सुर्खेत समाचारदाता
सुर्खेत, चैत १९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै व्यक्तिका लागि व्यवस्थालाई बदनाम गर्दै त्यसको विकल्प नखोज्न सुझाव दिनुभएको छ । उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो भन्दै राजावादीले गरेको आन्दोलन व्यक्तिकेन्द्रित भएको बताउनुभयो ।
चैत १५ गते काठमाडौँमा राजावादीले गरेका प्रदर्शनमा सहभागीले पत्रकार सुरेश रजकको हत्या हुनुका साथै सञ्चारगृहमाथि भएको तोडफोडको विरोध गर्दै सुर्खेत तथा कर्णाली प्रदेशका पत्रकारको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले व्यक्तिका लागि व्यवस्थाको विकल्प नखोज्न आग्रह गर्नुभयो । लोकतन्त्रमा नै आफ्ना असहमति राख्न पाइन्छ, विरोध गर्न पाइन्छ तर अराजक हुँदा पत्रकारले ज्यान गुमाउनु परेको, सञ्चारगृह तोडफोड भएको, सर्वसाधारणको मृत्यु भएको र सार्वजनिक सम्पत्तिको क्षति पुगेको हुँदा लोकतन्त्रको विकल्प खोज्ने बेला नआइसकेको उहाँले बताउनुभयो ।
घटनामा पत्रकारको हत्या भएकोमा दुःख लागेको भन्दै प्रदेश सरकार पत्रकार सदैव हकहित र सुरक्षामा प्रतिबद्ध रहेको बताउनुभयो । ज्ञापनपत्र बुझाउँदै नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष लक्ष्मण केसीले प्रेस जगत्माथि हुने यस्ता खालका आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन ध्यानाकर्षण गराइएको बताउनुभयो । उहाँले पत्रकारको ज्ञापनपत्रमाथि संवेदनशील हुन आग्रह गर्दै एक हप्ताभित्र सम्बोधन नभए महासङ्घले थप सङ्घर्षका कार्यक्रम गर्ने जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाले पनि प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा वातावरण बनाउन आग्रह गरेको छ ।
हुम्ला समाचारदाताका अनुसार नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाले हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयमार्फत ध्यानाकर्षणपत्र बुझाएको छ । सोमबार महासङ्घ हुम्लाका अध्यक्ष राजन रावतले प्रजिअ पाण्डेयलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । महासङ्घको केन्द्रीय कार्यक्रम अनुसार यो कार्यक्रम गरिएको जनाइएको हो । प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ । उनका परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन महासङ्घले माग गरेको छ । प्रजिअ पाण्डेयले तत्काल तालुक निकायमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।