गोरखापत्र अनलाइन
काठमाडौं, चैत १६ गते । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानुन बमोजिम कारबाही हुने बताउनुभएको छ । शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानुन बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ, सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरुले शुक्रवार एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए । सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता, चेतनासँग टाढा–टाढाको पनि साइनो नरहेको जिकिर गर्नुभयो ।
शुक्रवारको आन्दोलन प्रदर्शनभन्दा बढी आपराधिक घटना भएको बताउनुभयो । आततायी र अमानवीय ढंगले घटना गराइएका भन्दै गृहमन्त्री लेखकले आन्दोलनकारीले मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताउनुभयो । निधन हुनेहरुप्रति दुःख व्यक्त गर्दै उहाँले घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्नुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘हिजो जुन प्रदर्शनका नाममा जे नराम्रा कामहरु भएका छन्, यो अत्यन्त ज्यादा अपराधिक घटना हो । आततायी र अमानवीय ढंगले घटना गराइएका छन् । मानिसहरु घरभित्र छन् भन्ने थाहा हुँदाहुँदै घरमा आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ ।’
सञ्चारगृहमाथि आक्रमण गर्ने, छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घरमा, पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पति ध्वस्त गर्ने, सपिङ कम्प्लेक्समा आक्रमण गर्ने जुन प्रकृतिको आक्रमण भएको छ । त्यसमा संलग्नलाई कानुनबमोजिम कारवाही हुन्छ उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले शुक्रवार राजावादीहरुले सञ्चारगृह, छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पति ध्वस्त गर्ने, सपिङ आक्रमण गरेको बताउनुभयो । उनीहरुमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने बताउनुभयो ।