• १९ चैत २०८१, मङ्गलबार

तीन महिनापछि रेसुङगा विमानस्थलबाट उडान हुँदै

blog

रेसुङगा विमानस्थलबाट उडान भर्दै जहाज । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, चैत १६ गते ।
तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट उडान हुने भएको छ  । गत पुस ४ गतेबाट उडान हुन नसकेको विमानस्थलबाट सोमबार उडान भर्ने तयारी रहेको विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।

चैत १८ गते सोमबार बिहान नेपाल एयरलायन्सको जहाजले उडान भर्ने कार्यतालिका रहेको उहाँको भनाइ छ । जहाज मर्मतका कारण नियमित उडान हुन नसकेको थापाले बताउनुभयो ।

पहिले हप्ताको एक दिन शुक्रबार मात्रै उडान भर्दै आएको जहाजले यात्रुको अत्याधिक चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति पाएको थियो । वर्षायाम सुरु भएपछि पछिल्लो समय हप्ताको एक दिन शुक्रबार मात्रै उडान गर्ने गरी कार्यतालिका रहेको थापाले बताउनुभयो । पछिल्लो समयमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताउनुभयो ।

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो ।

हवाई यात्रामा गुल्मी जोडिएसँगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरू घुम्नका लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको स्टेसन प्रमुख थापाले बताउनुभयो ।  जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।