• २० चैत २०८१, बुधबार

गुल्मी कांग्रेसको तेस्रो सम्मेलन : सभापति देउवाले सम्बोधन गर्नुहुने

blog

गुल्मी कांग्रेसको तेस्रो सम्मेलनबारे जानकारी दिन सोमबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलन । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा, चैत १८ गते ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चैत २६ र २७ गते हुने गुल्मी कांग्रेसको तेस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ । साथै सम्मेलनलाई सभापति देउवासहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पनि सम्बोधन गर्न आउने तय भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ ।

त्यस्तै, केन्द्रीय नेताहरू डा. चन्द्र भण्डारी, प्रदीप पौडेल, चन्द्र केसी लगायतले पनि सभालाई सम्बोधन गर्ने तय भएको नेपाली कांग्रेस गुल्मीले जनाएको छ । पार्टी कार्यलयमा सोमबार पत्रकार सम्मेलन नेपाली कांग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले जनआन्दोलन दिवसको अवसर पारेर तम्घासको चिदिचौरमा चैत २६गते खुला सभा गर्ने र २७गते बन्द सत्रका कार्यक्रम रहने जानकारी दिनुभयो ।

पार्टीको सङ्गठन सुदृढीकरण, गणतन्त्र तथा पार्टीप्रति आम कार्यकर्तामा ऊर्जा भर्न सम्मेलनलाई भव्य बनाउने योजना रहेको सभापति पन्थीले बताउनुभयो । उहाँले सम्मेलनमा १५ हजार कार्यकर्ता आउने गरेर प्रचारप्रसार तथा योजनाबद्ध कामहरू भइरहेको बताउनुभयो । बन्दसत्र बिगतका दुई वर्षको समीक्षा र आगामी वर्षको योजना निर्माणमा केन्द्रित हुने छ । 

सोही योजना अनुसार चार प्रदेश सभाका छुट्टा–छुट्टै छलफलहरू राखिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव भगतसिंह खड्काले जानकारी दिनुभयो । सम्मेलन व्यावस्थापनका लागि आर्थिक, प्रचारप्रसार, अतिथि, पार्किङ्ग, सांस्कृतिक लगायतका नौ उपसमिति गठन समेत गरिएको छ ।