विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १६ गते । काठमाडौँको तीनकुनेमा शुक्रबार समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर कारबाहीको माग गर्दै सप्तरीका पत्रकारहरूले शनिबार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।
पत्रकार रजकको हत्यारालाई कारबाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, सञ्चारगृहमा आक्रमण बन्द गरलगायतका प्लेकार्ड व्यानर बोकेर सप्तरीका पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाल पत्रकार महासङ्घ सप्तरीबाट निकालिएको विरोध र्याली राजविराजको विभिन्न भाग परिक्रमा गर्दै नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्नुहुँदै नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले पत्रकार राउतलाई जिउँदै जलाएर मार्नेलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्नुभयो ।
उहाँले अराजतक तत्त्वहरूका कारण पत्रकारको मृत्यु भएको र प्रेस स्वतन्त्रता माथि आक्रमण गर्ने भएको कार्यको निन्दा गर्दै अराजक गतिविधिलाई नियन्त्रण गर्न सरकार उदासिनता देखाए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।
एभिन्युज टेलिभिजनमा फोटो पत्रकारको रूपमा कार्यरत रजकलाई समाचार सङ्कलनको क्रममा आन्दोलनकारीहरूले घरमा ढोका थुनेर बाहिरबाट आगो लगाई जिउँदै जलाएर मारेका थिए ।