुसूचित हुन पाउने नैसर्गिक हकको रक्षार्थ अहम् भूमिका निर्वाह हुँदै आएको छ । अनलाइन पत्रकारिताको केन्द्रीयतामा छापा पत्रकारितालाई समेत डिजिटल भविष्यमा जोड्ने अभ्यास दिनानुदिन बढाउनु अपरिहार्य हुँदै छ ।

छापा पत्रकारिताको उन्नयनमा सामाजिक सञ्जाल नै प्रमुख आधारशिला बन्ने स्पष्ट छ । यसले विश्वव्यापी रूपमा मानिसलाई सञ्जालमा जोड्ने सन्दर्भमा सबैभन्दा बढी सूचना प्रवाह गरिरहेको भेटिन्छ । यस्तै आफ्ना विचार अरूमाझ साझा गराउने, व्यापार प्रवर्धन गर्ने र मनोरञ्जन प्राप्त गराउने विषयमा पनि सामाजिक सञ्जालको बढी प्रयोग हुने गर्छ । मानव जीवनको पर्याय बन्दै गएको सामाजिक सञ्जाललाई विश्वसनीय ढङ्गबाट छापा पत्रकारितामा जोड्नु युगीन आवश्यकता मात्र नभई नवीन चुनौतीसमेत बनिरहेको छ ।

वर्तमान अवस्था 

विश्व इतिहास पल्टाएर हेर्ने हो भने पत्रकारिताको जग बसाल्ने काम छापा पत्रकारितामार्फत भएको पाइन्छ । यसपछि व्रmमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताको उन्नयन भएको हो । नयाँ प्रविधिको विकाससँगै अहिले पत्रकारिताको प्रणेता मानिने स्वयम् छापा पत्रकारिता ओझेलमा पर्दै छ । उसलाई प्रविधिको तीव्रतर विकासले थप विश्वव्यापी रूपमा चलायमान बनाउन मार्ग प्रशस्त गरेको आभास हुन्छ । परम्परागत छापा पत्रकारिताको ठाउँमा अहिले अनलाइन पत्रकारिता मौलाइरहेको छ । इन्टरनेटको प्रयोगमार्फत हुने डिजिटल पत्रकारिताले जति लोकप्रियता हासिल गरेको छ, त्योभन्दा बढ्ता सामाजिक सञ्जालको प्रयोगमा आमनेपाली अभ्यस्त भइरहेको पाउँछौँ । अहिले सामाजिक सञ्जालको प्रयोगमार्फत नै ‘नागरिक पत्रकारिता’ को अवधारणा विकास हुन पुगेको छ । 

नेपाली पत्रकारितामा समेत छापा पत्रकारिताको प्रभाव घट्दो छ । अखबार तथा म्याग्जिनसम्बद्ध सामग्री उत्पादन, छपाइ र वितरणमा धेरै चुनौती थपिएका छन् । यिनै चुनौतीले गर्दा अहिले देशभरबाट प्रकाशन भइरहेका कैयौँ अखबार बन्द भइरहेका छन् भने कतिपय बन्द हुने स्थितिमा देखिन्छन् । प्रकाशन भइरहेका अखबारको पनि पहिलेको जत्तिकै पृष्ठ सङ्ख्या पाइँदैन । देशका ठुला भनिएका अखबारले पनि पृष्ठ सङ्ख्या घटाउँदै मूल्य बढाउनुपर्ने बाध्यता बहन गरिरहेका छन् । म्याग्जिनको पनि उस्तै हबिगत छ । जसोतसो नियमित प्रकाशन भइरहेका पत्रिका पनि पाठक घट्दै गएका कारण नोक्सानी बेहोर्न बाध्य छन् । ठुला आकारमा रङ्गीन स्वरूपमा प्रकाशन हुने अखबार अहिले सादा (श्यामश्वेत) रङमा देखिन्छन् । केही दैनिक पत्रिकाले त हप्तामा एक दिनको अङ्क नै प्रकाशन बन्द गर्ने गरेको पाइन्छ । केन्द्रीय राजधानीभन्दा बाहिरका प्रमुख सहरबाट क्षेत्रीय संस्करण प्रकाशन गर्दै आएका कैयाँै राष्ट्रिय स्तरका दैनिक पत्रिकाले समेत उक्त संस्करण कटौती गर्दै छन् । यस्तो ‘निर्मम नियति’ भोग्दै नेपाली छापा पत्रकारिताले अहिले आफ्नो अस्तित्व र पहिचान रक्षार्थ ‘बहुपक्षीय लडाइँ’ लडिरहेको छ ।

सामाजिक सञ्जालको प्रभाव

सामाजिक सञ्जाल भनेको डिजिटल प्लेटफर्म तथा प्रविधि हुन् जसले प्रयोगकर्तालाई अनलाइन सामग्री उत्पादन, साझेदारी, प्रसार र अन्तव्रिर्mया गर्न सक्षम बनाउँछ । यी प्लेटफर्महरूले सञ्चार, नेटवर्किङ, मनोरञ्जन र सूचनाको आदानप्रदान गर्न सहयोग गर्छन् । सामाजिक सञ्जालमा विभिन्न प्रकृतिका एप्लिकेसन रहेका छन् । यिनमा फेसबुक, लिन्क्डइन जस्ता व्यक्तिगत तथा व्यावसायिक नेटवर्किङका सामाजिक साइटसँगै ट्वुइटर, थ्रेड्स जस्ता द्रुत गतिमा अद्यावधिक हुने र छलफल गर्न प्रयोग गरिने माइव्रmोब्लगिङ प्लेटफर्महरू पर्छन् । फोटो र भिडियो सेयर गर्न अब्बल मानिएका इन्स्ट्राग्राम, टिकटक, युट्युब जस्तै छलफल र ज्ञान आदानप्रदानका लागि बनाइएका रेडिट र क्वोरा जस्ता प्लेटफर्म छन् । व्यक्तिगत वा सामूहिक रूपमा कुनै पनि सन्देश, फोटो, भिडियो आदि पठाउन प्रभावकारी मानिएका वाट्सएप, भाइबर जस्ता मेसेजिङ एप्लिेकसन पनि नेपाली समाजमा प्रचलित छन् । यी विभिन्न एप्समध्ये पनि आमसर्वसाधारणले बढीभन्दा बढी प्रयोग गर्नेमा फेसबुक, युट्युब र टिकटक देखिन्छन् । 

प्रसारण र अनलाइन पत्रकारिताको सापेक्षतामा निकै ओझेलमा परेको छापा पत्रकारितालाई सामाजिक सञ्जालले अझ बढी तरङ्गित तुल्याएको छ । सामाजिक सञ्जालको प्रभावमा छापा पत्रकारिताले स्वपहिचान जोगाई प्रवर्धनका लागि पर्याप्त आधार भेट्टाए पनि आशातीत सफलता चुम्न सकेको छैन । साक्षर पाठकलाई अनलाइन पत्रकारितामार्फत पाइने तात्कालिक निःशुल्क सामग्रीले जति प्रभावित तुल्याइरहेको छ, त्यति नै सामाजिक सञ्जालको प्रभावले आव्रmान्तसमेत बनाइरहेको छ । 

छापा पत्रकारितामा सामाजिक सञ्जालको प्रयोगले ‘भौतिक र अभौतिक’ बिचको सम्बन्ध जोड्ने काम गर्छ । खासमा पत्रपत्रिका तथा म्याग्जिन आदि प्रकाशन गरेर भौतिक स्वरूपमा वितरण गरिन्छ । अहिलेको सामाजिक सञ्जालको दुनियाँमा भौतिक स्वरूपमा अखबार, म्याग्जिन आदि किनेर पढ्ने पाठक निकै कम पाइन्छन् । यसर्थ अब भने छापा पत्रकारितालाई पनि सामाजिक सञ्जालमार्फत प्रवर्धन गर्नुपर्ने युगीन आवश्यकता खड्किँदै छ । यसका लागि सबै जसो पत्रपत्रिका तथा म्याग्जिनले अनलाइन संस्करण सार्वजनिक गर्नुपर्ने हुन्छ । ती अनलाइन संस्करणको लिङ्क सामाजिक सञ्जालमा समूहगत रूपमा सम्प्रेषण गर्दा सम्बन्धित समाचारमा सञ्जाल प्रयोगकर्ताको सहज पहुँच पुग्छ । 

आज सुदूर क्षेत्रका गाउँदेखि ठुला सहरसम्ममै सामाजिक सञ्जाल प्रयोग गर्नेको सङ्ख्या ह्वात्तै बढिरहेको पाइन्छ । सामाजिक सञ्जालमा विभिन्न मिश्रित प्रकृतिका सूचना र मनोरञ्जनात्मक सामग्री पाइने गरेको छ । त्यसो त विभिन्न भ्रामक अनलाइनका लिङ्क, प्रचारमुखी सामग्री सम्प्रेषण र आधारहीन युट्युबका सामग्रीले धेरैजसोलाई रनभुल्लमा समेत पारिरहेको पाइन्छ । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नसक्दा धेरैले बेहोर्नु परेको दुःख र हैरानीलाई बयान गर्न सकिँदैन । यस्तो अवस्थामा सही तरिकाबाट सामाजिक सञ्जाललाई आधार बनाएर स्वच्छ पत्रकारिताको विकास र उन्नयनमा सम्बद्ध पक्षले विभिन्न तौरतरिका अपनाउन सक्नु पर्छ । सामाजिक सञ्जालको प्रयोगमार्फत विद्युतीय र अनलाइन पत्रकारिता मात्र नभई छापा पत्रकारिताको प्रवर्धन गर्न सकिन्छ ।

मिडिया साक्षरता कार्यक्रम

छापा पत्रकारिताको उन्नयनका लागि सामाजिक सञ्जाल प्रत्यक्ष एवं परोक्ष रूपमा जोडिरहेको अवस्थामा यसलाई सही तरिकाबाट उपयोग गर्ने ‘मिडिया साक्षरता’ का कार्यव्रmम सञ्चालन गरिनु पर्छ । मिडिया साक्षरताले नै मिडियामार्फत प्रस्तुत सन्देश वा जानकारी बुझ्न, विश्लेषण गर्न र उचित प्रतिव्रिmया दिन सक्षम बनाउँछ । आज पनि सामाजिक सञ्जालमार्फत विभिन्न तरिकाबाट धेरै दुष्प्रचार भइरहेको छ । यसलाई रोक्न पत्रकार आफैँ जागरूक हुनुपर्ने युगीन आवश्यकता बनेको छ । समाजका सही मार्गदर्शक र सत्य सूचनाका संवाहकसमेत मानिएका पत्रकारले यस्तो कुप्रचारलाई रोक्न त्यही सामाजिक सञ्जाललाई विवेकपूर्ण प्रयोग गर्नुको विकल्प छैन । सञ्जाल प्रयोगकर्तालाई ‘यो विषयवस्तु पत्रकारिताको आधिकारिक न्युज पोर्टलको हो र यो होइन’ भनी पहिचान गर्न सक्ने अवस्थामा पु¥याउने जिम्मेवारी स्वयम् पत्रकारकै बनेको छ । 

कतिपय पत्रकारले समाचारमा आउनुपर्ने विषय पहिले नै सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको पाइन्छ । यस्तै समाचारको पूर्ण विवरण नै ‘फेसबुक स्टाटस’ को रूपमा सम्प्रेषण गर्ने परिपाटी पनि मौलाउँदो छ । कुनै न्युज पोर्टल वा मिडियाबिना नै सामाजिक सञ्जालमा ‘आधिकारिक समाचार’ पढ्न पाइन्छ । यस्ता दृष्टान्तले आधिकारिक समाचार पोर्टलको महìव घटाई पत्रकारितामाथिको विश्वसनीयतामा प्रश्नचिह्न खडा गरेका छन् । सामाजिक सञ्जालमा धेरै ‘लाइक’ र ‘भ्यु’ पाउने आशामा पनि कतिपय असम्बन्धित व्यक्तिका तस्बिर, अश्लील प्रकृतिका फोटो एवं दृश्य सम्प्रेषण हुने गरेको छ । अप्रामाणिक विषय सन्दर्भले सामाजिक सञ्जालमार्फत समग्र पत्रकारितालाई बद्नाम गराउँछ । आकर्षक शीर्षक दिने र हुँदै नभएको पत्रिकाको वेबसाइट डिजाइन गरी भ्रमको खेती गर्ने गिरोह पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पाइन्छन् । मिडिया साक्षरता नभएको व्यक्तिले त्यही भ्रमित समाचारलाई सत्य ठानी खास पत्रकारितालाई बुझ्न सक्दैन । उसले सामाजिक सञ्जाल प्रयोगकर्तालाई नै पत्रकारको रूपमा बुझ्ने गर्छ । यसर्थ मिडिया साक्षर व्यक्तिले पत्रकारिताको स्वरूपमा आउने भ्रामक सूचनाका स्रोत पहिचान गरी नियमनकारी निकायमा उजुरी गर्ने परिपाटी सुरुवात गर्नु पर्छ । अनर्गल प्रचार गर्ने गरी आएका मिडियालाई सामाजिक सञ्जालमार्फत नै सुधारका लागि मार्गनिर्देश गर्नुपर्ने हुन्छ । 

डिजिटल भविष्यको खोजी 

सामाजिक सञ्जालमार्फत छापा पत्रकारिताको उन्नयनका लागि डिजिटल भविष्यको खोजी गर्नुपर्ने भएको छ । समाचार सम्प्रेषणमा सनातनी विधिको सट्टा सामाजिक सञ्जालमार्फत पत्रकारितालाई द्रुत, थप प्रभावकारी, बढी जनउत्तरदायी र सबैमा पहुँचयुक्त बनाउनुपर्ने आवश्यकता देखिन्छ । दैनिक, साप्ताहिक, अर्धसाप्ताहिक वा मासिक नै किन नहोऊन् सबै प्रकारका अखबार एवं म्याग्जिनलाई तुरुन्तै पिडिएफमार्फत सामाजिक सञ्जालमा अद्यावधिक गरिहाल्नु पर्छ । प्रत्येक अखबार एवं म्याग्जिनमा आएका सामग्रीको लिङ्कलाई तिनै सञ्जालमार्फत समूहगत रूपमा लाइक, सेयर एवं कमेन्ट गर्दै आमजनमानसमा पु¥याउनु पर्छ । समाचारको छरितो प्रवाहमा ट्विटर, फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता प्लेटफर्मलाई बढीभन्दा बढी प्रयोग गर्ने संयन्त्र विकास गरिनु पर्छ । आमजनताको सहभागिता बढाउन ‘पाठक आवाज,’ ‘सम्पादकलाई मेरो भनाइ’ जस्ता फोरम विकास गरी अघि बढ्नुपर्ने हुन्छ । अनलाइन स्रोतहरू, डिजिटल अभिलेखहरू र सामाजिक सञ्जालमा आएका सूचनाका आधारमा समाचारको स्रोत पहिचान गरी खोज पत्रकारितालाई नयाँ उचाइ दिनुको विकल्प देखिँदैन । 

अतः सूचना तथा प्रविधिको युगमा छापा पत्रकारिताको भविष्य पनि डिजिटल रूपान्तरणमा निर्भर भइसकेको छ । विश्व परिदृश्य अनुसार अब नेपाली छापा पत्रकारिता पनि क्रमिक गन्तव्य त्यही डिजिटल स्वरूप हो । निश्चय पनि भौतिक स्वरूपका अखबार एवं म्याग्जिनको सट्टा मोबाइल, ट्याब्लेट र कम्प्युटरमा समाचार पढ्न रुचाउने पाठक दिनानुदिन बढ्दै छन् । नीतिगत रूपबाटै छापा मिडियाले सामाजिक सञ्जालमार्फत आफ्नो समाचारको स्रोत आमडिजिटल प्लेटफर्ममा प्रसार गर्न सक्नु पर्छ । तिनै प्लेटफर्ममा विज्ञापन सार्वजनिक गरी आम्दानीको स्रोत बढाउनुपर्ने हुन्छ । प्रिन्ट मिडियाको समेत अभौतिकीकरण गरी विश्वव्यापी प्रसार गर्न सकिने एउटा काइदाको प्लेटफर्मको रूपमा सामाजिक सञ्जाललाई उपयोग गर्न सके केही हदसम्म भए पनि यस क्षेत्रको दीर्घकालीन भविष्य सुरक्षित हुन्थ्यो कि ?

Author

केशव निरौला