नवराज श्रेष्ठ
रामेछाप, चैत १६ गते । शुक्रबार भएको पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापले शोक तथा विरोध सभा गरेको छ । महासङ्घ रामेछापले पत्रकार रजक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा विरोध सभा गरेको हो ।
शनिबार बिहान ८:३० देखि ९ः३० बजेसम्म एक घण्टा देवकोटा चोकमा विरोध सभा गरी रामेछापका पत्रकारहरूले पत्रकार रजकको हत्यामा संलग्न जो कोहीलाई छानबिन गरी हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन् । पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको भन्दै महासङ्घले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने पत्रकार महासङ्घ रामेछापले स्पष्ट पारेको छ । सभामा पत्रकार रजकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिने मौनधारण पनि गरिएको छ ।
पत्रकारहरूमाथि भएका हत्या, दमन, सञ्चारमाध्यममाथि गरिएका आगजनी तथा तोडफोडका घटनाहरूको विरोध स्वरूप सभा आयोजना गरिएको पत्रका महासङ्घ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले बताउनुभयो । स्वतन्त्र प्रेसको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासङ्घ रामेछापले विरोध जनाएको उहाँले बताउनुभयो ।
विरोध सभामा बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका कार्यबहाक सभापति लेखबहादुर कार्की, गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष रत्नप्रसाद कँडेल लगायतले पनि ऐक्यबद्धता जनाउँदै सहभागिता जनाउनुभएको छ ।
यस्ता घटनामा संलग्न जो कोहीलाई छानबिन गरी कानुनी दायरामा ल्याई पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण, तथा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोध सभा गरिएको विरोध सभामा सहभागी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य नवराज पथिकले बताउनुभयो ।