• १९ चैत २०८१, मङ्गलबार

लागुऔषधविरुद्ध जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत १६ गते । कैलालीको घोडाघोडीमा ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने मूल नाराको प्रथम जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप सुरु भएको छ । 

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर रावतले खेलकुदको माध्यमबाट समाजमा जरो गाड्दै, बढ्दै गएको लागुऔषध दुर्व्यसन न्युनीकरणमा जोड दिएको बताउनुभयो । 

परीक्षा दिएर घरमा बसेका विद्यालय तहका भाइबहिनीलाई यो प्रतियोगिताले समय व्यतित गर्न र खेलप्रति जागरुक हुन मद्दत पुग्ने अपेक्षा लिएको छ । घोडाघोडी नगरपालिका फुटबलमा मात्र नभई प्रत्येक खेलमा निरन्तर अघि बढिरहेको नगर प्रमुख रावतको भनाइ छ ।

घोडाघोडी नगरपालिका खेलकुदका क्षेत्रमा उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानित हुने अवसर पाएको बताउँदै उहाँले भन्नुभयो, “खेलकुदका माध्यमबाट मात्र नभइ नगरपालिका आर्थिक विकासका माध्यमबाट पनि उत्कृष्ट पालिका बन्न सफल भएको छ ।”

यस क्षेत्रका युवाहरूलाई खेलका माध्यमबाट अनुशासित मर्यादित नैतिकवान् र विकासशील बनाउनका लागि पहिलो पटक जिल्लास्तरीय युथ २० वडाध्यक्ष कप सुरु गरिएको रावतले बताउनुभयो ।

घोडाघोडी नगरपालिका–१ को आर्थिक सहयोग र घोडाघोडी क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने नारासाथ शुक्रबार बाट सुरु भएको प्रतियोगिता २३ गतेसम्म चल्ने छ । प्रतियोगिताबिच महिलाको मैत्रिपूर्ण फुटवल प्रतियोगिता पनि हुनेछ ।

प्रतियोगितामा २० वर्ष उमेर समूहका १३ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो स्थान हासिल गर्ने टिमले नगद ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने छ ।