उर्लाबारी समाचारदाता
उर्लाबारी, चैत १७ गते । सरकारले टेन्डरमार्फत माग गरेको रासायनिक मल ठेकेदारले समयमा भिœयाउन नसक्दा मोरङमा मलको अभाव भएको छ । पछिल्लो एक दशकयता दक्षिणी मोरङमा गहुँभन्दा बढी बर्खे धान र मकैको खेती हुन थालेको छ । जसले गर्दा युरियाको माग ह्वात्तै बढेको छ । कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका कार्यालय प्रमुख नरेश सापकोटाका अनुसार गत वर्ष २०८०/८१ मा कृषि सामग्री लिमिटेडले कोशी प्रदेशमा १३ हजार ३४२ मेट्रिक टन युरिया, आठ हजार ९२ मेट्रिक टन डिएपी र ८०१ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।
चालु वर्ष फागुन मसान्तसम्ममा ११ हजार ५२३ मेट्रिक टन युरिया, ७५२ मेट्रिक टन डिएपी र ५९१ मेट्रिक टन पोटास बिक्री गरिसकेको छ । यो आर्थिक वर्ष समाप्त हुन अझै चार महिना बाँकी छ । उहाँले भन्नुभयो, “युरियाको माग दोब्बर बढेको छ । आठ महिनाको अवधिमै हामीले युरिया गत वर्षभन्दा १८१ मेट्रिक टन बढी बिक्री गरिसकेका छौँ । हामीसँग अहिले डिएपी प्रशस्त मौज्दात रहे पनि युरिया भने ‘बफर’ को समेत बिक्री गरेका छौँ ।”
आयातको १० प्रतिशत कम्पनीले मौज्दात राख्ने गर्छ । उक्त मौज्दातलाई कम्पनीले बफर भन्ने गरेको छ । एक हजार ४२७ बोरा बफरको मलसमेत बिव्रmी गरिसकेको कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो । चैतको तेस्रो सातासम्ममा साल्ट ट्रेडिङले ५५ हजार र कृषि सामग्रीले ७५ हजार मेट्रिक टन रासायनिक मल ल्याउने गरेका छन् ।
साल्ट ट्रेडिङ कम्पनी लि. विराटनगरका प्रमुख राधेश्याम चौधरीका अनुसार कम्पनीले यो वर्ष ७७ हजार ४० बोरा डिएपी, ८५ हजार ९४५ बोरा युरिया र २२ हजार २५२ बोरा पोटास बिव्रmी गरिसकेको छ । कम्पनीले कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम र भोजपुर जिल्लालाई रासायनिक मल बिव्रmी गर्दै आएको छ । कृषि सामग्री जस्तै साल्ट ट्रेडिङले पनि १० प्रतिशत बफर राख्ने गर्छ । उक्त मल पनि सबै डिलरलाई दामासाही रूपमा बिक्री गरिसकेको बताउनुभयो ।
यता किसानले भने मल नपाएको भन्दै आव्रmोश पोखेका छन् । पथरीशनिश्चरे ५ र ६ को हसन्दह क्षेत्रमा सघन रूपमा मकै, गहुँ र बर्खे धान खेती हुने गरेको छ तर लाखौँ रुपियाँ खर्चेर बाली लगाएका किसानले मल हाल्ने बेलामा मल पाएका छैनन् । नगरको वडा नंं. ५ मा दुई वटा कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्ने अनुमति लिएका छन् । भोटेघुम्ती कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थाले १३० बोरा युरिया मल ल्याए तर मल लिन पाँच सयभन्दा बढी किसान भेला भए । डेढ बिघामा मकै खेती लगाउनुभएका विकास खत्रीले भन्नुभयो, “२० किलो मल पाएँ । डेढ बिघा खेतलाई कम्तीमा दुई बोरा (एक सय किलो) मल चाहिन्छ ।”
दुई लाख रुपियाँ खर्च गरेर पाँच बिघामा मकै खेती लगाउनुभएका हरि बस्नेत लगानी डुब्ने डरमा हुनुहुन्छ । उहाँले भन्नुभयो, “सरकार मकैको बिउमा अनुदान दिन्छ तर मल र सिँचाइको व्यवस्था गर्न सक्दैन । धान खेती गर्ने बेलामा पनि मलको हाहाकार हुन्छ । उहाँले कृषिमा अर्ध यान्त्रीकरण हुँदा गोरु पाल्न छोडियो । तीन÷चार हल गोरु पाल्दा गोवर मल प्रशस्त हुन्थ्यो । अहिले गोरु छैनन् । गोबर मल पनि छैन । अर्काको अधियाँ ठेक्का गर्ने किसानले झनै सास्ती बेहोर्नु परिरहेको छ । सन्था सतारले भन्नुभयो, “सेयर सदस्यलाई मात्र मल दिन्छन् । अधियाँले मल नै पाउँदैन । बोरा लिएर मल लिन सहकारी संस्था पुग्नुभएका सन्थाले मल नपाएपछि रित्तै फर्किएको बताउनुभयो ।”
थीरबहादुर खत्रीले एक बिघा १५ कट्ठामा मकै र गहुँ बाली लगाउनुभएको छ । सिँचाइ गरेर युरिया नलगाएसम्म बालीले जमिन छोड्दैन । मलको गेडो पाइएन । उहाँले भन्नुभयो, “बिउ दिन सक्ने सरकार मल दिन सक्दैन । कृषिमा परनिर्भरता कसरी अन्त्य होला ।”
यता सहकारी संस्थाले पनि आफ्ना सदस्यलाई मात्र मल दिने गरेको छ । भोटेघुम्ती कृषि सहकारी संस्थाका सचिव सोमनाथ भट्टले भन्नुभयो, “मल सीमित मात्रामा आउँछ । माग धेरै छ । कृषि सामग्रीले माग अनुसार मल पठाउन सकेको छैन । हामीले आएको मल दामासाहीले बिक्री गरिरहेका छौँ । हामीले केही गर्न सक्ने अवस्था छैन ।”