राजन रावत
हुम्ला, चैत १९ गते । सर्केगार्ड, अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरूँ गाउँपालिकालाई जोड्ने तुम्चको कर्णाली नदीमा निर्माण सुरु भएको बेलिब्रीज अलपत्र अवस्थामा रहेको छ । पुल निर्माण नभएपछि स्थानीयवासीले सास्ती खेप्न बाध्य छन् ।
पुल निर्माणको जिम्मा पाएको रबीचन्द्र जेभीले पुल निर्माणमा ढिलाइ गरेको हो । कम्पनीका प्रतिनिधि वसन्त थापाले भने भुक्तानी नपाएपछि रोकिएको बताउनुभयो । पुल मुगुको पुर्वाधार विकास कार्यालय र सोरूँ गाउँपालिकाको लागत साझेदारीमा निर्माण कार्य सुरु भएको थियो । उहाँले तर सोरूँ गाउँपालिकाले लागत बेहोर्ने एक करोड तीस लाख रुपियाँ नदिने भएपछि नब्बे प्रतिशत काम सम्पन्न गरेर पनि बाँकी काम जानी जानी भुक्तानी कै कारण सम्पन्न नगरिएको बताउनुभयो ।
पुलको मुगु पट्टी सबै स्टिल पार्टको जडान कार्य सम्पन्न भएको छ । तर हुम्ला तर्फ भने थोरी स्टिल पार्ट जडान गर्न बाँकी राखिएको छ । जडानका लागि सामान भए पनि त्यति कै खाली राखिएको उहाँले बताउनुभयो । सम्झौता अनुसार काम पनि गराउन लगाउने तर बजेटको व्यवस्था गर्न नसक्ने भएपछि बेलिब्रीजको थोरै काम बाँकी राखेर काम रोकेको उहाँले बताउनुभयो ।
साठी मिटर लम्बाई रहेको सो बेलिब्रीजका लागि त्रिपक्षीय सम्झौता अनुसार चार करोड ९६ लाख रुपियाँ लागत लाग्ने गरी सम्झौता भएको थियो । त्यस मध्य तीन करोड ६६ लाख रुपियाँ पूर्वाधार विकास कार्यालयबाट निर्माण कम्पनीले गत वर्ष नै भुक्तानी लिई सकेको थियो । उहाँले गाउँपालिकाबाट भुक्तानी आउने निश्चित भएपछि एक दिन मै पुलको बाँकी निर्माण कार्य पुरा गर्न सकिने बताउनुभयो ।
सोरूँ गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले यस आवमा बाँकी बजेटको व्यवस्था गरेर निर्माण कम्पनीलाई दिने तयारी भई रहेको बताउनुभयो । कर्णाली कोरिडोरको हुम्ला जिल्लाको तुम्चबाट मुगुको सोरूँ गाउँपालिका जोड्नका लागि नजिक पर्ने भएको कारण नदीमा बेलिब्रीज निर्माण कार्य भएको उहाँले बताउनुभयो । सोरुवासीलई गमगढी भएर जान लामो सडक पार गर्नु पर्ने तर हुम्लाको तुम्च भएर सुर्खेत नेपालगन्ज जान नजिक पर्ने भएको कारण प्रदेश सरकारसँगको निक्कै लामो प्रयासपछि बेलिब्रीज निर्माणका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।