• २० चैत २०८१, बुधबार

चार महिनामै पक्की पुल निर्माण

blog

चार महिनामै निर्माण गरिएको अग्लुङ फेदीखोला पुल । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), चैत १७ गते । गुल्मी जिल्लाकै कैयौँ योजना निर्माण व्यवसायीले काम नगरेर अलपत्र परेका छन् । समयमै काम नगर्ने केही निर्माण व्यवसायीका कारण समग्र क्षेत्रप्रति नै गलत दृष्टिकोणसमेत बनिरहेको छ तर गुल्मीको अग्लुङ फेदीखोला पुल चार महिनामै निर्माण व्यवसायीले सम्पन्न गरेका छन् । 

गुल्मीको पञ्चमीपोखरी–अग्लुङ हुँदै प्युठान जोड्ने सडकमा पुल निर्माण गरिएको छ । गत वर्ष जेठमा पुल सम्झौतापछि बर्सात सुरु भयो । त्यसपछि दसैँतिहार भएकाले काम भएन । मङ्सिर पहिलो हप्ता लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकाल र कृषि, भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री दिनेश पन्थीले शिलान्यास गर्नुभयो । 

त्यसपछि मङ्सिरदेखि फागुनसम्म चार महिनामा लगातार काम गरेर पुल निर्माण गरिएको निर्माण व्यवसायी विजय खनालले बताउनुभयो । समयमै काम गरे पनि सरकारले काम गरेको भुक्तानी नदिएको गुनासो उहाँले गर्नुभयो । । उहाँले चार महिनामा काम गरेको अग्लुङ फेदीखोला पुल साढे दुई करोड रकम भुक्तानी पाउन रहेको बताउनुभयो ।

सडक पूर्वाधार कार्यालय गुल्मीमार्फत पुल निर्माणका लागि कमल–अर्जुन–सिटी जेभीले गत वर्षको जेठ ८ गते सम्झौता गरेको थियो । यो पुल भ्याटसहित चार करोड १४ लाख २९ हजार ९७९ रुपियाँको लागतमा सम्झौता भएको सडक पूर्वाधार कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचिदानन्द चौधरीले जानकारी दिनुभयो ।