• १९ चैत २०८१, मङ्गलबार

संरक्षण गरेपछि सिमसारमा पानी

blog

तस्बिर : भक्तिविलास पोखरेल संरक्षणपछि पानी भरिएको त्रियुगा चाँपस्थित सिमसार क्षेत्र ।

गाईघाट समाचारदाता

गाईघाट, चैत १७ गते  । पछिल्लो समय उदयपुरको त्रियुगा उपत्यका र आसपासका सिमसार क्षेत्र अतिक्रमणमा परी जैविक विविधताको अस्तित्व सङ्कटमा पर्न थालेपछि उदयपुरको त्रियुगा नगरपालिकाले जलाधार संरक्षणको कामलाई उच्च प्राथमिकता दिएको छ । 

मानव अतिक्रमणसँगै हुने वन विनाश र जलवायु परिवर्तनका कारण यहाँका सिमसार क्षेत्र सुक्दै गएपछि त्यसमा निर्भर रहने जल हाँस, सिम कुखुरा, सारस र सेतो बकुल्ला जस्ता चराको समेत अस्तित्व सङ्कटमा परेकाले साझेदारी कार्यक्रम अन्तर्गत बजेट व्यवस्था गरी सिमसार क्षेत्र संरक्षणमा नगरपालिका लागि परेको नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो ।

जिल्लाकोे त्रियुगा नदीबाट सप्तकोशीसम्मका सिमसार क्षेत्र लोप भएपछि त्यस क्षेत्रमा अहिले कतिपय किसानले धमाधम खेती गर्ने गरेको पाइन्छ । सिमसारका जग्गा अतिक्रमणमा परेर सुक्खा र उजाड बनेका छन् । सिमसार क्षेत्रमा पाइने ठुलो सङ्ख्याका जलपन्छीसमेत मानव अतिक्रमणका कारणले लोप हुँदै गएको भन्ने स्थानीयको व्यापक गुनासो आएकाले नगरपालिकाले त्यस क्षेत्रका जग्गा संरक्षणमा विशेष जोड दिएको नगरप्रमुख बस्नेतले बताउनुभयो । 

नगरप्रमुख बस्नेतका अनुसार वडा नं १ को रुपनि सिमसार क्षेत्र, परेवा खोप सिमसार क्षेत्र मैनाहा, वडा नं. ३ को जुटपानी सिमसार क्षेत्र र वडा नं ४ फर्सेटको वनभोज सिमसार क्षेत्रका लागि विभिन्न निकायसँगको साझेदारीमा बजेट व्यवस्थापन गरेर अघिल्लो वर्ष जस्तै यस वर्ष पनि संरक्षणको काम अगाडि बढाइएको छ । 

त्रियुगा नगरपालिका–१ का वडाध्यक्ष मनोज चौधरीका अनुसार त्रियुगा नदीको सिमसार क्षेत्रमा पाइने सरल जातका अति नै दुर्लभ चरा सेतो बकुल्ला, सारस, मयुर अचेल देखिन छाडेको छ । उहाँले भन्नुभयो, “सिमसार क्षेत्रमा पाइने सिम कुखुरालगायतका धेरै चरा हराइसके । सिमसार क्षेत्र मानव अतिक्रमणको चपेटामा परेपछि अहिले यस्तो अवस्था आएको हो ।” 

नदी किनारका सिमसार क्षेत्र अतिक्रमणमा परेपछि कतिपय दुर्लभ चराको बासस्थान नै हराउँदै जाँदा त्यस्ता पन्छी र जनावरको जीवनचव्रm सङ्कटमा पुगेको त्रिनपा वडा नं २ का वडाध्यक्ष घमानसिंह खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “भ्यागुता, माछा र अनेक प्रकारका जलचर सिमसारमा रमाउने गर्दथे र ती चराको आहाराको स्रोत भनेकै सिमसार क्षेत्र थियो । त्यो नै अचेल मासिएपछि यस क्षेत्रका पन्छी विस्थापित भएका हुन् । 

त्रियुगा नदी क्षेत्र आसपासमा धेरै सिमसार भूभाग भएको स्थानीयले बताएका छन् । यसअघि स्थानीय स्तरबाट संरक्षण तथा प्रवर्धनको कुनै पहल नभएकाले सिमसार क्षेत्रमा आश्रित कतिपय जीवको अस्तित्व सङ्कटमा परेको उहाँहरूको गुनासो रहेको छ । 

जलवायु परिवर्तनसँगै चुरे क्षेत्रमा हुने मानव अतिक्रमण र वन विनाशसँगै चुरे क्षेत्रबाट भूक्षय भई स्थानीय नदी तथा खोलामा लेदो र बालुवा थुप्रिँदै जानु पनि सिमसार क्षेत्र पुरिने अर्काे कारण भएकाले गल्छी सुधारको काम पनि गर्न थालिएको वडा नं ४ का वडाध्यक्ष बद्री बस्नेतले बताउनुभयो । 

मानव अतिक्रमणकै कारण यस क्षेत्रको सिमसार लोप हुन पुगेको हो । त्रियुगा नदी किनारको केही स्थानमा भएको सिमसारसमेत अतिक्रमणको चपेटामा परेकाले यसको संरक्षण गरी पुनर्जीवन दिन सबै पक्षको सहयोगको खाँचो रहेको छ । वडा नं. ३ का वडाध्यक्ष तिलक कटवालले भन्नुभयो, “हाम्रो प्रकृतिलाई जस्ताको तस्तै रहिरहन दिनका लागि सिमसार क्षेत्र संरक्षणका क्रममा बगाहाको फर्सेट क्षेत्र, मोतीगढास्थित चाँपको पुराना पोखरीको संरक्षण गरिएकाले अहिलेको यस्तो खडेरीमा पनि ती पोखरीमा पानीको कमी भएको छैन ।