• २० चैत २०८१, बुधबार

सङ्गीत सिकाउन मादल बजाउने तालिम

blog

म्याग्दी समाचारदाता 

म्याग्दी, चैत १७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले महिलालाई सङ्गीत सिप सिकाउनका लागि मादल बजाउने तालिम दिएको छ । गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाइ केन्द्रले वडा नम्बर २, भगवतीमा रहेको आयआर्जन समूहका महिलाका लागि सातदिने मादलबजाउने तालिम प्रदान गरेको हो । 

भगवतीका विभिन्न टोलका ३३ जना महिलाले सहभागिता जनाएको तालिममा सङ्गीत प्रशिक्षक गणेश सुवेदीले व्यावहारिक रूपमा मादल बजाउने सिप सिकाउनुभएको केन्द्रका परिचालक दुर्गादेवी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साता मौवाफाँट आयआर्जन समूहका २६ जना महिलालाई समेत मादल बजाउने तालिम प्रदान गरिएको थियो ।

केन्द्रले नयाँ आयआर्जन समूहलाई मादलसमेत उपलब्ध गराउने जनाइएको छ । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँघरमा हुने पूजाआजा, भजनकीर्तन, रत्यौलीलगायतका सांस्कृतिक कार्यक्रममा सङ्गीत सिप अनिवार्य भएको अवस्थामा महिलाले सिकेको मादल बनाउने सिप उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । 

रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले महिलालाई सङ्गीत सिप तालिमले गाउँघरमा हुने सङ्गीतसँग सम्बन्धित कार्यक्रममा सहज हुने बताउँदै आयआर्जनमूलक कार्यक्रममार्फत महिलालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो । 

गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म कार्यक्षेत्र रहेको केन्द्रले हरेक वर्ष महिलाको सिप र आयआर्जनसँग सम्बन्धित कार्यक्रमलाई सञ्चालन गर्दै आएको मौवाफाँट सामुदायिक सिकाइ केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्माले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्षमा आयआर्जन र सिपमूलक तालिमका लागि केन्द्रलाई एक लाख ७० हजार बजेट उपलब्ध गराएको छ । 

महिलाको क्षमता विकास र आयआर्जन सुधारसँगै सिप विकासका लागि आगामी वर्षमा सामुदायिक सिकाइ केन्द्रलाई थप व्यवस्थित बनाउने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।